काठमाडौं । राज्यले नागरिकताविहीन बनाएको भन्दै एक युवकले काठमाडौंस्थित माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका छन् ।
नागरिकता दिनुपर्ने माग राख्दै नागरिकताविहीन संघर्ष समितिले आयोजना गरेको प्रदर्शनका क्रममा मोरङ घर भएका २५ वर्षीय निरोज कामदले आत्मदाहको प्रयास गरेका हुन् ।
उनले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरीलगायत अन्यले पानी खन्याएका थिए ।
त्यसलगत्तै बेहोस भएका कामदलाई उपचारका लागि ट्रमामा लगिएको थियो । हाल उनकाे अवस्था खतरामुक्त रहेको छ ।
नागरिकताविहीन संघर्ष समितिले जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देउ, नक्कली राष्ट्रवाद चाहिँदैन लगायतका नारा लगाउँदै माइतीघररमा प्रदर्शन गरेका थिए ।




























