काठमाडौं । पुर्चौडी नगरपालिका बडगाउँ, बैतडीस्थित श्री गलिनाथ माध्यमिक विद्यालय वि.सं. २०२७ साल माघ १५ गते स्थापना भएको हो । कक्षा १० सम्म अध्ययन अध्यापन हुने विद्यालयमा ५०० विद्यार्थी अध्ययनरत छन् । ०६६ बाट उक्त विद्यालय माध्यामिक तहमा स्तरोन्नति भएको हो ।
विद्यालयको नेतृत्व दिनेश नागारीले गरिरहेका छन् । ०७९ असारबाट प्रधानाध्यापकको कार्यभार सम्हालिरहेका नागारीसँग व्यवस्था डटकमका लागि सुरज पराजुलीले गरेको शैक्षिक क्षेत्रसँग सम्बन्धित कुराकानीको सम्पादित अंश:
सामुदायिक विद्यालय सञ्चालन गर्न के-कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने रहेछ ? यो एक वर्षको अनुभवले के बताउँछ ?
सामुदायिक विद्यालय सबैको भएर पनि कसैको हुन सकेको छैन । सामुदायिक विद्यालयप्रति अभिभावकहरूमा सचेतताको कमी देखिन्छ । निजी विद्यालयमा बच्चा पठाउँदा ठुलो तामझाम गर्ने, पुर्याउन र ल्याउन जाने, ठुलो लगानी गर्ने गरिन्छ । सामुदायिक विद्यालयमा जाने बच्चालाई भने त्यति महत्त्व दिइँदैन । विद्यार्थी विद्यालय गएकै छन्, पढेकै छन् भन्ने मानसिकता रहेको छ । कम्तीमा विद्यालयमा अभिभावकहरू आउनुपर्यो । आफ्नो बच्चाको भविष्यको बारेमा सोध्ने, शैक्षिक गुणस्तरबारे बुझ्ने गर्नुपर्छ ।
विद्यालय भनेको समुदायको सम्पत्ति, साझा संस्था हो । विद्यार्थी कक्षा १ बाट भर्ना भएर कक्षा १० सम्म पुगुन्जेल बेवास्ता गरिन्छ । र, कक्षा १० मा एसइईको नतिजा आएपछि विद्यालयलाई दोषारोपण गर्ने गरिन्छ । यसरी एक किसिमको द्वन्द्व सिर्जना हुने गर्छ ।
सामुदायिक विद्यालयमा नीतिगत चुनौतीका कुराहरू पनि छन् । तीन तहका सरकार छन् उनीहरूको आ-आफ्नै प्रणाली छ । कतिपय अवस्थामा कानूनले पनि बाँधिएको हुन्छ । शैक्षिक व्यवस्थापनका कुराहरू भौतिक रूपमा या जनशक्तिको दृष्टिकोणको हिसाबले सामुदायिक विद्यालयमा जटिलता नै छ ।
विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेन भन्ने कुरा पनि होलान् । त्यसैले समग्रमा एउटै कुरा समस्या भने होइन । अनुशासित विद्यार्थी भएनन्, समर्पित शिक्षक भएनन्, सचेत अभिभावक भएनन्, चुस्त दुरुस्त समिति भएन, पारदर्शी शैक्षिक नेतृत्व भएन । सबै कुरा विद्यालय सञ्चालनका चुनौती रहेका छन् । यद्यपि सुधार हुने क्रम जारी छ, परिवर्तन हुन्छ तर, समय भने लाग्छ ।
तपाईं आएपछि विद्यालयमा के कस्ता परिवर्तन आएका छन् ?
