काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ चालिसेमा यात्रुवाहक बस त्रिशूलीमा खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पर्वत–म्याग्दी बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूलीमा खस्दा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा २ जना महिला र ६ जना पुरुष रहेका छन् । यस्तै ८ जना मृतकमध्ये चार जनाको सनाखत गरिएको छ ।
मृत्यु हुनेमा म्याग्दी रघुगंगा गाउँपालिका– ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी गाउँपालिका– १ की १५ वर्षीया कृतिका शर्मा पौडेल, गजुरी गाउँपालिका– ८ धादिङका २४–२५ वर्षीय सुशील रम्तेल र कास्की फुलबारी– ११ का अन्दाजी २४ वर्षीय सुमन थापा रहेको छन् ।
दुर्घटनामा परी १७ जना घाइते भएकोमा ५ जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते हुनेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका– ३ की २२ वर्षीया अञ्जु रानामगर, म्याग्दी गरुगंगा गाउँपालिका– ७ का २९ वर्षीय प्रवीण पुन छन् । अन्य तीनजनाको नाम खुलेको छैन । घाइते १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।
मोदी गाउँपालिका– १ का ४१ वर्षीय गुरुदत्त शर्मा पौडेल, म्याग्दी बेनी नगरपालिका– ६ का ३० वर्षीय दीपक थापा, म्याग्दी बेनी नगरपालिका– ३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका– १ का १९ वर्षीय कुशल अधिकारी, म्याग्दी मंगला गाउँपालिका– २ की १६ वर्षीया गीता जंजाली मगर, बागलुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वत फलेवास नगरपालिकाका ६३ वर्षीया हरिकला गौडेल, म्याग्दी रघुगंगा– ६ की २३ वर्षीया रिना रानामगर, काठमाडौं कृतिपुर नगरपालिका– ९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, बागलुङ गलकोटकी ६८ वर्षीया ज्ञानु बुढामगर, बंगलादेश बस्ने ३२ वर्षीय मोहमद हजिरहुल घाइते भएका छन् ।
१३ जनाको उपचारका लागि काठमाडौं पठाइएको छ भने एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।
बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका– ६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
सहचालक रोशन तामाङ र बागलुङ गलकोटकी ज्ञानु बुढामगर भने सकुशल छन्।
एक जना यात्रु हराइरहेको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।