काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ।
आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयका महेश खत्रीले जानकारी दिए ।
सीआईबीले प्रतिवादीहरुलाई संगठित अपराधको कसूरमा पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलले संगठित अपराधमा मुद्दा नचल्ने निर्णय गरेको छ । सीआईबीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलले शाहलाई प्रतिवादी बनाउनुनपर्ने निर्णय गरेको छ ।
सीआईबीको अनुसन्धानमा उनले तत्कालीन जिल्ला मालपोत कार्यालय, भक्तपुरको प्रमुख रहँदा भूमाफियालाई सहयोग गर्ने गरी काम गरेको खुलेको थियो । सीआईबीले प्रतिवादी बनाउन नपर्ने भनेको सचिव कृष्णबहादुर राउतलाई भने प्रतिवादी बनाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।
ललितानिवासको जग्गाबारे २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । यो प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । पुरानो घटना भएकाले यसमा मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको छ ।
त्यस्तै, ललितानिवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ। उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।