काठमाडौं । हुलाक बचत बैंकका कर्मचारीले बचतकर्ताको करोडौं रुपैयाँ लिएर फरार भएका छन् । जनकपुरधाममा रहेको जिल्ला हुलाक कार्यालयमा सञ्चालित हुलाक बचत बैंकका कर्मचारी सुनिल कुमार दासले बचतकर्ताको करोडौं रुपैयाँ लिएर फरार भएका हुन् ।
सरकारले उक्त बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेपछि कर्मचारी सुनिल कुमार दास साउन १४ गतेदेखि बैंकमा ताल्चा लगाएर फरार भएका हुन् ।
बचतकर्ताको रकम र हिसाबको कागजातसहित उनी फरार छन् । बैंकमा बचतकर्ताहरुको करोडौं रुपैयाँ रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार दासले बचतकर्ताबाट लिएको रकमपनि बैंकको केन्द्रीय कार्यालय धनादेशमा जम्मा नगरेको पाइएको छ ।
अवकाश प्राप्त कर्मचारी जनकपुरधाम ४ निवासी दिपनारायण साह भन्ने दिपो साहले सो बैंकमा २०६५ सालदेखि गएको असार मसान्तसम्म १० लाख १२ हजार रुपैयाँ जम्मा गरेका छन् ।
तर, धनादेश कार्यालयमा धनुषास्थित ५ सय २५ बचतकर्ताको हालसम्म ८ लाख ८८ हजार ९ सय १२ रूपैया मात्र जम्मा छन् ।
'कर्मचारी दास फरार भएपछि आफ्नो रकमको जिम्मेवारी न त हुलाक कार्यालयले लिइरहेको छ, न राष्ट्रिय वाणिज्य बैंकले नै', दिपनारायणले मलिन अनुहार बनाउँदै भने ।
दिपनारायण जस्ता ती कार्यालयका अन्य कर्मचारी पनि अलपत्र परेका छन् । बैंकका कर्मचारी नै फरार भएपछि रकम कहाँबाट लिने भन्ने कुनै पत्तो छैन् ।
कार्यालय प्रमुख साहसँग बचतकर्ताको रकम उपलब्ध कसले गराउने बारे जिज्ञासा राख्दा उनले आफूलाई यसबारेमा केही थाहा नभएको बताउँछन् । उनी भन्छन्, ‘गएको जेठ महिनामा म यहाँ आएको हो । बैंकको सम्पूर्ण कार्यभार दासले सम्हालिरहेका थिए ।’
धनादेशका सूचना अधिकारी शालिकराम बस्यालका अनुसार साहले गएको २० गते मात्रै २ लाख र गत वर्ष फागुन ५ गतेका दिन ६० हजार रुपैयाँ जम्मा गरेका छन् । साहसँग जम्मा गरेको सबै रकमको बिल रसिद छ । तर दासले धनादेशमा सो रकम जम्मा गरेका छैनन् ।
जिम्मेवारीबाट पन्छिँदै सम्बन्धित निकाय
हुलाक कार्यालय प्रमुख जस्तै सम्बन्धित सञ्चार मन्त्रालय, हुलाक सेवा विभाग र धनादेश बचतकर्ता रकम उपलब्ध गराउने जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले यो जिम्मेवारी हुलाक विभागको रहेको र त्यहाँ नै सम्पर्क गर्नुपर्ने बताउँछन् ।
यस्तै हुलाक सेवा विभागमा सम्पर्क गर्दा विभागका सूचना अधिकारी ध्रुवराज आचार्यले हुलाक बचत हेर्ने जिम्मा केन्द्रीय कार्यालय धनादेशको रहेको बताउँछन् ।
धनादेश केन्द्रीय कार्यालयका सूचना अधिकारी बस्यालले छानबिनका लागि कर्मचारी समेत खटाइएको बताए । छानबिन टोलीले बुझाएको प्रतिवेदन अनुसार दास र कार्यालय प्रमुख साहबीच सम्बन्ध राम्रो नरहेको उल्लेख छ ।
‘घटनामा के कसो छ हामी पनि बुझ्नुका साथै कर्मचारी दासको पनि खोजी प्रक्रिया यथाशिघ्र नै सम्बन्धित निकाय मार्फत अघि बढाउनेछौं’, उनले भने । इ–कागजबाट साभार