काठमाडौं । यो जीवित ’देवी कुमारी’ पुज्ने देश हो । यो वक्तव्य हो, समाज, विश्व र प्रकृतिलाई दिएको उत्तर पनि हो र सामाजिक संरचनालाई प्रश्न पनि हो । श्रद्धापूर्वक देवीहरूको पूजा गर्ने र आमा तथा दिदीबहिनीको महिमा गान गरेर नथाक्ने हाम्रो समाजमा नारीको दैनिक जीवन कस्तो छ भनेर देखिराखिएको छ । दैनिक रूपमा सामाजिक सञ्जालका भित्ता कति विभेदपूर्ण विचार र अभिव्यक्तिले भरिएको हुन्छ थाहा पाइरहेकै हो ।
अझै पनि नारीलाई नेतृत्वदायी भूमिकामा नपचाउने, उनीहरूलाई अविश्वास गर्ने प्रवृत्ति धेरै जनामा देखिन्छ । तर पनि यस्ता यावत् चुनौतीहरूलाई पार गर्दै उनीहरू अघि बढिरहेका छन् । जीवनका विविध समस्या र चुनौतीहरूलाई तह लगाउँदै आफ्नो बेग्लै पहिचान बनाउने नारीहरूमध्ये एक हुन् नमुना कार्की दाहाल । कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयकी कार्यालय प्रमुख उपसचिव दाहाल स्वास्थ्य तथा प्रशासन क्षेत्रको लामो अनुभव बटुलेर लेखा क्षेत्रमा प्रवेश गरेकी हुन् ।
कार्यालयले बेरुजु फर्छ्यौट गर्ने, सरकारी बाँकी बक्यौता उठाउने र कुमारी पूजा गर्ने काम गर्छ । कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालय २०५० सालमा कुमारी चोक अड्डा, केन्द्रिय तहसिल कार्यालय र तहसिल कार्यालय गरी तीन वटा कार्यालयहरू मिलेर स्थापना भएको हो ।
कमलामाई नगरपालिकामा (साबिक सिद्धेश्वर गाविस) सिन्धुलीमा जन्मिएकी नमुनाले गाउँकै विद्यालयबाट ०५६ सालमा एसएलसी पास गरेकी हुन् । बुवा सरकारी सेवामै भएकाले उनलाई पढ्न कुनै समस्या थिएन । विद्यालय कालमा पठनपाठनको हिसाबले नजरमा पर्ने विद्यार्थी थिइन् उनी । एसएलसीपछि जागिरको सुनिश्चितताको हिसाबले बुवाले उनलाई नर्सिङ पढाउने निधो गरे । बुवाको योजना अनुरूप वीरगन्जको नर्सिङ क्याम्पसमा उनी भर्ना भइन् । ०५७ सालबाट ०६० सालसम्म पिसिएल नर्सिङ अध्ययन गर्दै ०६१ साल वैशाखमा पास भइन् ।
पढाई सकेर जागिरको खोजी गर्दै उनी काठमाडौं प्रवेश गरिन् । वीरगन्जबाट पढाई सकेपछि अधिकांशको रोजगारीको केन्द्र काठमाडौं भएकाले उनी राजधानी आएकी हुन् । त्यतिबेला लोकसेवा खुलेको थिएन । ज्यालादारीमा वा प्राइभेट अस्पतालमा काम गर्नुपर्ने अवस्था थियो । केही समय स्वयंसेवकको भूमिका निभाएपछि उनले प्रसूति गृहमा ज्यालादारीमा काम गरिन् ।
केही समयपछि नाम निकालेर काठमाडौं मेडिकल कलेजमा आबद्ध भएर उनले ६ महिना काम गरिन् । त्यसैबीच लोकसेवा खुलेपछि उनले कमलपोखरीमा रहेको लोकसेवाको कार्यालयबाटै परीक्षा दिइन् र पास पनि भइन् । ०६१ सालको चैतमा जनकपुर अञ्चल अस्पतालमा उनको पहिलो नियुक्ति भयो । उनले रोजेर जनकपुरको नियुक्ति लिएकी थिइन् ।
