काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउने समयावधि ५ वर्ष हुने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ‘उमेर, नाम, जात सच्याउने नियमहरू, (तेस्रो संशोधन) २०८०’विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले समयावधि ६ महिना मात्रै हुँदा धेरै विद्यार्थी समस्यामा परिरहेकोले त्यसलाई संशोधन गरेर कम्तिमा पाँच वर्ष समयावधि राख्नुपर्ने भन्दै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो ।
बोर्डको पहलमा गृह मन्त्रालयले नियमावली संशोधन गर्नुपर्ने कुराहरू पहिचान गरेर बोर्डलाई सुझाव पठाएपछि त्यसमा बोर्डले थप सुझाव सहित गृहमा पठाएको थियो ।
कुनै विद्यार्थीले प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको अवस्थामा आफ्नो वा बाबु आमाको नाम वा थर वा नाम थर संशोधन गराएकोमा सो बमोजिम एसईई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नाम थर सच्याउन चाहेमा एक पटकको लागि एक वर्षभित्र दरखास्त दिन सक्ने व्यवस्था गरेको छ ।
नाम, थर, उमेर सच्याउन चाहने विद्यार्थीले प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्ने र प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्ने व्यवस्था थियो ।