काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिकामा श्रीमती पालिका उपाध्यक्ष छिन् भने श्रीमान निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर हालैमात्र अधिकृत सुवास आलेलाई खटाएको छ ।
सामान्य प्रशासनको अधिकृतको जिम्मेवारीमा सुवास आलेलाई खटाएपछि गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले कार्यपालिकाको बैठक बोलाएर जिल्लाभन्दा बाहिरको प्रमुख प्रशासकीय अधिकृत नपठाउन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छिन् ।
हाल गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा उनको श्रीमान उजिर रोकाया कार्यरत छन् ।
उपाध्यक्ष रोकायाले पालिकाभन्दा बाहिरको प्रमुख प्रशासकीय जिल्लामा धेरै नबस्ने हुँदा जनतालाई सेवा दिने क्रममा असुविधा हुने उल्लेख गरेकी छिन् । साथै, उनले आफूले कुनै लोभ, लालचका कारण यस्तो निर्णय नगरेको स्पष्ट पारिन् ।
उपाध्यक्ष सुशीला रोकाया अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाबाट दिने सेवा सुविधा छिटो छरितो भएको, बाह्रै महिना जनताले सेवा पाएको हुँदा मन्त्रालयबाट अर्को प्रमुख प्रशासकीय अधिकृत नखटाइदिनु हुन अनुरोध गर्ने निर्णय भएको छ ।
साथै, बैठकले जिल्ला बाहिरका अधिकृत आउँदा ती कर्मचारी जिल्लामा नबस्ने र जनतालाई सेवा दिने क्रममा असुविधा भएको निषर्कष निकालेको छ ।