नयाँ परिवेश, माहौल र समाजमा उनी एक्लै जागिर खान हिँडिन् । नौलो वातावरणमा काम गर्न अलिक अप्ठ्यारो भएको उनी बताउँछिन् । उनी भन्छिन्, ’समुदाय फरक भएकाले चुनौतीपूर्ण भयो ।’ नमुनाले अप्रेसन थिएटरमा काम गर्थिन् । जसले गर्दा निश्चित कार्यतालिका हुँदैनथ्यो । अप्रेसनका लागि राती १२ बजे समेत हिँड्नुपर्ने हुन्थ्यो ।
०६३ सालसम्म उक्त अस्पतालमा काम गर्दा कुनै अप्रिय घटना नघटे पनि विभिन्न अभिव्यक्ति भने आउने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ’कार्यालयको वातावरण असुरक्षित नभए तापनि आफू सचेत र सतर्क हुनुपर्ने भने थियो ।’ यद्यपि अहिले त्यो अवस्थामा धेरै परिवर्तन आएको उनले बताइन् ।
जनकपुरको बसाइपछि उनी पुनः प्रसूति गृहमा फर्किइन् । जनकपुरमै रहँदा उनले ज्ञानदीप दाहालसँग वैवाहिक जीवनको सुरुआत गरिन् । श्रीमानको निरन्तर हौसलाले आफू अहिलेको अवस्थामा पुगेको उनी बताउँछिन् । प्रसूति गृहमा दुई वर्ष काम गरेपछि ०६५ सालमा छात्रवृत्ति पाएर नर्सिङमा ब्याचलर गर्ने मौका पाइन् र महाराजगन्ज नर्सिङ क्याम्पसमा भर्ना भइन् । आफ्नो सीपले पढाइमा धेरै मद्दत पुगेको उनी बताउँछिन् । २ वर्षको अध्ययन बिदा लिएर उनले ०६७ सालमा नर्सिङमा ब्याचलरको पढाई पूरा गरिन् ।
धेरै जना काठमाडौं आउन चाहने हुनाले उनको सरुवा संखुवासभा जिल्ला अस्पतालमा भयो । उनी भन्छिन्, ’पढाई सकेर दरबन्दी खोज्न मन्त्रालय जाँदा संखुवासभा सरुवा भएको रहेछ ।’ यसरी उनको जागिरे जीवन संखुवासभा पुग्यो । संखुवासभा जान जहाजबाट मात्र सम्भव थियो । तुम्लिङटारसम्म हवाईजहाजमा गएर बाँकी यात्रा गाडीबाट गर्नुपर्ने हुन्थ्यो । वर्षायाममा झन् हिँड्दै पुग्नुपर्थ्यो । उनका श्रीमान् वैदेशिक रोजगारीमा भएकाले उनी एक्लै त्यहाँ पुगिन् ।
घरमा ३ वर्षको छोरालाई सहयोगीको भरमा छोडेर उनी जागिरका लागि पूर्वी नेपाल पुगिन् । संखुवासभाको वातावरण र कार्यक्षेत्रमा एक किसिमको चिसोपन थियो । उनले त्यहाँ कर्मचारीहरूबीच द्वन्द्व देखिन् । बस्नका लागि उनलाई क्वाटरको सुविधा थिएन । 'लामो समय हाजिर गराउने कि नगराउने भन्ने दोधारपछि बल्ल/बल्ल हाजिर गर्न पाएँ । बाहिरबाट गएकालाई क्वाटर दिनुपर्ने हो तर छैन भनियो’, उनी भन्छिन्, 'तलब नै ११/१२ हजार थियो । कोठा भाडा लिएर बसौँ भने ४/५ हजार तिर्नुपर्थ्यो ।’
यस्तो अवस्थामा उनी एक हप्ता होटेलमा बसिन् तर, काम गर्ने सजिलो वातावरण बनेन र उनी फर्किन बाध्य भइन् । सरकारी जागिर यसै छोड्न उनको मनले पनि मानेन । केही समयपछि उनले जागिरमा फर्किने निधो गरिन् । फर्किएपछि अस्पतालका प्रमुखसँग उनले पुनः बस्ने ठाउँको माग गरिन् । र, यसपाली पनि क्वाटर नभएको जानकारी पाइन् ।
क्वाटरको बन्दोबस्त नभएकाले अस्पतालकी एक कर्मचारीको घरमा उनी पेइङ गेस्टको रूपमा बसिन् । सधैँ यसैगरी बस्न सम्भव थिएन । त्यसैले बेतलबी बिदा लिएर घर फर्किने सुर कसिन् ।
