काठमाडौं । कोशी प्रदेशमा रहेका १४ जिल्लामध्ये संखुवासभा एक हो । कोशी प्रदेशमा अवस्थित खाँदबारी नगरपालिका संखुवासभा जिल्लाको सदरमुकाममा पर्दछ । त्यही खाँदबारी नगरपालिकामा जन्मिएकी अनिता निरौला हाल बागमती प्रदेश अन्तर्गत रहेको रामेछाप जिल्लाको नेतृत्व गर्दै आएकी छिन्, प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेर ।
संखुवासभामा रहेको हिमालय माध्यमिक विद्यालयमा अध्ययन गरेकी निरौलाले ०५६ सालमा राम्रो अंक ल्याएर एसएलसी उत्तीर्ण गरिन् । एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि उनी आफ्नो गृह जिल्ला छोडेर काठमाडौं प्रवेश गरिन् । उनले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारितातर्फ स्नातक तहको जनप्रशासन क्याम्पसबाट स्नातकोत्तर शिक्षा पुरा गरेकी हुन् ।
अध्ययन गर्ने क्रममा उनले लोक सेवालाई पनि प्राथमिकतामा राखेर ०५९ साल मंसीर १५ गते खरिदारमा नाम निकालेर निजामती सेवामा प्रदेश गरेकी हुन् । १९ वर्षको उमेरमा खरिदारमा नियुक्त भएकी उनलाई परिवारको साथ सहयोग पनि राम्रै थियो । उनको परिवारमा निजामती क्षेत्रमा प्रवेश गरेका सदस्यहरू पनि भएकाले यस क्षेत्रमा लागिरहन उनलाई प्रोत्साहन मिल्थ्यो ।
खरिदार पदमा रहँदा उनले सिन्धुपाल्चोकको पिपल डाँडा गाविसमा गाविस सचिव भएर एक वर्ष सेवा प्रदान गरिन् । जनप्रशासनमा स्नातकोत्तर गरेकी उनलाई निजामती क्षेत्रमा आबद्ध हुन र सेवा प्रवाह गर्न थप सहज भयो ।
जागिरकै सिलसिलामा उनले २३ वर्षको उमेरमा ०६३ सालमा खुल्ला प्रतियोगिताबाट प्रतिस्पर्धा गरी शाखा अधिकृतमा नाम निकाल्न सफल भइन् । शाखा अधिकृतको रूपमा उनको पहिलो दरबन्दी स्वास्थ्य मन्त्रालयमा भयो । शाखा अधिकृतको जिम्मेवारी सम्हालिरहँदा उनको ध्यान नर्वेस्थित बर्गन विश्वविद्यालयमा सार्वजनिक प्रशासनमा एमफिल गर्नेतर्फ गयो । आफ्नो एमफिल गर्ने चाहना पूरा गर्नका लागि उनले दुई वर्ष बिदाको पूर्व स्वीकृति लिएर २०६७ सालमा नर्वे गइन् ।
नर्वेबाट अध्ययन पूरा गरी नेपाल फर्किएकी उनले त्यसपछि भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर एक वर्ष सेवा प्रदान गरिन् । निजामती सेवामा रहेर सेवा प्रदान गर्दै उनले आफ्नो अध्ययनको चाहनालाई पनि पूरा गर्दै गइन् । सोही क्रममा प्रजिअ निरौलाले एलएलबी (कानुन)मा समेत स्नातक गरिन् ।
रोजगारी सँगसँगै अध्ययनलाई निरन्तरता दिएकी निरौला ०७० साल जेठमा खुल्ला प्रतिस्पर्धाबाट उपसचिवमा नाम निकाल्न सफल भइन् भने ०७७ साल असार ३० गते खुल्ला प्रतिस्पर्धामार्फत सहसचिवमा नाम निकालिन् ।
उपसचिवको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डेढ वर्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ३ वर्ष, पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डेढ वर्ष, पुनः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एक वर्ष कार्यभार सम्हालेकी हुन् ।
निरौलाले सहसचिवमा नाम निकालेपछि कृषि मन्त्रालयको प्रशासनमा महाशाखा प्रमुखको रूपमा नौ महिना काम गरिन् । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहेर दुई वर्ष सेवा प्रदान गरेकी निरौला अहिले रामेछाप जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिरहेकी छिन् । पाँच महिनाबाट रामेछापमा प्रजिअको रुपमा कार्यरत उनी निजामती सेवालाई अवसरको रुपमा लिन्छिन् ।
