काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट ७२ किलोमिटर पूर्वमा रहेको बर्दगोरिया गाउँपालिका कैलाली जिल्लामा अवस्थित छ । तराई क्षेत्रमा रहेको यस गाउँपालिकाको विभिन्न ठाउँमा स-साना खोल्सा, कुलो र नदी भेट्न सकिन्छ । खोला प्रशस्त भएकाले यहाँ बालुवा प्रशस्त मात्रामा पाइन्छ । समुद्र सतहबाट मात्र १४५ मिटर उचाइमा रहेकाले यस पालिकामा गर्मी धेरै हुने गर्छ । समतल भूभाग, प्रशस्त पानी भएकाले पनि यस पालिकामा कृषि फस्टाएको छ ।
बर्दगोरिया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की छन् । कार्कीको जन्म बैतडी जिल्लाको दशरथचन्द्र नगरपालिका वडा नं. ७ मा भएको हो । खेती किसानी पेसा अँगालेको परिवारमा वि.सं २०२४ सालमा उनी जन्मिएका हुन् । साधारण किसान परिवारका बालबच्चाको बाल्यकाल जस्तो प्रकारको अनुभव, परिस्थिति र घटनाहरू हुँदै गुज्रन्छ । त्यस्तै बाल्यकाल उनको पनि रह्यो ।
बाल्यकालमा, परिवारले कृषि कार्य गर्ने भएकाले आफूले पनि विद्यालयको समयपछि काममा सहयोग गर्ने गरेको उनी सम्झन्छन् । कामको कुरा गर्दा मुख्य रूपमा खेतबारी र पशुपालनका काम हुन्थे । उनी आफूले सक्ने र जान्ने काममा परिवारलाई सघाउँथे । कृषि कर्ममा परिवारलाई सहयोग गर्ने कार्की पढ्नमा पनि अव्वल थिए ।
अन्यत्र जस्तै उक्त क्षेत्रमा पनि गाउँघरमै रहेको स्थानीय विद्यालयमा बालबालिका अध्ययन गर्थे । सुरुका केही वर्ष ईश्वर प्राविमा अध्ययन गरेका उनी त्यसपछि भने वीरेन्द्र माध्यमिक विद्यालयमा गए । उनले सोही वीरेन्द्र माध्यमिक विद्यालयबाट ०४१ सालमा एसएलसी पनि पास गरे । त्यसबेला बैतडीमा कलेज थिएन, कलेज पढ्नका निम्ति काठमाडौं वा नेपालगन्ज जानुपर्थ्यो । व्यवस्थापन संकायबाट (अर्थशास्त्रमा) स्नातकसम्मको अध्ययन गरेपछि निजामती क्षेत्रमा प्रवेश गर्ने योजना उनले बनाए ।
तत्कालीन समयको दिपायलमा लोकसेवाको कार्यालय थियो । सरकारी सेवामा प्रवेश गर्न सके जीवन सरल र सहज हुने आँकलन उनले गरेका थिए । यसरी लोकसेवाप्रति रुचि बढ्दै गएपछि उनी त्यसको तयारी गर्न थाले । दुई पटकसम्म खरिदार पदको परीक्षामा सहभागी भए तर उत्तीर्ण भने हुन सकेनन् ।
लोकसेवाको अर्को परीक्षा धैर्यता पनि हो । निरन्तर प्रयास पनि हो । दुई पटकको असफलताले उनीभित्र अझ हिम्मत भरिदियो र ०४५ सालको परीक्षामा उनी नाम निकाल्न सफल भए । खरिदारको रूपमा निजामती क्षेत्रमा प्रवेश गरेका कार्की ०५० सालमा पदउन्नती भएर नायब सुब्बा भए । त्यसैगरी उनी ०६८ सालबाट शाखा अधिकृत भए ।
हाल बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत कार्की निजामती क्षेत्रमा काम गर्न चुनौती भए तापनि आफू जनताको मुद्दामा निरन्तर काम गरिरहेको बताउँछन् । निजामतीमा मात्र नभएर सबै क्षेत्रमा उत्तिकै चुनौती हुने बुझेका उनी जनताको काम गर्न कहिल्यै पछि हट्दैनन् । सबैले ऐन र कानुनको पालना गर्ने हो भने समस्या नआउने उनको भनाई छ । लामो समय स्थानीय तहको अनुभव बटुलेका कार्की काममा ध्यान र कर्म क्षेत्रमा प्रतिबद्ध रहे सफल हुनुका साथै जनताले सहज रूपमा सेवा पाउने बताउँछन् ।
सरकारले दिएको तलब सुविधाले निजामती कर्मचारीलाई जीवन धान्न त्यति सहज नभएको उनी बताउँछन् । 'तलब सुविधाको उचित र सरल तवरबाट व्यवस्थापन गर्न आवश्यक छ', उनी भन्छन् 'कुनैपनि कर्मचारीको जीवनको सजिलोपना वा कठिनाइलाई मापन गर्न सरकारले केही परिमार्जन गरेको छैन ।' समय परिवर्तनशील रहेकाले सुविधाको कमी भएको उनले महसुस गरेका छन् । महँगाइ बढेको अहिलेको अवस्थामा जीवनयापन गर्न निकै कठिन रहेको उनको भनाई छ ।
उनले आफ्नो कार्यावधिमा विशेषगरी स्थानीय तहमा सेवा प्रदान गरेका छन् । कार्य विवरण अनुसार काम सम्पादन गर्ने गरेका कार्की समाजलाई सकारात्मक सन्देश प्रदान गर्न सधैँ तत्पर रहने गर्छन् । कर्मचारीको सरुवा बढुवा गर्दा निश्चित मापदण्डका आधारमा गर्नुपर्ने उनी सुझाउँछन् । कर्मचारीलाई समय-समयमा तालिम प्रदान गरे उनीहरूको क्षमतामा वृद्धि हुने उनले बताए । उनी भन्छन्, 'क्षमता वृद्धि हुँदा जनताले सहज सेवा पाउँछन् ।' सबैलाई बराबर अवसर प्रदान गर्दा कर्मचारीमा हौसला बढ्ने उनको बुझाई छ ।
'यस पालिकामा जनप्रतिनिधि र कर्मचारीबिच निरन्तर छलफल तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम भइरहन्छ', उनी भन्छन्, 'कर्मचारी र जनप्रतिनिधिमाझ जनताका सवालमा कुनै विमति छैन ।' विकासको हिसाबले पनि बर्दगोरिया अगाडि रहेको उनले बताए । नदीहरूमा तटबन्ध लगाउने कार्यक्रम चलिरहेको छ । दिगो विकासका लागि पालिकाले विज्ञ सहितको टोलीसँग पनि सहकार्य गर्ने गर्छ ।
पालिकाका हरेक विकासमा जनता सहभागी हुने गरेका छन् । हिलाम्मे बाटाहरूमा पुरुवा हालेर हिलो रहित बनाउने र योजना अनुरूप बाटाहरू पक्की गर्ने कार्यक्रम भइरहेको छ । नीतिगत र दैनिक गर्नुपर्ने जनताका कामहरू निरन्तर भइरहन्छन् । जनतालाई दुःख दिने अभिप्राय यस पालिकाका प्रतिनिधि र कर्मचारीमा छैन । लक्षित वर्गका कार्यक्रम क्षमतामूलक, सीपमूलक कार्यहरू यस पालिकाबाट सञ्चालित भइरहन्छन् ।
पालिकामा १५ सैयाको अस्पताल निर्माण भएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको समयमा देशैभरि अस्पतालको शिलान्यास भएको थियो । जसमध्ये पहिलो अस्पताल यही पालिकामा निर्माण गरिएको हो ।
खानेपानीको लागि पनि पालिकाका विभिन्न वडामा ओभर हेड ट्याङ्कीहरू निर्माण भएका छन् । खानेपानी मन्त्रालय र पालिकाबिच खानेपानी तथा सरसफाइ अभियानका लागि सम्झौता भएको र तत्कालै योजनामा परिणत हुने उनले बताए ।
पालिकाले ग्यास प्लान्ट निर्माण गर्ने र फोहोरलाई मोहरमा परिणत गर्ने योजना बनाएको छ । विभिन्न वडाबाट फोहोर सङ्कलन गरेर प्लान्टमा ल्याइ कुहिने र नकुहिने छुट्टाएर मलमा रूपान्तरित गरी कृषकलाई मलमा सहुलियत प्रदान गर्ने योजना पालिकाले लिएको छ ।
१७ वटा सामुदायिक र १९ वटा निजी विद्यालय रहेको यस पालिकामा विभिन्न रूपमा अभिभावकसँग पैसा असुली रहेका विद्यालयहरूलाई निगरानीमा राख्ने गरिएको छ । निजी विद्यालयले पनि मापदण्ड विपरीत शुल्क लिए पालिकाले कारबाही गर्ने निर्णय गरेको छ । सरकारको मापदण्ड अनुसार विद्यालयमा शिक्षकको दरबन्दी हुनुपर्नेमा पालिकाका विद्यालयहरूमा विभिन्न कारणहरूले शिक्षकको कमी हुने गरेको छ । यसलाई समाधान गर्न नसके पनि अस्थायी दरबन्दीका शिक्षक राखेर भएपनि विद्यार्थीको पढाइमा असर हुन नदिएको कार्की बताउँछन् ।
उच्च शिक्षा लिन विद्यार्थीहरू टाढा-टाढा जानुपर्ने समस्या समाधान भएको उनी बताउँछन् । उनले भने, 'हालसालै पालिकामा स्नातकोत्तर सम्म पठनपाठन हुने बर्दगोरिया क्याम्पसको स्थापना भएको छ ।'
स्थानीय तहको सरकार भनेको जनताको सबैभन्दा नजिकको सरकार रहेको उनले उल्लेख गरे । साथै स्थानीय सरकारले आम जनताका मुद्दाहरूको सम्बोधन गर्नुपर्ने उनले बताए । 'कृषकलाई पाखा लगाएर कुनैपनि कृषिप्रधान देशको विकास असम्भव प्राय छ' उनी भन्छन् 'यस पालिकाले कृषकलाई विभिन्न कुराको सुविधा दिएको छ ।'
प्रत्येक वडामा कृषकका लागि पकेट क्षेत्र घोषण गरिएको छ । जसमा कृषकले आफूले चाहेका खाद्यान्नको बिउ बिजनमा ५० प्रतिशतसम्म अनुदान पाउने गरेका छन् । कृषि उपकरण पनि प्रदान गर्ने यस पालिकाले कृषकका लागि तालिमको पनि व्यवस्था गरेका छ ।
साथै पशुपालन तथा माछा पालनमा पनि पालिकाले थुप्रै योजना समेटेको उनले जानकारी दिए । भैँसी, बुङ्गुर, गाई, बाख्रा, माछा पाल्न किसानलाई पूर्णदेखि आंशिक रूपमा अनुदान दिँदै आएको उनले बताए । उन्नत जातका पशु चौपाया पाल्दा किसानलाई फाइदा हुने भएपछि पालिकाले उन्नत जातका पाठा पाठी बाछाबाछी समेत वितरण गर्दै आएको छ ।
यति हुँदाहुँदै, पनि कृषकले आफ्ना उत्पादित सामानको उचित बजार भाउ नपाएर नष्ट हुने अवस्था रहेको उनले बताए । उनी भन्छन्, 'यो समस्या यस पालिकाको मात्र नभएर देशभरको समस्याको रूपमा रहेको छ । तर हामीले यसका समाधानका लागि दुई वटा हाटबजारको निर्माण गरेका छौं ।'
स्थानीयले उत्पादन गरेका सामान स्थानीय बजारमै खपत होस् भन्ने उद्देश्यले यो योजना सुरु गरिएको हो । संकलन केन्द्रको अवधारणा र चिस्यान केन्द्रको अवधारणा पनि पालिकाले सुरु गरेको छ ।