काठमाडौं । रुपन्देही प्रहरीले अर्काको नाममा परीक्षा दिने र दिन लगाउने दुई जनालाई पक्राउ गरेको छ ।
अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा सप्तरीको राजविराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव पक्राउ परेका हुन् ।
लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
अर्काको नामबाट परीक्षा दिएर र दिन लगाएर बेइमानी गरेकाले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।