चिकित्सा आयोग भन्छ- नेपालमा ५६ हजार स्वास्थ्यकर्मीको कमी छ

चिकित्सा आयोग भन्छ- नेपालमा ५६ हजार स्वास्थ्यकर्मीको कमी छ

काठमाडौं । नेपालका स्वास्थ्य संस्थाहरूमा ५५ हजारभन्दा बढी स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ । 

चिकित्सा शिक्षा आयोगले गरेको एक अध्ययनअनुसार ५६ हजार ५० स्वास्थ्यकर्मीको अभाव रहेको देखिएकाे हाे ।

आयोगले उक्त अध्ययनलाई ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९-२०८७)’ नाम दिएको छ। 

आयोगले आर्थिक वर्ष २०७७/०७८ लाई आधारमा मानेर आवश्यक जनशक्तिको अध्ययन गरेको हो । 

चिकित्सा शिक्षा अध्ययन गराउने संस्था, विशिष्टीकृत अस्पतालदेखि आधारभूत अस्पताल र निजी अस्पतालसम्म आवश्यक जनशक्तिको अध्ययन गरिएको हो ।

अध्ययनअनुसार नेपालमा सबैभन्दा बढी एमबिबिएस चिकित्सक २९०४ जना कम रहेका छन् । यसैगरी, विशेषज्ञ चिकित्सक ५ हजार ७७९ जना कम छन् । अपुग जनशक्ति पूर्ति गर्न औसतमा एमबिबिएसतर्फ ३.०८ प्रतिशत र कन्सल्ट्यान्टतर्फ ६.४१ प्रतिशत वृद्धि गर्नुपर्ने अध्ययनमा औंल्याइएको छ ।

को नर्सिङ जनशक्ति (स्नातकोत्तर तह) २४२, नर्सिङ जनशक्ति (स्नातक तह) ६९८ जना र नर्सिङ तथा प्रसुति सम्बन्धि सहायक (प्रमाणपत्र) २ हजार ९२५ जना अपुग छन् । नर्सिङ स्नातकोत्तरतर्फ ११.९५ प्रतिशत, नर्सिङ सहायक स्नातकतर्फ ४.९७ प्रतिशत र नर्सिङ तथा प्रसुति सम्बन्धि सहायक प्रमाणपत्र तहतर्फ १.३१ प्रतिशतले जनशक्ति उत्पादनमा औसत वृद्धि गर्नुपर्ने निष्कर्ष अध्ययनको छ ।

अध्ययनअनुसार हाल नेपालमा १ लाख ७८ हजार ३०९ स्वास्थ्यकर्मी कार्यरत छन् । 

वि.सं. २०८७/८८ सम्म स्वास्थ्यकर्मीको संख्या २ लाख ५७ हजार ९१ पुग्ने प्रक्षेपण गरिएको छ । 

त्यसमा स्वास्थ्य संस्थाहरुमा कार्यरत श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ कर्मचारी, सवारी चालक आदि जोड्दा अहिले स्वास्थ्य जनशक्ति २ लाख ११ हजार ९७७ रहेकोमा २०८७/८८ सम्म यो संख्या ३ लाख १ हजार ८९५ पुग्ने प्रक्षेपण छ ।

-हेल्थआवाजको सहयोगमा