काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पवनकुमार साहलाई सरकारी सेवामा आएर काम गर्छु भन्ने सोचेका समेत थिएनन् । उनी एमबिबिएस गरेपछि विदेशमा पढ्न जाने र उतै बस्ने सोचमा थिए । २०५४ सालमा सिरहाबाट एसएलसी पास गरेका साह काठमाडौं आएर विश्व निकेतन कलेजमा विज्ञान विषय अध्ययनका लागि भर्ना भए ।
उनलाई परिवारको पूर्ण सहयोग थियो तर, नेपाली माधम पढेकाले साइन्स पढ्न उनलाई गाह्रो भयो । तर पनि उनले कोसिस गरे । नेपालगन्ज मेडिकल कलेज बाँकेमा एमबिबिएस पढ्न भर्ना भए । एमबिबिएस राम्रो अंक ल्याएर पास गरेपछि उनले पहिलो पटक त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा आएर कामको सुरुवात गरे ।
इमरजेन्सी मेडिकल अफिसर भएर काम गरेका साहलाई त्यही बेला लोकसेवा पढ्नुपर्छ भन्ने चाहना जागेको हो । विदेश जाने भन्दा पनि नेपालमै बसेर नेपालीको सेवा गर्ने चाहना बढ्दै गयो र उनले नेपालमा नै केही गर्ने सोच बनाए ।
टिचिङ अस्पतालमा काम गर्दै गर्दा उनले सरकारी सेवामा नाम निकाले । २०६६ सालदेखि उनी मेडिकल क्षेत्रको सरकारी सेवामा कार्यरत छन् । उनी विगतलाई यसरी सम्झन्छन्, 'मेरो साथीले लोकसेवाको फाराम भरिदियो संयोगवश उ फेल भयो म पास भए ।'
सरकारी डाक्टर भएपछि उनको पहिलो पोस्टिङ बाँकेमा भएको थियो । नचाहँदा–नचाहँदै स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका डा. साहलाई सुरुको १ वर्ष भने सरकारी सेवा छाडेर विदेशतिर जाऊँ जाऊँ समेत लागेको थियो । तर उनले आफूले आफूलाई नै सम्झाउँदै गए र स्वदेशमै बसेर बिरामीको सेवा गर्ने निर्णय लिए ।
बाँकेमा त्यो बेला दुई जना मात्र सरकारी डाक्टर थिए । पछि एक जनाको अन्यत्र सरुवा भएपछि उनी एक्लैले जनस्वास्थ्य र जिल्लाको सबै स्वास्थ्य सेवा हेर्नुपर्ने अवस्था बन्यो । त्यसकारण उनीले चाहेर पनि जागिर छाड्न सकेनन् ।
२०७२ सालमा काठमाडौंबाट उनले एमडिजीपी अध्ययन पुरा गरे । अध्ययन पूरा भएपछि उनी पाँचथर अस्पताल गएर बिरामीको सेवामा लागे । त्यहाँ ३ वर्ष जनस्वास्थ्य प्रमुख र मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेपछि उनी उदयपुरको गाईघाट अस्पतालमा काम गर्न गए । त्यहाँबाट उनको सरुवा उदयपुरकै कटारी अस्पतालमा भयो । कटारी अस्पतालपछि उनले राष्ट्रिय एड्स तथा यौन रोग विभागमा एक वर्ष काम गरे ।
हाल उनी १० औं तहको सिनियर उपसचिवका रुपमा स्वास्थ्य मन्त्रालयमा काम कार्यरत उनी अझै पनि दुर्गम गाउँमै आफू गएर सेवा गर्न चाहन्छन् ।
दुर्गमका बिरामीको सेवा गर्ने चाहना