०६८ सालको कार्तिकमा निवेदन दिएर उनी घर फर्किन् । त्यहीबेला उनको घरमा चोरी पनि भयो । जसले उनलाई घर फर्कन अझ प्रेरित गर्यो । घर आएपछि के गरेर बस्ने भन्ने भएपछि कलेज पढाउने प्रयास गरिन् तर सफल भइनन् । दिनहरू यसरी नै बितिरहेका थिए । यसै बसिरहेको र के गर्ने नगर्ने अन्यौलता भइरहेको समयमा नर्सिङ पढ्दाकी मिल्ने साथी अनिता पौडेलसँग उनको भेट भयो ।
उनले २०६८ मा अफिसरमा नाम निकालेकी थिइन् । त्यसपछि नमुनालाई पनि अफिसरको परीक्षा दिन सल्लाह दिइन् । मिहिनेत गरे पास गर्न सकिने बताउँदै तयारी कक्षा खुलिरहेको र कक्षा लिएर परीक्षामा सहभागी हुनको लागि प्रोत्साहन गरिरहिन् भने श्रीमानले पनि यसको लागि निरन्तर उत्साहित गरिरहे । मंसिरबाट तयारी कक्षाका लागि उनी गइन् । र, केवल चार महिनाको तयारीमा लोकसेवा परीक्षा समेत पास गरिन् ।
चैतमा लिइएको परीक्षा उनले पहिलो प्रयासमै पास गरेकी थिइन् । परीक्षा सकिएसँगै उनको नर्सिङ अन्तर्गतको सरुवा कान्ति बाल अस्पतालमा भयो । उनी कान्तिमा काम गर्न थालिन् ।
०६९ को भदौमा अफिसरको नतिजा आयो र उनी पास भइन् । त्यसपछि अन्तर्वार्ताको तयारी गरेर नाम निकाल्न समेत सफल भइन् । महिला कोटामा सिफारिस भएर ०६९ असोजबाट उनले शाखा अधिकृतको काम सुरु गरिन् । उनले पहिलो नियुक्ति रोजेर गोश्वारा हुलाक कार्यालयमा लिएकी थिइन् । किनभने उनीसँग प्रशासनको कुनै अनुभव थिएन । उनी भन्छिन्, ’प्राथमिक तहबाटै बुझौँ भनेर त्यो कार्यालय बुझेर रोजेकी थिएँ ।’
सोही कार्यालयबाट बिस्तारै प्रशासनका प्राथमिक कुराहरू थाहा पाउँदै, सिक्दै गएको उनी बताउँछिन् । उक्त कार्यालयमा पारिवारिक माहौलमा काम गर्ने मौका मिलेको उनले सुनाइन् । नमूनाले उक्त कार्यालयमा २ वर्ष काम गरिन् ।
०७२ सालमा उनको सरुवा क्षयरोग केन्द्रमा भयो । त्यहाँ पनि प्रवेश गर्न समस्या भयो । उनी भन्छिन्, ’महिला भएपछि नेतृत्वदायी तहमा स्वीकार गरिँदैन । पहिलो कुरा त उनीहरूले सक्षम छन् भनेर नै बुझ्दैनन् । उनीहरू काम गर्न सक्दैनन् भन्ने मानसिकता अहिले पनि छ ।’
जिम्मेवारी दिँदा पनि हलुका किसिमको दिने, निर्णय लिनु नपर्ने स्थानमा दिने गर्ने परिपाटी रहेको उनी बताउँछिन् । यसलाई उनले चुनौतीको रूपमा लिइन् । त्यहाँका कर्मचारीसँग पनि अर्को विकल्प थिएन । उनी भन्छिन्, ’उनीहरूले जसरी भए पनि जिम्मेवारी दिनै पर्यो ।’ केन्द्रमा उनले खरिद शाखा प्रमुखको जिम्मेवारी पाएकी थिइन् ।
काम गर्दै गएपछि उनले आफूलाई प्रमाणित गरेर देखाइन् । कर्मचारीहरूबाट तपाईंलाई हामीले सोचेको भन्दा फरक पायौँ भन्ने अभिव्यक्ति आउन थाल्यो । समयको वास्ता नगरी उनले गर्नुपर्ने मिहिनेत गरिन्, लगाउनुपर्ने शक्ति लगाइन्, हिँड्नुपर्ने ठाउँमा हिँडेर, सिक्नुपर्ने कुरा सिकेर अघि बढिन् ।
