काठमाडौं । मधेस प्रदेशको सप्तरी जिल्लामा अवस्थित हनुमाननगर कंकालिनी नगरपालिका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा सम्पन्न नगर हो । नगरपालिका प्रमुख हुन् बिरेन्द्र माझी । ०७९ को वैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनमा जनमत पार्टीबाट मेयर निर्वाचित भएका हुन् । जनमत पार्टी स्थापना हुनुअघि जसपामा सक्रिय राजनीति गर्दै आएका उनी हनुमाननगर कंकालिनी नगरपालिका भार दहका स्थायी बासिन्दा हुन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि हालसम्म भए गरेका काम, कारबाही र नगरपालिकाको विकासका लागि आगामी योजनालगायतका विषयमा आधारित रहेर व्यवस्था डटकमका लागि रोशन भट्टराईले गरेको कुराकानीको सम्पादित अंश:
नगरपालिकाको नेतृत्व गर्नुभएको १५ महिना भइसक्यो । नगरवासीलाई सेवा प्रवाह तथा उहाँहरूको समस्याहरू कसरी सम्बोधन गरिरहनु भएको छ ?
जनताका समस्या समाधान गर्नु जनप्रतिनिधिको धर्म हो । आम जनताका मुद्दा पाखा लगाएर नगरको विकास हुन सक्दैन । शिक्षा, स्वास्थ्य, कृषि जस्ता कुरामा नगरले ठोस कदम उठाइरहेको छ । विभिन्न प्राकृतिक जोखिममा नगर जनताको लागि दिनरात नभनी खटिरहेको अवस्था छ । जनताको पक्षमा काम गर्न चाहँदा/चाहँदै पनि विभिन्न चुनौतीका कारण पूर्ण रूपमा समस्या समाधान गर्न सकिरहेका छैनौं ।
हामीले यो नगरमा विभेदमुक्त नगर, सांस्कृतिक सम्पदाको संरक्षण, शिक्षा र स्वास्थ्यमा पहुँच, कृषिमा आधुनिकीकरणको अभियान चलाइरहेका छौँ ।
यस पालिकामा शिक्षा, स्वास्थ्य, कृषि लगायत जनसरोकारका विषयलाई सुदृढ गर्न तपाईंले के गरिरहनुभएको छ ?
शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका कुरा जनताका आधारभूत र प्राथमिकतामा पर्ने विषय हुन् । जबसम्म शिक्षा, स्वास्थ्यमा गुणस्तर कायम गर्न सकिँदैन तबसम्म देशको विकास पनि हुँदैन । भारदहमा यस अघिसम्म उच्च मावि थिएन । पालिकाको निर्णयले बिपी मावि उच्च माविमा परिणत भयो र हाल पालिकामा रहने अधिकतम विद्यार्थी यस विद्यालयमा अध्ययन गर्छन् । यसअघि विद्यार्थीहरू पालिका बाहिर गएर पढ्नुपर्ने बाध्यता थियो । पालिकाबाट डेस्क, बेन्च र अन्य सामाग्रीको समेत व्यवस्था गरिएको छ ।
विद्यालयका भवनहरू बनाउन राष्ट्रिय योजना आयोगसँग सहकार्य पनि भइरहेको छ । पालिकाका सम्पूर्ण विद्यालयमा शिक्षकहरूलाई समयमा उपस्थिति गराउन हाजिर गर्ने मेसिन जडान गरिएका छन् । समय/समयमा आधिकारिक निकायबाट विद्यालयको निरीक्षण समेत हुने गरेको छ । सामुदायिक विद्यालयमा हामीले अंग्रेजी माध्यमबाट पनि पढाई हुने वातावरण सिर्जना गरेका छौं । निजी विद्यालयमा सरह पढाई सरकारी विद्यालयमा हुँदा विद्यार्थीको आकर्षण बढ्ने भएकाले यो नियम लागु भएको हो । आगामी दिनमा शिक्षामा अझै आकर्षक सुविधा आउँछ ।
कृषिका औजार, बिउ बिजन आदिमा पनि यस नगरपालिकाले ५० देखी ७५ सम्म प्रतिशत अनुदान दिने गरेको छ । यस नगरपालिकाका सम्पूर्ण वडामा कृषि मिटर लिने किसानको लागि निःशुल्क रूपमा बिजुली प्रदान भइरहेको छ । किसानको सुविधाको लागि नगरपालिका सधैँ तत्पर रहेको छ । किसानलाई सुविधा दिन करिब १ करोड ५८ लाख लागतमा कृषि सामाग्री पनि यस नगरपालिकाले खरिद गरेको छ । जसमा धान काट्ने, रोप्ने मेसिन, ट्याक्टर र अन्य १८ किसिमका विभिन्न कृषि उपकरण रहेका छन् । खेत/खेतमा विद्युत् सेवा विस्तार गर्न सके किसानलाई थप राहत पुग्छ ।
यस पालिकामा हनुमान मन्दिर, कंकालिनी मन्दिर जस्ता धार्मिक सम्पदा छन् । यसलाई पर्यटनसँग जोड्ने केही माध्यम सोच्नुभएको छ ?
