काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क वृद्धि गरेको छ । डिन कार्यालयले आङ्गिक क्याम्पसहरूले लिन पाउने शुल्क वृद्धि गरेको हो ।
२ लाख ८० हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७५ हजार पुर्याइएको पुल्चोक इन्जिनियरिङ क्याम्पसले जनाएको छ । शुल्क वृद्धिको स्ववियू, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी सङ्गठनले विरोध गर्दै आएका छन् ।
अध्ययन संस्थानको पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आङ्गिक क्याम्पसहरू सञ्चालनमा रहेका छन् । वृद्धि भएको शुल्क आगामी शैक्षिक सत्रदेखि लागु हुने डिन कार्यालयले जनाएको छ ।
क्याम्पसहरू घाटामा रहेका कारण देखाउँदै शुल्क बढाइएको हो ।
विद्यार्थीले भने शुल्क वृद्धि फिर्ताको माग राख्दै आन्दोलन गर्न थालेका छन् ।
केमिकल र एरोस्पेस इन्जिनियरिङको शुल्क यसअघि नै ६ लाख तोकिएको थियो । केमिकल र एरोस्पेस इन्जिनियरिङमा समेत वृद्धि भएको नयाँ शुल्क लागू हुने जनाइएको छ ।
हाल आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेकट्रोनिक्स, मेकानिकल, ओटोमोबाइल, एग्रिकल्चर, जियोमेट्रिक्स, इन्डस्ट्रियल इन्जिनियरिङ तर्कको शुल्क वृद्धि गरिएको हो । केमिकल र एरोस्पेस इन्जिनियरिङमा समेत वृद्धि भएको नयाँ शुल्क लागू हुने जनाइएको छ ।