त्यति बेला इ-बिडिङ (विद्युतीय खरिद) भर्खरै प्रचलनमा आएको थियो । उनले उक्त इ-बिडिङ केन्द्रमा सुरु गरिन् । प्रक्रिया सिकेर इ-बिडिङबाटै प्रतिस्पर्धा गराउने, भौतिक रूपमा नगराउने भएपछि काम गर्न सक्ने रहेछ भन्ने त्यहाँका कर्मचारीलाई लागेको उनी बताउँछिन् ।
०७६ पुसमा उनले अस्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति पाइन् र पढ्न गइन् । अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन सकेर आएपछि उनले काम गर्ने ठाउँ नै फेला पार्न सकिनन् । किनभने क्षयरोग केन्द्रबाट उनको सरुवा भइसकेको थियो ।
केही समय विभागबाट मन्त्रालय, मन्त्रालयबाट विभाग गरेपछि वाणिज्य मन्त्रालयमा उनको सरुवा भयो । उनलाई त्यहाँ द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा अन्तरगत चीन शाखाको जिम्मेवारी दिइएको थियो । तर, त्यहीबेला कोरोना महामारीका कारण नाकाहरू बन्द भए ।
उनी भन्छिन्, 'तातोपानी भूकम्पले बन्द थियो । कोरोनाका कारण केरुङको नाका पनि बन्द भयो । नाका बन्द भएपछि केही भूमिका नै नभएजस्तो भयो ।’ कार्यालय जाने आउने क्रम चलिरह्यो र सोही बखत नेपाल र चाइनाको जोइन्ट वर्किङ ग्रुप अन् ट्रेड भन्ने अनलाइन वार्ता हुने तय भयो । उक्त वार्ताका लागि एजेन्डाहरू तयार गर्ने, चीन स्थित नेपाली राजदूतावास, नेपाल स्थित चिनिया दूतावाससँग निरन्तर समन्वय गर्ने काममा उनले नै अग्रसरता लिनुपर्ने भयो । सो वार्ता भर्चुअल माध्यमबाट गरिएको भए तापनि नेपाल-चीन व्यापारको लागि सहजीकरणका उपायहरू सहित नाकाहरू बिस्तारै सुचारु गरिने लगायतका द्विपक्षीय हितका सहमतिहरू गरिए ।
जागिर खाँदै गर्दा उनी उपसचिवको तयारी समेत गर्दै थिइन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पढाइका लागि निकै सकारात्मक वातावरण थियो । साथीहरू र सिनियर उपसचिव, सहसचिवहरूले पनि प्रोत्साहन गर्ने र सहयोग गर्ने माहौल थियो ।
उनी अधिकृत भएको पनि करिब ८ वर्ष भइसकेको थियो । ०७८ माघमा लिइएको परीक्षामा उनी पास भइन् र, ०७९ असारदेखि लेखा समूहको उपसचिवमा पहिलो नम्बरमा सिफारिस भइन् । त्यो वर्ष लेखा, राजस्व आन्तरिक, राजस्व खुला महिलामा पनि उनको नाम निस्किएको थियो । तर, लेखामा पहिलो सिफारिस हुने भएकाले लेखामा एक नम्बरमा सिफारिस भएर उनको नियुक्ति कुमारी चोक तथा केन्द्रिय तहसिलको कार्यालयमा तोकियो ।
अहिले नीतिगत रूपमै ऐन कानूनमा महिलाहरूलाई प्राथमिकता दिन, सशक्तीकरण गर्न व्यवस्था गरिएको छ । तर नेतृत्व अझै परिवर्तन हुन बाँकी रहेको उनी बताउँछिन् ।
