काठमाडौं । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् ।
कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।
‘दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउनेगरेकामा दुई दिनदेखि ठप्प छ । गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दातसकिए पछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन’, उनले भने ।
यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबारदेखि ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो ।
बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ । ‘भएको मौज्दात सकियो । व्यापारीले ल्याउने कुरा हो, भारतबाट पठाएका छैनन् भन्ने सुनेको छ’, उनले भने, ‘बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो ।’ भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ ।
पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ । कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो ।
विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताए । ‘हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौँ । आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ’, उनले भने, ‘अहिले हामीले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेका छौँ । व्यापारीले प्रतिकिलो रू ४८ मा किनेको प्याज रू ६८÷७० सम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ ।’
यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम रू तीन लाखसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए । विभागले बजार अनुगमनका क्रममा सोमबार तीनवटा व्यापारीलाई जनही रू २० हजार, दुईवटा व्यापारीलाई जनही रू ५० हजारका दरले जरिवाना गरेको थियो भने चारवटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेको थियो ।
त्यस्तै मङ्गलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरिएको थियो भने पाँच व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको थियो ।
भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको छ ।
भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा गत आइतबार प्रतिकिलो रू ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो रू २० सम्म बढेर रू ८० पुग्यो ।
विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो रू १० सम्मले घटेपनि सोमबारयता भने त्यहाँ प्याज कारोबार भएको छैन ।
भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । त्यहाँको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको उक्त मन्त्रालयले जनाएको थियो । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ ।
यसअघि भारतले बास्मतीबाहेक अन्य चामल निर्यातमा बन्देज लगाएकाले नेपाली बजारमा चामलमा पनि कालोबजारी बढेको छ । रासस