महिलालाई निजामती क्षेत्रमा पनि चुनौती नै चुनौती
निजामती सेवामा पछिल्लो समय महिला अधिकृतको जमात पनि ठुलो रहेको छ । यस क्षेत्रमा आबद्ध अधिकृत तहका पुरुषलाई एक वर्ष र महिलाको हकमा ६ महिनाको परीक्षण काल रहने कानुनी व्यवस्था छ ।
पछिल्लो समय अहिले आरक्षणको प्रावधान राखिएकाले पनि महिलालाई निजामती सेवामा प्रवेश गर्ने महिलाहरूको संख्या वृद्धि भइरहेको छ ।
२० वर्ष अगाडीको नेपाली समाजको चेतना स्तरमा कमी भएकाले महिला र पुरुषबीच कार्यालयमा पनि विभेद हुन्थ्यो । त्यो अनुभव उनले पनि गरिन् । पुरुषले गर्न सक्ने क्षमता महिलामा नहुने जस्ता कुरा निकालेर महिलाको दक्षतामाथि प्रश्न उठाउने गरिन्थ्यो । महिलाहरूले बालबच्चा स्याहार्नु पर्ने, महिलाका प्राकृतिक तथा स्वाभाविक समस्याका कारण पुरुषसरह प्रभावकारी कार्यसम्पादन नहुने बताउँदै विभेद गर्ने समाजको मानसिकता थियो । सँगैका सहकर्मीहरूले पनि त्यस्तै व्यवहार देखाउँथे ।
तर अहिले समय फेरिएको छ । अहिले समाजमा महिलाप्रतिको विभेदको अन्त्य नभए पनि तुलनात्मक रुपले कम छ । महिलाहरू विभिन्न कार्यालयका हाकिम भएर जिम्मेवारी निर्वाह गरी अब्बल साबित भएका छन् । तर अझै पनि विभेद कायमै रहेको उनी बताउँछिन् । उनी भन्छिन्, 'महिलालाई पहिलेको तुलनामा विभेदको नजरले हेर्ने परिपाटि कम चाहिँ भएको छ तर अहिले पनि अलिअलि विभेद गरेको देख्न सकिन्छ ।'
नर्सिङको सपना अधुरो भएपछि बनिन् निजामती कर्मचारी
०५६ सालमा एसएलसी उत्तीर्ण गरेपछि निरौलाले स्टाफ नर्सको लागि वीर अस्पतालबाट प्रवेश परीक्षा पनि दिएकी थिइन् । तर परीक्षामा नाम निकाल्न असफल भएपछि उनले रत्नराज्य क्याम्पसमा भर्ना गएर पढाइलाई अगाडि बढाइन् । नर्सिङतिर लागेको भए उनी यतिबेला कहाँ हुन्थिन् थाहा छैन । तर त्यही प्रवेश परीक्षामा असफल भएपछि उनको यात्रा अन्तै मोडियो । र आज उनी नेपाल सरकारको सहसचिव पदका कार्यरत छिन् ।
क्याम्पस तहमा पत्रकारिता विषय पढेकी निरौलाले सोही विषयमा इन्टर्नसिप गर्ने क्रममा परिवारका सदस्यले पढाइमा अब्बल भएकाले सजिलै लोकसेवा पास गर्न सकिने बताउँदै उनलाई परिक्षा दिन सुझाव दिए । परिवारको सुझावलाई आत्मसात् गर्दै उनी निजामती क्षेत्रमा लागिन् । तर त्यतिबेलाको समयमा उनले जागिर गर्नुको उद्देश्य रोजीरोटी मात्र थियो ।
निजामती क्षेत्रमा केही वर्षको अनुभव बटुलेर उनले अफिसरमा नाम निकालिन् । अफिसरको अनुभव बटुलेपछि निजामती सेवाप्रति उनको रस बढ्दै जान थाल्यो । जनतालाई सेवा गर्दाको अनुभवले उनको निजामती क्षेत्रमा सेवा प्रवाह गर्ने क्षमता वृद्धि विकास भएको उनको बुझाई छ । उनको निजामती यात्रा सफल, परिपक्व भएकाले बढुवा पनि समयमै भएको हो । उनी भन्छिन्, 'अहिलेको मेरा सपना भनेको निजामती क्षेत्रमा कार्यकाल रहेसम्म जनतालाई प्रभावकारी सेवा प्रदान गर्नु हो ।'
निजामती सेवामा सुधार आवश्यक
