काठमाडौं । चार देश सम्मिलित टी–२० सिरिजमा नेपाली महिला क्रिकेट टिम समूह चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको छ । पराजय भएपनि नेपाल फाइनल खेल खेल्नेछ । दुई दुई खेलमा जित निकालेका नेपाल, हङकङ र मलेसियाको समान ४–४ अंक हुँदा रनरेटमा अघि रहेका नेपाल र हङकङ फाइनलमा पुगे ।
फाइनल शनिबार हुनेछ ।
नेपाललाई शुक्रबार घरेलु टिम मलेसियाले डिएल मेथडमा ६ विकेटले पराजित गर्यो । वर्षाले प्रभावित खेलमा १८ ओभरमा ८५ रनको लक्ष्य मलेसियाले ४ विकेट गुमाएर १६.२ ओभरमा पूरा गर्यो ।
मलेसियाका लागि अइना हसिमले नटआउट ३७ रन तथा इजाती इम्माइलले २१ रनको योगदान दिए ।
बलिङमा नेपालकी पूरा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ८३ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३ रन, इन्दू बर्माले २० रन र काजल श्रेष्ठले १८ रनको योगदान गरे ।
सिरिजपछि नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्नेछ । मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् ।