प्रधानमन्त्री प्रचण्डले गरे ग्यास उत्खनन क्षेत्रको निरीक्षण

प्रधानमन्त्री प्रचण्डले गरे ग्यास उत्खनन क्षेत्रको निरीक्षण

दाङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् ।

बुधबार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात् प्रधानमन्त्री उक्त क्षेत्रमा पुगेका हुन् ।

अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिएका छन् ।

निरीक्षणअघि प्रधानमन्त्री प्रचण्डले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो दोस्रो कार्यकाल देशका लागि परिणामुखी भएको स्मरण गर्दै तेस्रो कार्यकाल इतिहासकै सफल कार्यकाल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकार अगाडि बढिरहेको बताए ।

दाङ र दैलेखमा आयोजित कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री बुधबार साँझ काठमाडौं फर्किएका छन् ।