भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये मंगलबार दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
फरार रहेकामध्ये सोमबार रातिसम्ममा दुई सय चार जनालाई पक्राउ गरेको र मंगलबार थप १० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको उनले बताए । बाँकी सात जना पनि आनसम्म पक्राउ गरिसक्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा सुरु भएको घटनाले सोमबार भयावह रुप लिएको थियो ।
उनले मृतकका परिवारसँग भएको छलफलमा आज बुधबार जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको जानकारी दिए । सुधार गृहभित्र आइतबारबाट भएको घटनाले उग्ररुप लिए पछि तीनदिनदेखि यहाँ रहेका बालबालिका भने त्रसित रहेका छन् ।
आइतबारको घटनापछि जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गठन गरेको छानबिन समितिले काम सुरु गरेको छ ।
घटनाको अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य ल्याउन सहायक सिडिओ निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेकोमा त्यस समितिले आफ्नो काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।