काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि ९ जना प्राध्यापक/ चिकित्सकले आवेदन दिएका छन् ।
भदौ २६ बाट उपाध्यक्ष श्रीकृष्ण गिरीको ४ वर्षे कार्यकाल पूरा हुँदैछ । त्यसपछिको ४ वर्षे कार्यकालका लागि उपाध्यक्ष नियुक्ति गर्न सरकारले नाम सिफारिस समिति गठन गरेको छ ।
सिफारिस समितिले साउन २६ गते दरखास्त आह्वान गरेको थियो । सो समयमा ९ जनाको आवेदन परेका समितिले जनाएको छ । मन्त्रिपरिषद्ले लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
त्यसमा सरकारले मनोनीत गरेको एक जना विज्ञ प्राध्यापक चिकित्सक र प्रधानमन्त्री कार्यालयका सचिवसदस्य रहने व्यवस्था छ । विज्ञ प्राध्यापकमा नेपाली सेनाको मेडिकल कलेजका प्राध्यापक लोचना श्रेष्ठ नियुक्त भइसकेकी छन् ।
शिक्षा मन्त्रालय उच्च स्रोतका अनुसार दरखास्त दिने अन्तिम दिन शुक्रबारसम्म उपाध्यक्ष गिरीसहित ९ जनाको निवेदन परेको हो । उनलाई ४ वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारले उपाध्यक्षमा नियुक्ति गरेको थियो । उनले समेत पुनः उपाध्यक्ष बन्न निवेदन दिएका छन् ।
काँग्रेस निकट नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष अञ्जनीकुमार झाको पनि आवेदन परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति संगीता सिंह भण्डारीको पनि आवेदन परेको बताइएको छ ।
त्यस्तै पूर्वस्वास्थ्य सचिव प्रवीण मिश्रले पनि आवेदन दिएका छन् । सिभिल अस्पतालका डाइरेक्टर विधाननिधि पौडेल, ट्रमा सेन्टरको पूर्वडाइरेक्टर प्रमोदकुमार यादव, केएमसी अस्पतालका प्राध्यापक सुमनकुमार श्रेष्ठ, बीएण्डबी अस्पतालका चिकित्सक वीरेन्द्रप्रसाद यादव, वीर अस्पतालका चिकित्सक पीयूष दाहाल र प्राध्यापक डाक्टर सुमनकुमार श्रेष्ठले आवेदन दिएको जनाइएको छ ।
उपाध्यक्ष बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा २० वर्षको अनुभव भएको वा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवामा क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ ।