काठमाडौं । कुवेतको एक निजी अस्पतालमा रोजगारीका लागि भन्दै गरिएको विज्ञापनमा आशंका लागेपछि वैदेशिक रोजगार विभागले विज्ञापन गर्ने उक्त कम्पनीमा छापा मारेको छ ।
नेपाली विशेषज्ञ चिकित्सकलाई कम्तीमा ७ लाखदेखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब दिने भन्दै गरिएको विज्ञापनलाई लिएर विभागले उक्त विज्ञापन गर्ने कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।
ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेड नामक कम्पनीले उक्त विज्ञापन गरेको थियो । श्रम स्वीकृति समेत नलिई झण्डै १ हजारको संख्यामा डाक्टर कुवेत पठाउने भन्दै विज्ञापन गरेपछि विभागले उक्त कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो ।
विभागले बिहीबार अनुगमन गरी सम्पूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । 'विभागबाट श्रम स्वीकृति नलिई विज्ञापन गरेको पाएपछि हामीले अनुगमन गरेर कागजात समेत ल्याइ अनुसन्धान गरिरहेका छौं', उनले भने, 'के कति कामदार पठायो भन्ने अध्ययन गरेर हामी कारबाहीको दायरमा ल्याउँछौँ ।'
श्रम स्वीकृति नलिई विज्ञापन गरेमा विभागले ५० हजार रुपैयाँ जरिवाना गर्ने सक्ने कानुनी व्यवस्था छ । तर, ओमेगाको हकमा के-कति कारबाही हुने भन्नेबारे अध्ययनपछि मात्र भन्न सकिने महानिर्देशक दाहालले बताए । शंकास्पद विज्ञापन
नेपालबाट एकैपटक आकर्षक तलबको अफर दिएर विज्ञापन गरेको सार्वजनिक भएपछि धेरैले चासो दिएका थिए । उक्त विज्ञापनबारे चासोका साथै शंका पनि उब्जियो । त्यही शंकाको आधारमा विभागले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगाले केही दिनअघि कुवेतमा ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको सूचना निकालेको थियो ।
ओमेगाले सार्वजनिक गरेको सूचनाअनुसार कुवेतको धामन अस्पतालमा काम गर्ने गरी विभिन्न ७ वटा विभागमा विशेषज्ञ डाक्टरहरू माग गरिएको छ। एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिस्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिस्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ ।
९७५ जना चिकित्सक पहिलो चरणमा २ वर्षका लागि माग गरिएको ओमेगाले जनाएको छ ।
यो समाचार स्वास्थ्यखबरमा छ ।