उनी भन्छिन्, ’समावेशिताको कुरा गर्नुहुन्छ, योग्यता आधारको कुरा गर्नुहुन्छ । तर, जब व्यवहारमा लागु गर्ने बेला हुन्छ महिलाको चस्माले हेर्नुहुन्छ । महिलालाई पुरुष जसरी जिम्मेवारी दिन हिचकिचाउने अवस्था अझै पनि छ । यद्यपि, महिलाहरूले प्रमाणित गरेर देखाएका छन् ।’
घरबाट बिस्तारै परिवर्तन हुँदै आइरहेको उनी बताउँछिन् । छोरीलाई पनि समान र गुणस्तरीय शिक्षा दिनुपर्छ भनेर अभिभावकले ध्यान दिन थालेका छन् । श्रीमानको घरको वातावरणमा पनि परिवर्तन आएको उनले महसुस गरेकी छिन् । उनले कर्म घरमा सबैबाट सहयोग पाएकी छिन् ।
'म तिम्रो साथमा उभिन्छु, सकेको सहयोग गर्छु’ भन्दै श्रीमानले सधैँ ऊर्जा थपिदिने गरेको उनले बताइन् । श्रीमानलाई आफ्नो प्रेरणाको स्रोत बताउने उनी आफ्नो सफलताको श्रेय कर्म घरलाई पनि दिन्छिन् । उनी भन्छिन्, 'सासू ससुराले मेरो बुहारी अझै माथिल्लो पदमा पुगोस् भन्ने इच्छा राखेर त्यसको लागि उपयुक्त वातावरण निर्माण गरिदिनु भयो ।'
पढ्नुपर्ने बताएपछि सासू ससुराले घर व्यवहारको काममा सहयोग गर्ने गरेको उनी सुनाउँछिन् । तर, कार्यस्थलमा अझै समस्या रहेको उनी बताउँछिन् । नेतृत्वदायी भूमिका या निर्णय लिने समय/पदमा, कुनै ठाउँको प्रमुख बनाउने, कुनै महाशाखाको प्रमुखको जिम्मा दिने कुरामा अझै पनि महिलालाई विश्वास नगरिने गरिएको उनले बताइन् ।
उनी भन्छिन्, ’मन्त्रालयमा पनि सबैभन्दा प्रेसर कम हुने । काम कम हुने महाशाखाको जिम्मा महिलालाई दिइन्छ । यो परिवर्तन गर्न आवश्यक छ । पुरुषवादी मानसिकता परिवर्तन गर्न जरुरी देखिन्छ ।’
विभिन्न समस्या र चुनौतीका बाबजुद महिलाहरूले घर व्यवहार सम्हालेर कार्यालयमा पनि अब्बल भूमिका निभाइरहेका छन् ।
आउँदो पिँढीलाई यो कुरा निकै प्रभावशाली रहेको उनको बुझाइ छ । कतिपय अवस्थामा महिलाहरूको पनि कमजोरी हुने उनी बताउँछिन् । उनी भन्छिन्, ’केही महिला कर्मचारीले सहानुभूति लिने गर्नुहुन्छ, त्यसो गर्नु हुँदैन । किन कसैको अगाडी म कमजोर छु । गर्न सक्दिन भनेर आफूलाई अविश्वास गर्नु ?’ उनी जस्तो जिम्मेवारी आए पनि म गर्छु भन्नुपर्ने कुरामा उनी जोड दिन्छिन् । नर्सिङबाट प्रशासनमा, प्रशासनबाट लेखामा आउँदा छुट्टै अनुभव भएको उनले बताइन् ।
लेखामा धेरै जसो वित्तीय अनुशासन कायम गर्नुपर्ने, पालना गर्नुपर्ने, सेवाग्राही कम फेस गर्नुपर्ने उनले बुझाइन् । यद्यपि लेखामा काम गर्न चुनौतीपूर्ण रहेको आफ्नो अनुभवबाट उनले बताइन् ।
उनी नेपाल सरकारको ढुकुटी ऋणग्रस्त, कमजोर भएको अवस्थामा दुई रुपैयाँ नै भए पनि सरकारी बाँकी बक्यौता उठाउन पाउँदा राम्रो काम गरेको अनुभव हुने बताउँछिन् । आत्मसन्तुष्टि हुने सुनाउँछिन् । आफ्नो इच्छाशक्ति भए कुनै पनि चुनौतीको सामना गर्न सकिने उनी बताउँछिन् ।
के हो कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालय ?
कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयले विशेष गरी बेरुजु फर्छ्यौट गर्ने र सरकारी बाँकी बक्यौता उठाउने काम गर्छ । महालेखा परीक्षकको कार्यालय २०१८ सालमा स्थापना भएर उसले प्रथम प्रतिवेदन दिएदेखि ०५९/०६० सम्मको नेपाल सरकारअन्तर्गतका निकायहरूको बेरुजुको सम्परीक्षण गर्ने, लगत कट्टा गर्ने काम कुमारी चोकले गर्छ ।
तर, त्यसको लागि बेरुजुका कागजातहरू सम्बन्धित निकाय तथा मन्त्रालयसँग हुने हुनाले उनीहरूको आफ्नो तथा कार्यालयको नाममा भएका बेरुजुहरू असुलउपर गर्नुपर्ने भए, असुलउपर गरेर बैंक भौचर सहित आएपछि कुमारी चोकको लगतमा रहेको हुनाले लगत कट्टा गरिन्छ । यसको जानकारी म्यानुअल र डिजिटल माध्यमबाट दिइन्छ ।
०६५ सालमा कुमारी चोकलाई बेरुजु हस्तान्तरण गरिएको । हस्तान्तरण भएका बेरुजुहरू करिब १८ अर्बको हाराहारीमा रहेको थियो । अहिलेसम्म आइपुग्दा कुमारी चोकले ३ अर्ब जति बेरुजु लगत कट्टा गरेर अहिले १५ अर्ब १४ करोड नेपाल सरकारको कूल बेरुजु बाँकी रहेको छ ।
साथै कार्यालयले गर्ने अर्को काम भनेको सरकारी बाँकी असुलउपर गर्ने रहेको छ । सरकारी बाँकी असुलउपर गर्नका लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन नियमावलीमा कुमारी चोकको काम तथा अधिकार छ । त्यो अधिकारमा कस्तो रकम सरकारी बाँकी सरह असुलउपर गर्ने भनेर छुट्याइएको छ ।
जस्तै, कुनै व्यक्ति कार्यालयमा कार्यरत छ र उसले केही पेस्की रकम लियो र त्यो फर्छ्यौट नगरी ऊ फरार भयो अथवा तिरेन भने बेरुजु कायम हुन्छ । तीन वर्ष भन्दा पुरानो बेरुजु भएपछि र सम्बन्धित कार्यालयले असुलउपर गर्न सकेन भने सरकारी बाँकी सरह लगत कायम गरेर असुलउपर गरिदिनु भनेर लेखेर पठाइन्छ । र, कुमारी चोकले लगत कसेर व्यक्तिगत रूपमा बेरुजु असुल गर्ने काम गर्छ ।
निर्माण व्यवसायीहरूले सम्झौता अनुरूप काम गरेनन् या पेस्की लिएर कामै नगरी सम्पर्क विहीन भए अथवा काम गर्दागर्दै बीचमा दायित्व पुरा नहुँदै निर्माण कार्य अलपत्र पारेर छोडे भने सम्बन्धित कार्यालयले ३ वर्षसम्म पहल गर्छ । र, असुलउपर भएन भने त्यो कार्यालयले लेखा उत्तरदायी अधिकृत विभाग, मन्त्रालयबाट निर्णय गरेर सरकारी बाँकी सरह लगत कायम गरेर लगत उठाइदिन अनुरोध गर्छ ।
