काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातीय सद्भाव भड्काएर राजनीतिको रोटी सेक्ने काम हुन लागेको आरोप लगाएका छन् । टोखा नगरपालिकामा शनिबार बिहान आयोजना गरिएको पार्टीको भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो आरोप लगाएका छन् ।
लामिछानेले सामाजिक र जातीय सद्भाव कायम राख्न सबैलाई आग्रह समेत गरेका छन् ।
लामिछानेले प्रमुख राजनीतिक दलहरू भ्रष्टाचार प्रकरण ढाकछोप गर्न लागि परेको आरोप लगाए । उनले जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको भुमरीमा मुलुकलाई धकेल्ने काम नगर्न आग्रह समेत गरे ।
‘आज जातीय सद्भाव भड्काउन पाइयो भने भ्रष्टाचारका प्रकरणहरू सामसुम हुन्छ भनेर त्यतातिर आगो झोसिरहेका छन्,’ उनले भने, ‘खबरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नु होला ।’
आफू सामाजिक सद्भाव कायम गर्न तयार रहेको जनाउँदै उनले सबैलाई कानुनको पालना गर्न आग्रह गरे । ‘कानुन विपरीत कार्यहरू हामी कसैले पनि गर्न छुट छैन । सद्भाव खलबल्याउने कुरा, एक अर्काको बिचमा बैमनस्यता खडा गर्ने कुरा र त्यसबाट राजनीतिको रोटी सेक्ने काम कसैले गर्न हुँदैन ।’
सामाजिक सद्भाव खलबल्याउनेबाट सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिएका कुराको पछि लाग्न नहुने कुरा उनले बताए । सबै मिलेर बेथितिको विरुद्ध लड्नुपर्नेमा जोड दिए ।
‘हाम्रो दुस्मनी भनेको एक अर्का होइन, एउटा जाति र अर्को जाति नेपालीको दुस्मन हो ? एउटा समुदाय अर्को समुदायको दुस्मन हो र ? हाम्रो साझा दुस्मन भनेको गरिबी, अशिक्षा र बेरोजगार हो । हरेक एक नेपालीको साझा दुस्मन त्यही हो, हाम्रो लडाइँ त्यो दुस्मनसँग हुनुपर्छ एक अर्कासँग होइन’, उनले भने ।