म यस विद्यालयमा आबद्ध भएको एक वर्ष भयो । मैले पुर्चौडी नगरपालिकामा करिब ५ वर्ष शिक्षा शाखामा पनि काम गरेको छु । विद्यालय विद्यार्थीका लागी आकर्षण स्थल बन्नुपर्छ भन्ने मलाई लाग्छ । पढाईको सन्दर्भमा या समय व्यवस्थापनको हिसाबमा होस् विद्यालय तनावको क्षेत्र बन्नु हुँदैन ।
विद्यार्थीको बाल मनोविज्ञान बुझेर अध्ययन अध्यापन गराउनुपर्छ । सिकाई भनेको गणित या विज्ञानका कुरा जान्नु मात्र होइन । विद्यालयले विद्यार्थीको प्रतिभा, क्षमता र सम्भावना पहिचान गरेर बाहिर ल्याउनुपर्छ । विद्यालयबाटै नाच्न, गाउन, हिँड्न, खेल्न, लेख्न, अरूसँग व्यवहार गर्न सिक्नुपर्छ । यस्ता कुरालाई विचार गरेर हामीले बालमैत्री कार्यक्रम सञ्चालन गरेका छौं । आत्मविश्वास बढाउन एसेम्बलीमा विद्यार्थीहरूलाई बोल्न लगाउने गर्छौं ।
विभिन्न व्यक्तिहरूले आर्थिक, फर्निचर तथा शैक्षिक सामग्री प्रदान गरेर सहयोग गरेका छन् । म आएपछि नगरपालिकाबाट प्रोजेक्टर लगायत सामग्री उपलब्ध गराइएको छ ।
माहौल परिवर्तन भइरहेको छ । यद्यपि नतिजा भने एकैपटक देखिँदैन । शिक्षकहरूलाई पनि अनिवार्य विद्यालय आउने वातावरण बनाएका छौं । मेरो विद्यालयका लागि २ मिनेट भनेर विद्यालय सरसफाइको अभियान चलाएका छौं । वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गर्यौँ । कक्षाकोठा व्यवस्थापनलाई पनि विशेष महत्त्व दिइएको छ ।
यस्ता विभिन्न शैक्षिक, भौतिक तथा मनोवैज्ञानिक कुराहरूमा काम गरिरहेका छौं ।
स्थानीय समुदायबाट कत्तिको सहयोग पाउनुभएको छ ?
यो कुरालाई दुई कोणबाट हेर्न सकिन्छ । धेरै जनाले सकारात्मक भएर सहयोग गर्नुभएको छ । कतिपय अभिभावकले परामर्श गर्ने, सकारात्मक सोच राख्ने, सल्लाह दिने गर्नुहुन्छ । कतिपय अवस्थामा आम अभिभावकबाट असहयोग पनि भएको छ । यसमा दृष्टिकोणको कुरा आउँछ, उहाँहरूलाई दोष दिन मिल्दैन । वडा कार्यालय, नगरपालिका सबैबाट काम गर्नुपर्छ भन्ने छ ।
विद्यार्थी र अभिभावकको व्यवहार कस्तो छ ? अपेक्षा कस्तो छ ?
केही अभिभावकहरू आफ्ना बच्चाहरूप्रति सचेत नभएको हो की भन्ने चाहिँ छ । केही सचेत मान्छेहरूले आफ्नो बच्चाहरूको बारेमा विचार भने गर्छन् । तर, जुन ढंगमा आफ्ना बच्चाहरूप्रति सचेत हुनुपर्ने हो त्यो अनुसार भएको छैन ।
हामीले विद्यालयमा मोबाइल प्रवेश निषेध गरेका छौं तर घरमा घण्टौँ मोबाइल चलाउन दिएपछि सकारात्मक नतिजा आउँदैन । प्रविधिको युगमा मोबाइल चलाउनै नहुने भन्ने होइन तर त्यसको दुरुपयोग हुनुभएन । महत्वपूर्ण समयमा अन्यत्र कुरामा ध्यान जाँदा सिकाइमा प्रभाव पर्छ । त्यही भएर अभिभावकले आफ्ना बच्चाको ख्याल राख्नुपर्छ, ध्यान दिनुपर्छ ।
साथै विद्यार्थीहरू अनुपस्थित हुने समस्या पनि देखिन्छ । पत्र पठाउँदा पनि बच्चा नआउने समस्या छ । शिक्षा प्रति जनचेतनाको कमी भएका कारण पनि यसो भएको हो ।
ग्रेडिङ सिस्टम आएपछि पास गर्नै पर्ने, पढ्नै पर्ने बाध्यता हटेको छ । जसले गर्दा विद्यार्थीहरूमा पढ्नुपर्छ भन्ने भाव कम हुँदै गएको छ ।
प्रधानाध्यापक सम्मको यात्रा के कसरी तय गर्नुभयो ?