त्यसपछि कुमारी चोक प्रक्रियामा जान्छ । प्रक्रिया अनुरूप पहिला व्यक्ति या संस्थालाई पत्राचार गरिन्छ । सम्पर्कमा नआए ३५ दिने सूचना निकालिन्छ । अन्य कुनै कार्यालयबाट उसको भुक्तानी आउनु छ/छैन पत्राचार गरी बुझेर रोक्काको प्रक्रियामा जान्छ । जायजेथा रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने आदि गरिन्छ । यसरी रोक्का गरेपछि उसले नयाँ खाता खोल्न पाउँदैन । पुरानो रोक्का हुने र नयाँ पनि खोल्न नपाएपछि आर्थिक कारोबार गर्न सकिँदैन । त्यसपछि कतिपय कुमारी चोक पुग्ने गर्छन् ।
अघिल्लो आर्थिक वर्षमा एक करोड ९७ लाख भन्दा बढी सरकारी बाँकी कुमारी चोकले असुलउपर गरेको छ । पछिल्लो ३ वर्षमा सबैभन्दा बढी असुलउपर गरिएको अघिल्लो आर्थिक वर्ष हो ।
त्यसैगरी कार्यालयले तेजारथ र घरेलुतर्फको ऋण पनि असुल गर्ने गर्छ । तेजारथ भनेको रणद्विप सिंह प्रधानमन्त्री हुँदा उनले नेपाल सरकारका कर्मचारीलाई दिएको नगद ऋण हो । सहुलियत ब्याजदरमा दिने गरिएको उक्त ऋण २८ सालसम्म वितरण गरिएको थियो । त्यो प्रकृतिको ऋण अघिल्लो आर्थिक वर्षसम्म १३ वटा थियो । संघीयतापछि धेरै मानिसहरूको ठेगाना परिवर्तन भयो । २८ सालका कतिपय कर्मचारीको मृत्यु नै भइसकेको हुनसक्छ । यद्यपि स्थानीय तहमा सम्पर्क गरेर ५ वटा ऋणीको सम्पर्क भेटिएको र ८ वटा लगत मात्र बाँकी रहेको उपसचिव नमुना कार्की दाहालले बताइन् ।
नेपाल सरकारले ३५ सालसम्म विभिन्न व्यक्तिलाई व्यापार व्यवसाय गर्न घरेलु ऋण उपलब्ध गराउँदै आएको थियो । स्थानीय तहसँग सम्पर्क गरेर ३४ वटा भन्दा बढी रहेको त्यस्तो ऋणको लगत कट्टा गरिएको उनले बताइन् । अहिले कार्यालयले २ अर्ब ५९ करोड जति बेरुजु रकम असुलउपर गर्नुपर्ने छ ।
पुरानो बेरुजुको हकमा मन्त्रालयले केही गर्ने होइन कुमारी चोकले फर्छ्यौट गर्छ भन्ने गलत बुझाइ थियो । यसबारेमा एक कार्यक्रममार्फत महालेखा नियन्त्रकको कार्यालयबाट सबै मन्त्रालयको उपस्थितिमा आर्थिक प्रशासन प्रमुखहरूलाई प्रस्ट पारेको उनले जनाइन् ।
लेखा शाखामा काम गर्दा कहिलेकाहीँ चुनौतीपूर्ण र त्रासपूर्ण माहौलको सिर्जना समेत हुने गर्छ । संरचनागत हिसाबमा हेर्दा पनि कुमारी चोकमा १२ जना मात्र छन् । त्यसमा पनि कतिपय पदपूर्ति भएको छैन ।
यसबाहेक कार्यालयले कुमारी पूजा गर्ने गर्छ । गणतन्त्रअघि राजाहरूले गर्ने गरेको पूजा नेपाल सरकारको तर्फबाट यही कार्यालयले गर्छ । कार्यालयले भूतपूर्व कुमारीलाई सगुन दिने काम पनि यो वर्षबाट सुरु गरेको छ । यो विशेष कला/संस्कृतिको जगेर्ना गर्ने काम पनि कार्यालयले गर्छ ।