डा. साहलाई आफूलाई बिरामीको सेवा गर्न पाउँदा आनन्द महसुस गर्छन् । नीति निर्माणको बारे सरकारसँग छलफल तथा अन्तरक्रिया गर्न र स्वास्थ्यमा देखिएका समस्याहरूको बारेमा आफ्ना अनुभव साट्न मन पराउने उनी आफूले छुट्टै किसिमको अनुभव बटुलिरहेको बताउँछन् ।
उनी आफ्नो मन्त्रालयको कार्यकाल सकिए पनि पुनः दुर्गम जिल्ला तिरै गएर सेवा गर्ने बताउँछन् । उनी भन्छन्, ‘आफूसँग जुन योग्यता छ, त्यसलाई प्रयोग गर्न मन छ । अहिले पनि सधैँ अप्रेसन गरेर बसेको हात यहाँ त फालेर बसेको जस्तो भइरहेको छ ।’
समाजसँगै स्वास्थ्यलाई नजिकबाट नियाल्नका लागि दुर्गम क्षेत्रमा डाक्टरले काम गर्नुपर्नेमा उनले जोड दिए । दुर्गम क्षेत्रमा जान नमान्ने कर्मचारीको परिपाटीमा पछिल्लो समय केही सुधार आएको छ । यसले गर्दा पनि अहिले दुर्गममा रहेका जनताले केही हदसम्म सरकारी स्वास्थ्य सेवा लिन पाएका छन् ।
डा. साह दुर्गम जिल्लामा रहेर आफूले काम गरेको स्मरण गर्दै आफूले नसुनेका नदेखेका साना ठुला रोगहरू पत्ता लाग्दा यसले आफूलाई यस क्षेत्रमा लाग्न थप प्रेरणा मिल्ने बताउँछन् । दुर्गम क्षेत्रमा गुणस्तरीय तथा राम्रो सेवा दिन सक्यो भने उनीहरूले भगवान् भन्दा पहिले डाक्टर सम्झने कारण आफूलाई सन्तुष्ट पैदा हुने उनको भनाई छ ।
दुर्गममा सेवा दिँदा चिकित्सकलाई जनताले गरेको सम्मानले आफ्नो पेसाप्रति गर्व लाग्ने उनी बताउँछन् । उनी भन्छन्, ‘दुर्गममा राम्रो सेवा दिन सकियो भने बिरामीहरू अन्यत्र रिफर हुने सम्भावना समेत कम हुन्छ । यसले उहाँहरूलाई पनि फाइदा गर्छ आफूलाई पनि ।’
दुर्गमका गरिब दुखीलाई सेवा गर्नु भनेको डाक्टरले पनि नयाँ–नयाँ अनुभव बटुल्नु तथा सेवामा पनि आफूलाई निखार्नु हो ।उनी भन्छन्, ‘अहिले त दुर्गममा नियमित जानुपर्ने भइसकेको छ । त्यसले गर्दा प्राय जिल्ला अस्पतालमा सम्बन्धित विषयका चिकित्सक पुगिसकेका छन् ।’
चिकित्सकले सेवाको भावनाले काम गर्नुपर्ने उनको भनाई छ । चिकित्सकले सुगममा रहेर भन्दा पनि दुर्गममा गएर अनिवार्य सेवा दिनुपर्ने प्रणालीको विकास गर्दै लगेमा यस क्षेत्रमा सोचेभन्दा बढी सुधार हुने उनको बुझाई छ । उनी भन्छन्, ‘मलाई सेवा गर्न क्लिनिकल टाइपको अस्पताल मिस भइरहेको छ ।’
डा साहले सरकारी सेवामा आमूल परिवर्तन भएको भन्दै जनतालाई सरकारी अस्पतालमा उपचार गर्न समेत अनुरोध गर्छन् ।
नेपालमा कस्ता रोगका बिरामी बढी देखिएका छन् ? यस्ता छन् बच्ने उपाय
विगत केही समययता नेपालमा विभिन्न स्वास्थ्य समस्या देखिँदै आएको छ । विश्वभर फैलिएको कोभिड–१९ बल्ल सामान्य हुँदै गर्दा अहिले नेपालमा डेंगी रोगको संक्रमण फैलिँदै गएको छ । डेंगु रोग फैलिँदै जाँदा मानिसहरू त्रसित बनेका छन् । कोरोनाको कारणले मुलुकको आर्थिक तथा सामाजिक अवस्था शिथिल भएको अवस्थामा डेंगु संक्रमण बढ्दै गएको छ । जसका कारण केहीले अकालमै ज्यान समेत गुमाइरहेका छन् ।