०७१ सालमा शिक्षक सेवा आयोगबाट आधारभूत तह पास गरेर मैले रत्न आधारभूत विद्यालयमा अध्यापन गराएँ । र, ०७२ साल वैशाखमा सरुवा भएर म गलिनाथ विद्यालयमा शिक्षण गर्न पुगेँ । त्यहाँ काम गर्दै गर्दा ०७६ जेठमा पुर्चौडी नगरपालिकाले मलाई शिक्षा शाखामा काम गर्न काजमा बोलायो । नगरपालिकामा मैले करिब चार वर्ष काम गरेँ । ०७९ को असारबाट म पुनः यस विद्यालयमा प्रधानाध्यापकको रूपमा आएको हुँ । म पालिकामा हुँदै हेडसरको कार्यभार सम्हालिदिन अनुरोध गरिएको थियो ।
प्रअ भएपछि जीवनमा के कस्ता परिवर्तन आएका छन् ?
विद्यालयको प्रअ समाजका लागि आवश्यक व्यक्तिको रूपमा पनि चिनिने रहेछ । विद्यालयसँग या शिक्षासँग सम्बन्धित व्यक्तिले पनि शैक्षिक नेतृत्वको रूपमा युवा मान्छे आएछन् भनेर चिन्दा जिम्मेवारी बोध पनि हुने रहेछ ।
म जिम्मेवार, संयमित हुनुपर्छ, विद्यालयको सुधारका लागि खट्नुपर्छ भन्ने भाव आउँछ । आफ्नो कार्यकालमा केही राम्रो गर्नुपर्छ भन्ने लाग्छ । जीवनमा केही व्यस्त भने भइने रहेछ ।
पत्रकार बन्ने तपाईंको इच्छा रहेको मैले विभिन्न माध्यमबाट बुझेको छु, शिक्षण पेसामा कसरी लाग्नुभयो ?
मैले स्नातक डडेलधुरा शिक्षा क्याम्पसबाट गरेको हुँ । त्यहाँ पढ्दै गर्दा बिचमा एक वर्ष जति बिदा भयो । गोकर्ण भन्ने एक जना पत्रकार साथी हुनुहुन्थ्यो । उहाँसँग हितैषी बढ्दा सञ्चार माध्यममा काम गर्ने चाहना बढ्यो । यो चाहना मैले कक्षा १२ पढ्दैदेखि बोकेको थिएँ । हरेक हिसाबमा हेर्दा मलाई पत्रकारिता ठिक लागेको थियो । त्यो समयमा मैले बैतडीमा १/२ वर्ष काम पनि गरेँ । हाम्रो निगरानी भन्ने उक्त सञ्चार माध्यममा काम गर्ने क्रममा मैले त्यहीँ बस्ने योजना सम्म बनाएको थिएँ । त्यसपछि भने स्नातकोत्तर गर्नुपर्छ भन्ने सोच आयो ।
०६७/०६८ मा महेन्द्रनगर सिद्धनाथ बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गर्दै गर्दा शिक्षा सेवा आयोगले आवेदन खुलायो । त्यसमा पास भएपछि म गाउँ नै फर्किनुपर्ने भयो । गजुरीबाट ०७१ सालमा यसको परीक्षा दिएको हुँ । र साउन १७ गते पहिलो नियुक्ति पाएको हुँ । यसरी पत्रकारिता कतै छुट्यो ।
राजनीतिमा लाग्नुभए जस्तो बुझिन्छ, यसले शिक्षणमा असर पुर्याएको छैन ?
