काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारमा रहेको ललिता निवास जग्गा हिनामिनाको अनुसन्धान प्रतिवेदन आज बुझाउने भएको छ ।
सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटकसम्म बालुवाटारमा रहेको ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ ।
प्रतिवादीको संख्या टुंगो लगाउन समय लागेपछि प्रहरीले आइतबार प्रतिवेदन बुझाएन। आज प्रतिवेदन बुझाउने तयारी भएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले जानकारी दिए।
किर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको सीआईबीले मुद्दाका लागि सरकारी वकिललाई सिफारिस गर्ने प्रतिवादीको संख्या भने टुंगो लगाएको छैन। सीआईबीले आइतबारै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेपनि आरोपी धेरै भएकाले सोमबारसम्म जिल्ला सरकारी वकिललाई रायसहितको प्रतिवेदन दिनेगरी काम भइरहेको सीआईबीले जनाएको छ।
पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको भने बयानसमेत लिइएको छैन। यसअघि अख्तियारले मुद्दा दायर गरिसकेका चार जना पूर्वमन्त्रीलाई किर्तेमा पनि मुद्दा चलाउन सिफारिस गर्ने सीआईबीको तयारी छ।
तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार र तत्कालीन भूमिसुधारमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्तलाई किर्तेमा अभियोजनका लागि सिफारिस गर्ने भएको हो।
त्यस्तै यसअघि पक्राउ परेर अदालतको आदेशमा छुटेका सचिव कृष्ण राउतलाई पनि किर्तेमा अभियोजनका लागि सिफारिस गर्ने भएको छ। पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको भने बयानसमेत लिइएको छैन। बयान लिइएका पूर्वमुख्यसचिव लीलामणि पौड्यालका बारेमा भने सीआईबी टुंगोमा पुग्न सकेको छैन।
यसअघि ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी लिएको सीआईबीले संलग्नताका आधारमा सबैलाई प्रतिवादी बनाउनु पर्ने राय दिने तयारी गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो।