काठमाडौं । देशका ६ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट असार १० गते सार्वजनिक हुँदैछ ।
महानगरले चालु आर्थिक वर्षको भन्दा कम बजेट ल्याउँदैछन् ।
संघीय सरकारले यसवर्ष अनुदान कटौती गरेको र लक्ष्यअनुसार राजस्व उठाउन नसकेका कारण महानगरपालिकाको बजेट कम भएकाे हाे ।
भरतपुर महानगरमा ७० करोड बजेट घट्ने बताइएकाे छ । भरतपुरले चालु आर्थिक वर्षमा ५ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
पोखरा महानगरपालिकाले करिब ८ अर्बको बजेट ल्याउने तयारी गरेको छ । महानगरले आगामी आर्थिक वर्षको बजेटमा सहरी सौन्दर्यकरण र पर्यटन प्रवर्द्धनलाई जोड दिने भएको छ ।
महानगरले चालु आर्थिक वर्षमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
वीरगञ्ज महानगरले आगामी आर्थिक वर्षका लागि साढे २ अर्बको बजेट ल्याउने तयारी गरेकाे छ ।
महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको थियाे । बजेट खर्च र राजश्वको लक्ष्य ठूलो नराख्ने बरु कार्यान्वयन हुने बजेट ल्याउने तयारी महानगरले गरेकाे छ ।
काठमाडौं महानगरपालिकाले भने बजेटको आकार नघटाउने भएको छ । महानगरकाे आन्तरिक स्रोत बलियो भएकाले बजेट नघटाउने भएकाे हाे ।
काठमाडौं महानगरले चालु आर्थिक वर्षमा २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको काठमाडौंले दोस्रो नगरसभाबाट संशोधन गरी २ अर्ब बजेट घटाएको थियो ।
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षमा ठूलो मात्रामा बजेट घटाउने भएको छ ।
चालु आर्थिक वर्षमा ३ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको विराटनगरले आगामी आर्थिक वर्षमा २ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको हाे ।
बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइने बताइएकाे छ ।
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि सम्पदा संरक्षण, सहरी सौन्दर्यकरण, चक्रपथ बाहिरका क्षेत्रको विकास र पर्यटनलाई प्राथमिकता दिने तयारी गरेको छ ।
महानगरले चालु आर्थिक वर्षमा ६ अर्ब ३५ करोडको बजेट ल्याएको थियाे । महानगरले आगामी आर्थिक वर्षमा करिब ६ अर्बको बजेट ल्याउने बताइएकाे छ ।