काठमाडौं । निजामती सेवा पुरस्कारको नाम सिफारिस गर्ने समय अवधि थपिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कारको नाम सिफारिस गर्ने समय अवधि थपेको हो ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार सूचना प्रकाशन गरी साउन १५ भित्र नाम पठाउन माग गरिएकोमा निर्धारित समयमा सबै मन्त्रालय र प्रदेशबाट नामवाली नआएपछि समय अवधि थप गर्नु परेको हो ।
प्रशासन मन्त्रालयले चैत्र १४ गतेको बैठकमा निजामती पुरस्कारका लागि सिफारिस माग गरेको थियो । पुरस्कारको माग गरेपछि जम्मा २ वटा मन्त्रालयबाट पुरस्कारका लागि कर्मचारीको विवरण प्राप्त भयो ।
यस्तै, साउन मसान्तसम्म पनि गृहसहितका केही मन्त्रालय र तीन वटा प्रदेशले विवरण पठाएका छैनन् । पठाएका निकायले पनि निर्धारित ढाँचामा सिफारिस नगरेको हुँदा प्रशासन मन्त्रालयले पुन विवरण समेटेर पठाउन परिपत्र गरेको हो ।
मन्त्रालयले आगामी भदौं ५ गतेभित्र सन्तुलित रुपमा छनौट गरी संघीय मामिला तथा सामान्य प्रशासनको सचिवालयमा विवरण पठाउन परिपत्र गरेको छ ।
गत बर्षको चैत महिनादेखि साउन मसान्तसम्म १ सय कर्मचारीको सिफारिस भएको सामान्य प्रशासन कर्मचारी कल्याण शाखाले जनाएको छ ।
झण्डै एक लाख कर्मचारीबाट छनौट गरी एक जनालाई २ लाख राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’, १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने मन्त्रालयले जनाएको छ ।
सरकारका मुख्य सचिवको संयोजकत्वमा हुने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गर्छ।