काठमाडौं । जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेनका सात वटा पसललाई कारबाही गरेको छ ।
मापदण्ड विपरीत पसल सञ्चालन गर्ने व्यापारीलाई प्रशासनले कारबाही गरेको हो । बजार अनुगमनका क्रममा पाल्पा जिल्लामा पहिलो पटक सात व्यापारी नगद जरिवानाको कारबाहीमा परेका हुन् ।
अग्रहरी गल्ला भण्डार, राधेराधे स्टोर, ज्ञवाली स्टोर, सगुन स्टोर्स, भगवती गल्ला, जैसवाल गल्ला र थापा किराना पसललाई ५–५ हजारका दरले जरिवाना गरिएको छ ।
लेवलिङ् नगरिएका सामग्री विक्री गर्ने तथा तौलमा ठगी गर्ने सात वटा पसललाई पाँच हजार रुपियाँ जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।
आइतबार तानसेनको मख्खनटोल, सिल्खानटोल, टक्सारटोल, विशालबजार लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको थियो । उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार ती पसलहरूलाई कारबाही गरिएको सहायक प्रजिअ भक्ति सरा रानाले जानकारी दिए ।
अनुगमन गरिएका पसलमध्ये अधिकांश पसल कारबाहीमा परेको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा व्यवसायीलाई सुझावसहित मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।