काठमाडौं । हाजिर गरेर कार्यालय 'बंक' गर्ने कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्रले निगरानी बढाएको छ ।
केन्द्रले सिंहदरबारमा कार्यरत कर्मचारी हाजिर गरेर दिनभरि हराउने गरेको गुनासो बढेपछि बिहीबार छड्के अनुगमन गरेको हो ।
मुलुकको मुख्य प्रशासनिक केन्द्रमा हुनुपर्ने कर्मचारी हाजिर गरेर दिनभरि हराउने गरेपछि कार्य सञ्चालनमा कठिनाइ आएको भन्दै सतर्कता केन्द्रमा उजुरी परेको थियो ।
केन्द्रले गर्ने नियमित अनुगमन अन्तर्गत बिहीबार छड्के अनुगमन गरिएको उपसचिव हरिप्रसाद शर्माले जानकारी दिए । सिंहदरबारका सबै मुख्य गेटमा केन्द्रले अनुगमन गरेको छ ।
हाजिर गरेर हिँड्ने प्रवृत्ति रोक्न अनुगमन गरिएको शर्माको भनाइ । उनले भने, 'हामी यो अनुगमन नियमित जसो गर्छौं ।कति कर्मचारी हाजिर गरेर हिँड्छन् भन्ने एकीकृत रिपोर्ट पनि निकाल्छौँ ।'
हाजिर गरेर हराउने कर्मचारीलाई कारबाही गरिने उनले बताए ।