यस पालिकामा रहेका हनुमान मन्दिर, कंकालिनी मन्दिर, एक ऐतिहासिक सम्पदा हुन् । हनुमाननगर कंकालिनी नगरपालिकाको अर्को आकर्षण भनेको हनुमाननगर वडा नं ७ मा रहेको हनुमान मन्दिर हो । शालिग्राम कसौटी पत्थरले बनेको हनुमानको दुर्लभ मूर्तिका दुवै हात आशिर्वादी छन् । स्व. मुक्तिनाथ मण्डलले आफ्नो सप्तरी दर्पण नामक पुस्तकमा विक्रमादित्यको उज्जैन र हनुमानगढी हनुमान नगरको बाहेक कालो शालिग्राम पत्थरका हनुमान मूर्ति संसारमा अन्यत्र नरहेको उल्लेख गरेका छन् ।
कंकालिनी मन्दिर हनुमान नगर कंकालिनी नगरपालिकामा रहेको अर्को एउटा प्रमुख आकर्षणको बिन्दु रहेको छ । धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको यस मन्दिरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजनहरू आउने गरेका छन् । यस मन्दिर वरपर निरन्तर सरसफाइ अभियान हुने गरेको छ ।
मन्दिरको अधुरा काममा पनि हामी विभिन्न निकायसँग समन्वय गरेर अघि बढी रहेका छौं । मन्दिर व्यवस्थापनमा पनि विभिन्न सुधारका काम भइरहेका छन् । मन्दिरको विकास समितिमा सबै समुदायलाई समावेश गरिएको छ । देश विदेशका भक्तजन हजारौँको संख्यामा उपस्थिति हुने गरेका छन् र यसको सहजताका लागि हाम्रो पालिका निरन्तर लागिरहेको छ । निःशुल्क खानेपानी, शौचालय र बाहिरबाट आउने भक्तजनका लागि निःशुल्क धर्मशालाको सुविधा दिने गरिएको छ ।
हनुमान मन्दिर र कंकालिनी मन्दिरको नामबाट यस पालिकाको नामकरण भएको हो र यी धार्मिक स्थलहरू हाम्रा सम्पत्ति हुन् । यस्ता सम्पदाको सुधार गर्न पालिका सधैँ तत्पर रहेको छ । चुनौती त धेरै छन् तर त्यसको समाधानमा पालिका लागिपरेको छ ।
कोसी नदीले यस नगरपालिकामा बर्सेनि दुःख दिने गरेको छ । त्यस खाले विपद्को समाधान कसरी गरिरहनुभएको छ ?
नेपालकै ठुलो कोसी नदीलाई अर्को नामले विहारको दुःख भनेर पनि चिनिन्छ । यस नदीले नेपाललाई आर्थिक र प्राकृतिक रूपमा परिचित गराएको छ । वर्षा याममा नेपालका विभिन्न भू-भागमा बाढी पसेर ठुलो धनजनको क्षति हुने गरेको छ । कोसी नदीको किनारमा रहेको यो नगरपालिकालाई मात्र वास्तवमा कोसीले दुःख दिएको छैन । यसले विभिन्न जिल्लाका कयौँ ठाउँमा क्षति पुर्याउने गरेको छ । यसको समाधान एउटा नगरपालिकाको मात्र क्षेत्राधिकार भित्र पर्दैन । र एउटा नगरपालिकाको प्रयासले सम्भव हुने कुरा पनि होइन । तर, हामीले बाढी पीडितलाई राहत भने दिने गरेका छौं ।
महुली नदीमा हिउँद याममा पानीको बहाव सानो भएता पनि वर्षामा बाढी आएर यस नगरपालिका क्षेत्रमा असर पुर्याउने गरेको छ । हामी पीडितहरूको पक्षमा निरन्तर खटिरहेका छौँ । कोसिस गर्दा पनि हामीले यसको न्यूनीकरण गर्न नसकिरहेको अवस्था भने पक्कै हो ।
यस पालिकाको १३ नम्बर वडा कोसीले चारैतिरबाट घेरिएको टापु जस्तो छ । अन्तबाट उक्त वडामा आउन जान डुंगाको प्रयोग गर्नुपर्ने बाध्यता छ । सानोतिनो बाढी आउँदा पनि यो क्षेत्र डुबानमा पर्छ । यसको दीर्घकालीन समाधानको लागि हामी संघसँग पनि सहकार्य गरिरहेका छौं ।
बालीनालीमा क्षति पुर्याएको खण्डमा पालिकाले राहतको कार्यक्रम ल्याएको छ । बाढी एकैपटक आउने भएकाले पालिकाले जनतालाई सुरक्षित राख्न दक्ष जनशक्ति सधैँ तयार राख्दै आएको छ । पीडितको सहजीकरण गर्न पालिका सधैँ तत्पर छ तर, दीर्घकालीन समाधान गर्न पालिका एक्लै असमर्थ रहेको छ ।
हनुमाननगरको बजारमा हुने व्यस्तता आजभोलि राजविराज तिर सरेको छ । यसलाई पुरानै अवस्थामा फर्काउन के गर्दै हुनहुन्छ ?