पछिल्लो समय नेपालमा मनसुनको आगमनसँगै डेंगु रोगको महामारी फैलिँदै गएको छ । काठमाडौं उपत्यकासहित देशभर अहिले डेंगी संक्रमण फैलिएको छ । काठमाडौं महानगरपालिकाले पनि डेंगी रोग नियन्त्रणका लागि नेपालमा पहिलो पटक लामखुट्टेको लार्भा नष्ट गर्न वायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागेको छ । आसा गरौँ महानगरपालिकाको यो अभियानले सार्थकता पाउने छ ।
यी र अहिले देखिएका रोगको संक्रमणसँगै नेपालमा क्यान्सर, सुगर, प्रेसर तथा मानसिक रोग पनि बढ्दै गएको छ ।
मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साह पछिल्लो समय कतिपय युवाले चाहेको कुरा पुरा गर्न नसक्दा विभिन्न प्रकारका मानसिक रोगको सिकार हुनुपरेको कुरामा सहमत छन् ।
'मानिसले गरेको आशा पुरा गर्न सकेन भने डिप्रेसनको समस्या देखिन थालेको छ । एउटा व्यक्तिले अर्को व्यक्तिसँग 'म किन उ जस्तो भइन' भनेर तुलना गर्दा पनि यस्ता खालका समस्याहरू आएका छन्', उनी भन्छन्, 'यो समस्याको समाधान भनेको आफू जे छु त्यसमा खुसी हुनु हो । यति भयो भने यो मात्रै होइन धेरै रोगहरूबाट हामी सजिलै बच्न सक्छौँ ।'
डा. साहका अनुसार पछिल्लो समय क्यान्सर रोग पनि नेपालीहरूमा चरम रूपमा देखिन थालेको छ । ‘क्यान्सर पनि पहिलाको तुलनामा बढेर गएको छ । डाइग्नोसिस गर्ने टुल्सहरू जताततै पाइएको हुनाले तत्काल थाहा हुने अवस्था छ । पछिल्लो समय शारीरिक व्यायाम कम गर्ने तथा जीवनशैली र खानपानमा ख्याल नगर्ने परिपाटी छ । यसलाई परिवर्तन गरेर अगाडि बढ्नुपर्छ’, उनी भन्छन्, ‘मोबाइलको प्रयोगको कारणले पनि अत्याधिक मात्रामा क्यान्सरको जोखिम हुन सक्ने छ ।’
रक्सी चुरोट लगायतका कुराहरू सेवन गर्ने बानी, प्रदूषण, फोहोर, धुवाका कारण गाउँ भन्दा सहरी इलाकामा पनि बढिरहेको उनको भनाइ छ । बिलासी जीवन काम नै गर्न नखोज्ने परिपाटिका कारण पनि अन्य रोगहरू प्रेसर, सुगर, ग्यास्ट्रिक, लिभर, मुटु रोग लगायतका समस्याहरू समेत देखिएको उनी बताउँछन् ।
यी सबैबाट बच्नका लागि आजैबाट आफ्नो जीवनशैलीमा परिवर्तन गर्न आवश्यक रहेको उनी बताउँछन् ।
यस्ता छन् स्वास्थ्य क्षेत्रका जटिलता
नेपालको स्वास्थ्य अवस्था हेर्दा अधिकांश शहरी इलाकामा बस्ने मान्छेहरूमा जीवनशैलीसँगै खानपिनमा ध्यान दिनुपर्ने उनको सुझाव छ । स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम गर्नुका साथै कुनै रोग लागेको शंका लागेमा तत्काल परीक्षण गर्न डा. साह सुझाउँछन् ।
उनी भन्छन्, 'सकेसम्म रोग लाग्न नदिन समयमै उपायहरू अवलम्बन गर्नुपर्छ । सबैले समय–समयमा स्वास्थ्य जाँच गर्न आवश्यक छ । समय–समयमा आफ्नो स्वास्थ्य जाँच गराएमा समयमै रोग लाग्नबाट बच्न सकिन्छ । रोग लागिहाले पनि उपचार गर्न सकिन्छ ।'
