काठमाडौं । काठमाडौं महानगरपालिकाले सुशासन तथा भ्रष्टचार निवारण विषय अध्ययन गर्ने विद्यार्थीलाई इन्टर्नशिप गराउने भएको छ । महानगरले त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सुशासन तथा भ्रष्टचार निवारण विषयका विद्यार्थीलाई एक महिने इन्टर्नशिप गराउन महानगरका विभिन्न वडामा खटाउने भएको हो ।
महानगरपालिकाले आइतबार बसेको बैंठकमा सुशासन तथा भ्रष्टचार निवारण संस्थाका विद्यार्थी र महानगरका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारी र प्रशासन विभाग प्रमुख दीपक अधिकारीको सहभागितामा विद्यार्थीलाई एक महिने इन्टर्नशिप गराउने निर्णय भएको हो ।
इन्टर्नशिपमा विद्यार्थीले वडाले आम सर्वसाधरणलाई दिने सेवालाई नजिकबाट नियालेर महानगरलाई प्रतिवेदन तयार पारेर बुझाउनु पर्ने हुन्छ । साथै, महानगरले आम नागरिकलाई दिइरहेको सेवा सुविधा कस्तो छ र आगामी दिनमा सेवा तथा सुविधामा सुधार गर्नु पर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख गर्नुपर्ने हुन्छ ।
विद्यार्थीले तयार पारेको एक महिने प्रतिवेदनको आधारमा महानगरले आम जनतालाई दिने सेवा तथा सुविधामा अझै सुधार हुनेमा प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीको अपेक्षा राखेका छन् ।
उनी भन्छन्, ‘इन्टर्नशिप गर्ने विद्यार्थीले महानगरपालिकाको सबै वडाले प्रवाह गरेको सेवा तथा सुविधालाई नजिकबाट हेर्न पाउनेछन् । विद्यार्थीले महानगरपालिकाले प्रवाह गर्ने सेवा सुविधामा गर्न पर्ने आवश्यक सुधारलाई औँल्याए प्रतिवेदन बनाउँदा महानगरको सेवा अझ प्रभावकारी हुनेछ ।’
प्रशासकिय अधिकृत धिकारीले महानगरलाई सुशासनको बाटोमा अघि बढाउन आम जनताकोपनि महत्वपूर्ण भूमिका रहेको र सबैले आफ्नो जिम्मेवारी पुरा गरे अवस्य देश परिवतर्न हुने बताएका छन् ।
अधिकारीले काठमाडौं महानगरपालिका देशकै ठूलो पालिका भएका कारण पनि अरु पालिकाले सेवा दिने शैली सिकेर सुधार गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
यसभन्दा अघिपनि महानगरले विभिन्न क्याम्पसका विद्यार्थीलाई उनीहरुको सीप र क्षमताको वृद्धि विकास गर्न नगरका काम कार्वाहीमा समावेश गर्दै आएको छ ।