एक समय सप्तरीको सदरमुकाम हनुमान नगरमा थियो । अहिले हनुमाननगर यस पालिकाको केन्द्र बनेको छ । यसको व्यस्तता भने घटेको जस्तो लाग्दैन । यो बजार अझ व्यवस्थित भएको छ, यस बजारमा अहिले पनि सम्पूर्ण किसिमका सर/समान उत्तिकै मात्रामा पाइन्छ । बाहिरका बासिन्दा आएर यस क्षेत्रको शोभा अझै बढेको देखिन्छ ।
ठुलठुला व्यापारी भएको यस क्षेत्रमा बजार अभाव हुँदैन । प्रायः जसो यस पालिकाका बासिन्दा हनुमाननगरको बजारमा समान किन्न जान्छन् । यो बजार आजको मात्र नभएर धेरै अगाडी स्थापित भएको हो । यसलाई थप विकास र व्यवस्थित गर्न नगरपालिका सधैँ तत्पर रहेको छ । यो बजार विस्थापित नभएर अझै ठुलो र व्यवस्थित हुँदै गइरहेको छ ।
तपाईं नगर प्रमुखको रूपमा निर्वाचित भइसकेपछि नगर क्षेत्रभित्र विभेदको अन्त्य गर्न के कस्ता रणनीति अपनाइरहनुभएको छ ?
हाम्रो नगरमा अहिले पहिलेको जस्तो जातीय विभेद छैन । कसैले जातीय विभेद निम्त्याउन खोज्छ भने उसलाई कानूनअनुसार कारबाही हुन्छ । जातीय विभेद अन्त्यका लागि जनचेतना फैलाउने काम पनि भइरहेको छ । पिछडिएका समुदायलाई समावेश गरी नगरको कामकाज अघि बढेको छ ।
यहाँ रहेका डुम समुदायका सम्पूर्ण परिवारको आवास पालिकाले निर्माण गरेको छ । कंकालिनी मन्दिरको विकास समितिमा पिछडिएका समुदायलाई पनि समावेश गरिएको छ । यस्ता अन्य विभिन्न काममा नगरपालिकाले दलित समुदायलाई समावेश गरिरहनेछ ।
यस नगरपालिकाअन्तर्गत पर्ने मुख्य राजमार्ग वर्षौँदेखि बिग्रिएको अवस्था छ । बाटो बिग्रिदा दुर्घटना पनि भइरहेको छ । यसको सुधार किन हुन सकिरहेको छैन ?
यो मुख्य राजमार्ग सडक डिभिजन कार्यालयले हेर्दै आएको छ । भारदह क्षेत्रमा पनि सडक धेरै बिग्रिएको अवस्था छ । सडक डिभिजन कार्यालयसँग पहल गर्दा पनि यसको मर्मत हुन नसक्नु हाम्रो कमजोरी हो तर सडक डिभिजनले पनि काम गर्नुपर्छ ।सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेर ठेकदारले ठेक्का पाएपछि पनि काम भएन । त्यसपछि उक्त ठेकदारसँगको ठेक्का रद्द गरेर नयाँ ठेक्का आह्वान गरिएको छ । यसमा एक मेयरले गर्न सक्ने भनेको सम्बन्धित निकायसमक्ष पहल गर्ने मात्र हो । पालिकाले गर्न सक्ने काम अवश्य गर्छौं ।