काठमाडौं । निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन ।
संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, लोक सेवा आयोग हुँदै पुनः सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको विधेयकको मस्यौदामा कर्मचारीलाई विवाह बिदा पनि दिने व्यवस्था राखिएको छ ।
निजामती सेवा ऐन २०४९ को व्यवस्था अनुसार कर्मचारीहरुले हालसम्म भैपरी आउने र पर्व बिदा, घर बिदा, विरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, अध्ययन बिदा, असाधारण बिदा र बेतलबी बिदा गरी ९ प्रकारका बिदा पाउँदै आएका छन् ।
अब यसमा विवाह बिदा पनि थपेर संघीय निजामती सेवाको विधेयक तयार पारिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । लोक सेवा आयोगको परामर्शसहितको मस्यौदालाई सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने छ ।
त्यसपछि मन्त्रिपरिषदले निर्णय गरेर संसदमा, संसदबाट संसदीय समिति हुँदै पुनः संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेपछि विधेयक ऐनको रुपमा कार्यान्वयनमा आउँछ ।