निजामती सेवामा सुधार गर्नुअघि प्रत्येक व्यक्तिको मानसिकता रूपान्तरण गर्न आवश्यक भएको निरौलाले बताइन् । समाजसँग जोडिएका अंगहरू सुधार हुँदा क्रमशः निजामती सेवामा पनि रूपान्तरण र सुधार हुन्छ । 'निजामती क्षेत्रमा पनि समाजकै व्यक्ति आउने हुँदा व्यक्तिले आफ्नो मनोवृत्तिमा सुधार गरे प्रणाली, कानुन, विधि प्रक्रियामा सहजै सुधार हुन्छ', उनी भन्छिन्, 'सेवा प्रवाहलाई सरल तथा स्थिर बनाउन पत्रकार, राजनीतिक दल, कार्यालय प्रमुखहरूसँग नियमित छलफल गर्ने गरिरहेकी छु । सुधार गर्नु पर्ने ठाउँहरूको पहिचान गर्दै स्रोत साधनको सीमितताका बाबजुत गर्नुपर्ने कुराहरूमा ध्यान दिइरहेको छु ।'
यस्तो छ नयाँ पुस्तालाई सन्देश
निजामती सेवामा आउन चाहने जोकोही सेवा गर्छु भन्ने मानसिकता बनाएर आउन निरौला सुझाउँछिन् । निजामती सेवामा प्रवेश गरेर रातारात धन सम्पत्ति जोड्छु, घर बनाउँछु भन्ने सोच भएकालाई नआउन उनी सुझाव दिन्छिन् ।
जनताको सेवक बनेर प्रभावकारी तरिकाले सेवा प्रदान गर्ने उद्देश्य भए यो क्षेत्र उत्कृष्ट रहेको उनको बुझाइ छ । यस क्षेत्रमा आउन चाहनेले मेहनत, धैर्यता र सबै निकायमा काम गर्न सक्छु भन्ने संकल्प तथा मनोबललाई केन्द्रमा राखे सफल हुने उनी बताउँछिन् ।
सरकारको तलब सुविधाले एउटा परिवार चल्न गाह्रो हुने निरौलाको अनुभव छ । परिवार चलाउनका निम्ति अहिले श्रीमान् श्रीमती स्वतन्त्र भएर परिवार जागिरे हुनुपर्छ । अहिलेको गतिशील समाजमा व्यापार/व्यवसाय, निजी तथा सरकारी क्षेत्रमा जागिरे भएर पनि घर चलाउन सकिने उनी बताउँछिन् ।
स्वस्थ जीवनका लागि योगाभ्यास
प्रजिअ निरौला निजामती क्षेत्रमा अत्यन्तै व्यस्त भएता पनि समाजसेवाका लागि सधैँ प्राथमिकता दिने व्यक्ति हुन् । उनी आफैं पनि योगकी प्रशिक्षक हुन् । योग तथा ध्यानको माध्यमबाट मानिसहरूको शारीरिक स्वास्थ्य, कर्ममा कुशलता ल्याउने सोच वृद्धि हुने र समाजमा भएका विकृति तथा विसङ्गति हटाउन सम्भव रहेको उनको बुझाइ छ । त्यसैगरी उनी आफैं यस विषयमा काम गर्दै रूपान्तरणको अभ्यासमा लागिरहेकी छिन् ।
रामेछाप जिल्लामा दैनिक योगा, प्राणायाम, ध्यानको प्रशिक्षण गराउने गरेको उनले बताइन् । जिल्लामा आत्महत्याको संख्या बढेको हुनाले मनोसामाजिक परामर्शको आवश्यक रहेको उनको बुझाइ छ । उनी समाजमा भएका मानिसहरू आत्म मूल्यांकन गर्नुपर्ने भन्दै वकालत गर्दै आएकी छिन् । उनी भन्छिन्, 'समाजमा भएका व्यक्तिले आफ्ना मनमा भएका कुराहरू बुझेन भने पछि मानसिक समस्या भएर परिवारमा द्वन्द्व, लागूपदार्थ दुर्व्यसनी जस्ता परिणामहरू आउन सक्छन् ।'
प्रजिअको रुपमा जिल्ला प्रशासन कार्यालय, रामेछाप पुगेपछि उनी आफै कार्यालयका कागजात व्यवस्थित गर्ने अभियानमा जुटिन् । उनीसँगै कार्यालयका सबै कर्मचारी धुलो मैलो नभनी नागरिकको विवरण सुरक्षित राख्न प्राथमिकता साथ लागे ।
उनी भन्छिन्, 'जिल्ला प्रशासन कार्यालयमा रहेका नागरिकताका अनुसूची, अभिलेख , संस्था दर्ता जस्ता अन्य महत्त्वपूर्ण अभिलेख मेरो र जिल्ला प्रशासन कार्यालयका सम्पूर्ण कर्मचारीको प्रयासमा मिलाएर र्याकमा सुरक्षित राख्ने काम २ महिनाको मेहनतमा सम्पन्न भएको थियो ।'
निरौलाले वडा नं ४ हिमगंगाका फरक क्षमता भएका व्यक्ति र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता दिइएकी थिइन् । वडाको समन्वय र कागजपत्रहरू पुरा भएको व्यक्तिलाई नागरिकताको वितरण गरेको उनले बताइन् । जिल्लामा मानसिक स्वास्थ्यका लागि विभिन्न कार्यक्रममार्फत जनचेतना फैल्याउने काममा समेत उनी लागेकी छिन् ।