पशुपतिको जलहरीबारे सचिव डा. थापा भन्छन्- यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ

पशुपतिको जलहरीबारे सचिव डा. थापा भन्छन्- यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी सुन नहराएको दाबी गरेको छ ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाले सो स्पष्टीकरण दिएका हुन् ।

उनले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए। 

आफूले पटक-पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले आँशु झारेका थिए ।

आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्यसमेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यही हो भनी प्रश्नसमेत गरे ।

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरुपयोग गरेर बाँच्नु नपर्ने पनि बताए । 

उनले यो केसमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र भनी सांसदहरूसँग जिज्ञासासमेत राखे ।

‘यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु । आज मेरो गाउँभरि बेइज्जत भयो । मेरो दुई जना सन्तान छन् । अन्यथा नलिनू होला। म कमजोर होइन, तर राज्यले कमजोर बनायो नि त । आयोगले छानबिन गर्न नपर्ने ? पटक-पटक हामीलाई मुद्दा चलाउँछु भनेको छ । जोखेर मुद्दा चलाऊ न । यो च्यालेन्ज हो । पुगेन भने फाँसी देऊ भनेको’, सचिव थापाले भने ।

‘तर हाम्रा पत्रकार साथीहरूले यथार्थ नबुझिकन सुनचोर भनेर निकालिदिनु हुन्छ। मेरा दुईटा बच्चा छन्। मेरो बच्चाको भविष्य अन्धकार बनाइदिने? राज्यको त्यही नीति हो?', उनले थपे ।

उनले पशुपतिमा सुनको जलहरी लगाउँदा २४ घण्टा नेपाली सेना तैनाथी गरिएको पनि बताए ।