काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने भएको छ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा सोमबार बिहान बसेको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो । मोर्चाले भदौं ९ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा सभा गर्ने भएको छ ।
त्यस्तै, भदौं १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौँडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए ।
विप्लवले भने, ‘हामीले भदौं ९ गते देखि प्रदेश स्तरको घोषण सभा गर्ने निर्णय गरेका छौं । साथसाथै भ्रष्ट्राचार विरोधि आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेका छौं,’ ।
बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्ने निर्णय गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकार अझ दृढताका साथ उभिनुपर्ने निष्कर्ष निकालेको छ ।
मोर्चामा सरकारमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन्।