काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच आज भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा नेपालमा रग्बी खेल विकासका विषयलाई लिएर छलफल भएको हो । भेटमा एसिया रग्बीका अध्यक्ष कायसले नेपाल सरकारले रग्बी खेल विकासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
साथै नेपाल रग्बी सङ्घले लगातार दुई वर्ष एसिया रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिरहेको र सो आयोजना सरकारको सहयोग बिना सम्भव नभएको कायसले धारणा राखे ।
‘‘नेपालले पछिल्ला समय रग्बीमा विकास गरेको छ । सरकारको सहयोग बिना त्यो सम्भव थिएन । एसिया रग्बीको तर्फबाट धन्यवाद दिन चाहन्छौं,’’ कायसले भने ।
प्रधानमन्त्री प्रचण्डले नेपाललाई विश्वास गरेर लगातार दुई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकोमा एसिया रग्बी र अध्यक्ष कायसलाई धन्यवाद दिए ।
‘‘एसिया रग्बीले नेपाललाई विश्वास गरेर दुई प्रतियोगिता आयोजन गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहन्छु । हाम्रो सरकार र मेरो प्राथमिकतामा नै खेलकुद र युवाहरूको विकास गर्नेतर्फ थियो ।
त्यहीअनुसार नै अन्य खेलसँगै रग्बीको विकासमा पनि सरकारले सहयोग गरिरहनेछ,’’ प्रधानमन्त्री प्रचण्डले भने । सो अवसरमा विश्व रग्बी युनियनका एसियाका लागि पार्टनरसिप म्यानेजर रिड्ज्याल स्याट, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ र नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाको पनि उपस्थिति थियो ।