काठमाडौं । सप्तरीको कञ्चनरुपमा रहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक राईले हिरासतमै बलात्कार गरेको भन्दै उजुरी परेको छ । प्रहरी थुनामा परेका वेला गत चैत ६ गते डिएसपी राईले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित उजुरी दिएकी हुन् ।
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका वेला हिरासतमै प्रहरी अधिकृतले आफूमाथि बलात्कार भएको र यातना दिइएको उजुरीमा उल्लेख छ ।
उजुरीमा ती महिलाले भनेकी छन्, ‘गत ६ चैतको राति दुईपटक बलात्कार भएको छ । नाम थाहा नभएका एक प्रहरीले सोधपुछका लागि हाकिमले बोलाएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी राई कहाँ पुर्याएका थिए । त्यसपछि मादक पदार्थ सेवन गरेर बसेका डिएसपीले कुटपिट गरी मुख थुनी बोल्न कराउन नदिई जबर्जस्ती करणी गरेका थिए ।’
सोही राति पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर दोस्रोपटक बलात्कार गरेपश्चात् डिएसपी राईले कसैलाई भने २० वर्षसम्म जेलमा सडाइदिने धाक–धम्की दिएको उजुरीमा उल्लेख छ ।
त्यसपछि वैशाख १२ गते अचानक पेट दुखेपछि ती महिलालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगियो ।
ती महिलाले अस्पतालमा मौका छोपी उनले अस्पतालका स्वास्थ्यकर्मीलाई प्रहरी अधिकृतबाट ६ चैतको राति आफू बलात्कारमा परेको तथा कसैलाई भने २० वर्ष जेलमा थुनाएर सडाइदिने धम्की दिएको बताइन् ।
महिलाले भनेलगत्तै घटनाबारे प्रहरीलाई जानकारी गराउँदा प्रहरीले अनुसन्धान नै नगरेको अस्पतालले जनाएको छ ।
डिएसपी राईले भने आफू निर्दोष भएको र निराधार आरोप लगाइएको बताउँदै आएका छन् । नयाँ पत्रिकाबाट लिइएको ।