खुला राजनीतिमा लागेको होइन । शिक्षक संगठन, शिक्षक महासंघहरूसँग जोडिने पर्यो । किनभने शिक्षकको पेसागत हक अधिकारका निम्ति लड्नुपर्ने हुन्छ ।
नेपालको जुन शासन व्यवस्था छ, त्यसले अधिकार नदिएको भए पनि हुन्थ्यो । र, गर्नु हुँदैन भन्ने पनि छ । किनभने यसले राजनीतिकरण गर्छ र शिक्षणमा असर पुर्याउन सक्छ । तर, यसो नगरी समाधान नहुने जुन अवस्था सिर्जना हुन्छ, त्यसको लागि विशुद्ध संगठन आवश्यक देखिन्छ । खुला रूपमा राजनीति गर्नु भएन ।
शिक्षकले आफ्नो मर्यादा, दायित्व र जिम्मेवारीमाझ राजनीति गर्न खोज्यो भने समाजमा सकारात्मक सन्देश भने जाँदैन । मेरो राजनैतिक सक्रियताले विद्यालय क्षेत्रमा प्रभाव पारेको हुँदैन ।
सांगठनिक कार्यक्रम बिदाको दिन राखिने हुँदा असर पुग्ने गरेको छैन । यसमा हामी सचेत रहन्छौँ ।
तपाईं पिछडिएको र विभेदमा परेको समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ, कत्तिको चुनौती हुने रहेछ ?
समाजको संरचना र व्यवस्थाले गर्दा कतिपय मानिसहरूमा पुरातनवादी सोच, शैली, व्यवहार, दृष्टिकोण र चेतना स्तर छ । मलाई लागे अनुसार अबका सचेत मानिसहरूले विभेदपूर्ण व्यवहार नगर्नुपर्ने हो ।
भित्री रूपमा भए पनि व्यावहारिक रूपमा छिटपुट मात्र देखेको छु । बाहिर खुला रूपमा भन्न नसके तापनि अस्वीकार गरे जस्तो गर्ने गरेको देखिन्छ ।
म विद्यालय पढ्दै गर्दा माओवादी आन्दोलन चलिरहेको हुँदा र हाम्रो क्षेत्रमा माओवादी सक्रिय रहने भएकाले अनि म स्वयम् पनि आन्दोलनसँग जोडिएको हुनाले त्यति विभेद भोगिन । यद्यपि अध्ययनको सिलसिलामा कोठा पाउन समस्या भने हुन्थ्यो । काठमाडौंमा यो समस्या अझै पनि देखिने गरिएको छ ।
समाजले मेरो क्षमता देखेको हुनाले समग्र शिक्षक र समितिको संलग्नतामा खुलेरै भव्य कार्यक्रमबीच मलाई स्वागत गरिएको थियो ।
भित्री रूपमा मानिसहरूले जेजस्तो सोच राखे पनि व्यावहारिक रूपमा देख्न पाएको छैन । मेरो क्षमता र कार्य कौशलताले फरक व्यवहार महसुस गरिन ।
अन्त्यमा शिक्षा क्षेत्रसँग सम्बन्धित केही भन्न चाहनुहुन्छ ?
सामुदायिक शिक्षालाई विकास गर्नका निम्ति एकल प्रयासले मात्र सम्भव हुँदैन । एक अर्कालाई दोषारोपण गरेर मात्र यसको समाधान हुँदैन । आआफ्नो ठाउँमा सबै सचेत र जिम्मेवार हुने हो भने समाधान अवश्य निस्कन्छ । सामुदायिक विद्यालयको सबलीकरण हुन्छ ।
मानिसहरू गुणस्तर भने उच्चस्तरको खोज्ने तर जनशक्तिको, भौतिक साधन स्रोतको अवस्था कस्तो छ, अभिभावक तथा जनसमुदायको दायित्व र कर्तव्य कसरी निभाउने भन्ने सोच्दैनन् ।
शिक्षकले विद्यार्थी राम्रो छैन भन्ने, विद्यार्थीले शिक्षकलाई दोष दिने गरिरहने हो भने अवस्था फेरिँदैन । यसको लागि सबैले हातेमालो गर्नुपर्छ ।
१८० डिग्रीको कोण बन्न तीन वटा रेखा मिलेको हुनुपर्छ । एउटा रेखा जति लामो भए पनि काम हुँदैन । साथै, ग्रामीण भेग जहाँ शिक्षकको अभाव छ, साधन स्रोत छैन त्यस्तो ठाउँमा राज्य जिम्मेवार भएर काम गर्नुपर्ने देखिन्छ ।