नेपालमा खुल्ला रूपमा नै सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरण भइरहेको छ । पछिल्लो समय युवा पुस्ता कुलतमा फस्ने गरेको आँकडामा पनि देख्न सकिन्छ । यसलाई सरकारले गम्भीर भएर सोच्नु पर्ने बेला आएको उनी बताउँछन् ।
डा. साह भन्छन्, ‘नेपालमा मादक पदार्थ र सुर्तीजन्य सेवनकर्ताहरू प्रयोग गर्नेमा बढी युवा समुदाय बढी देखिन्छन् । नेपालमा मादक पदार्थ र सुर्तीजन्य बिक्री वितरणमा कडाइ छैन । सडकहरूमा हुने धुलो धुवाबाट जोगिने पनि कुनै उपाय भएन । गाउँ–गाउँमा समेत मानसिक समस्याहरू देखिन थालेका छन् ।’
जनचेतनाको कमीका कारण पनि मानिसहरूलाई रोग लाग्ने गरेको उनको भनाई छ । सरकारले स्वास्थ्य क्षेत्रलाई सुधार गर्नका लागि धेरै कुरामा ध्यान दिन आवश्यक छ । सरकारले जनताको स्वास्थ्य सुरक्षालाई ध्यान दिने हो भने मादक पदार्थ र सुर्तीजन्य सेवनलाई अझै कडाइ गर्नुपर्ने डा.साहको सुझाव छ ।
डब्लुएचओको सिद्धान्त अनुसार स्वास्थ्यमा टोटल बजेटको १० प्रतिशत बजेट सरकारले छुट्याउनु पर्छ । डा साह भने त्यसअनुसारको बजेट स्वास्थ्यमा नपुगेको बताउँछन् । संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क गर्ने भनिएको छ । जसका कारण समुदायमा सरकारप्रति ठुलो आशा पनि छ । तर स्वास्थ्यमा दरबन्दी अनुसारको भौतिक सामान र जनशक्ति पुग्न भने सकेको छैन ।
तर उनी पहिलेको तुलनामा देशमा स्वास्थ्यले ज्यादै फड्को मारेको अवस्था भए पनि त्यो पर्याप्त नभएको बताउँछन् । उनी भन्छन्, ‘बजेट पनि स्वास्थ्यको लगी पर्याप्त छैन । देश आर्थिक संकटमा छ । दिन दिनै सेवा बढेकाले गुणस्तरीय स्वास्थ्य प्रधान गर्न र बेसिक हेल्थका प्याकेजहरू फ्री गर्ने कुरा भइरहेको नै छ ।’
सरकारी स्वास्थ्य संस्थामा सेवा सुविधा बढेपनि सरकारी अस्पतालको केही व्यवस्थापन कमजोर महसुस भएर निजी संस्थामै बिरामी जाने गरेकोले यसलाई नियमन र अनुगमन सरकारले गरिरहेकाे बताउँछन् । तर पहिलेकाे तुलनामा हाल सुधार हुँदै गएकाले नागिरकले सरकारी अस्पतालमै उपचार गराउँन थालेकाे देखिने उनी बताउँछन् ।
स्वास्थ्य बिमा पनि सही ढंगले अगाडि बढ्न नसकेको उनको भनाई छ । सबै नेपालीलाई स्वास्थ्य बिमा गर्न समेत उनी सुझाव दिन्छन् ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पनि नागरिकको स्वास्थ्यमा निकै गम्भिर भएकाले मन्त्रालयले स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन गर्ने खालका योजनाहरू ल्याएको बताउँछन् । उनी आफू स्वास्थ्य बुझेको मन्त्रीसँग काम गर्न पाउँदा आभार प्रकट गर्छन ।