काठमाण्डौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समुहका सदस्यहरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।
जापानको माथिल्लो सदनका सदस्य तथा जापान-नेपाल संसदीय मैत्री समुहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबार स्थित सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा तिमिल्सिनाले नेपाल र जापान दुबै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुयाउँदै आएको सहयोगको लागि धन्यबाद दिए ।
नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानवीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुयाएको बिश्वास ब्यक्त गरे ।
उनले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रति धन्यबाद दिए ।
जापान नेपालमा प्रत्यक्ष बैदेशिक लगानीको प्रमुख स्रोत देशहरु मध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको बिकास प्राथतमिकताका क्षेत्रहरुमा आगामी बर्षहरुमा जापानी लगानी बढ्ने आशा राखे ।
अन्तर ब्यबस्थापिका संघ लगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिदै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समुह छिट्टै गठन हुने जानकारी दिए । भेटमा जापान नेपाल संसदीय मैत्री समुहका सदस्यहरुले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने बिश्वास ब्यक्त गरे ।