काठमाडौं । नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपालसमेत ७ जनामा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर भएको छ ।
उपर सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार नापी अधिकृत गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामीले ललितपुरको साबिक टीका थली गाविस ६, कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ को विभिन्न कित्ताहरू कायम गर्ने क्रममा तोकेको क्षेत्रफलभन्दा कम हुने गरी कानुन विपरीत कित्ताकाट गरेको आरोप लागेको छ ।
कार्यालयका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवालले कानुन विपरीत लिखत पारित गरेको आरोप लागेको छ।
यस्तो छ प्रेस विज्ञप्ति
मालपोत कार्यालय, ललितपुरका कर्मचारीसँग सेटिङ गरी टिकाथली गा.वि.स. वडा नं. ६ को कित्ता नं. १६९९ र १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्भेक्षक लोकेन्द्र सिंह धामीले जिल्ला ललितपुर, साविक टिकाथली गा.वि.स. वडा नं. ६, कित्ता नं. १६९९ र कित्ता नं. १७०१ को कित्ताकाट गरी विभिन्न कित्ताहरु कायम गर्ने क्रममा नक्सामा भू-उपयोग नियमावली, २०७९ मा उल्लिखित कित्ताकाटको लागि तोकिएको न्यूनतम मापदण्ड भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानुनी व्यवस्था विपरीत उक्त नियमावलीले तोकेको क्षेत्रफलभन्दा कम क्षेत्रफलका कित्ताहरु कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए तापनि कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा टायल चेकबाट बढ कायम गरी टायल चेक गरी बढाएको क्षेत्रफल र नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नं. २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी प्लटरजिष्टर र स्रेस्तामा जनाई उक्त जग्गासमेत व्यक्ति विशेषको नाममा कायम भएको कित्ताहरुमा समावेश गरी नक्सामा भन्दा प्लटरजिष्टर र राजीनामा लिखतमा बढी क्षेत्रफल उल्लेख गरी कित्ताकाट गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा ऐ. ऐनको दफा ११ बमोजिमको कैद र जरिवानाको मागदाबी लिइएको छ। मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवालले जिल्ला ललितपुर, साविक टिकाथली गा.वि.स. वडा नं. ६, कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा नक्सा र फिल्डमा नभएको क्षेत्रफल टायल चेकबाट बढ कायम गरी एवं साविकको कित्ता नं. १६९९ बाट कित्ताकाट भई कायम कित्ता नं. २९४४ को कित्ताकाट डायरी (नक्सा) मा भएको क्षेत्रफलको जग्गालाई कित्ताकाट स्रेस्ता (प्लट रजिष्टर) र राजिनामा लिखतमा कम क्षेत्रफल बनाई भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा लिखत पारितको लागि पठाएकोमा उक्त लिखत पारित गर्दा अपनाउनुपर्ने कानूनी व्यवस्थान नपनाई कानून विपरीत अन्देखा गरी निर्देशिकासमेतले तोकेको कार्यविधि अनुसार कागजात एवं फिल्ड निरीक्षण चेकजाँच नगरी नापी कार्यालयबाट पेश भएबमोजिम लिखतहरु पारित गरेको देखिँदा निजहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गरेको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कैद र जरिवानाको मागदाबी लिइएको छ। राउसाई होल्डिङ्गस् प्रा.लि., ललितपुर महानगरपालिका वडा नं. २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोज बहादुर श्रेष्ठले जिल्ला ललितपुर, साविक टिकाथली गा.वि.स. वडा नं. ६, कित्ता नं. १६९९ र कित्ता नं. १७०१ को कित्ताकाट गरी विभिन्न व्यक्तिहरुलाई बेच्ने क्रममा नापी कार्यालय र भूमिसधार तथा मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरुलाई प्रभावमा पारी कागजातहरु हेरफेर एवं गलत लिखत तयार गर्ने कसुर अपराधमा मतियारको भूमिकासमेत गरेको देखिँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको सरकारी कागजात हेरफेर गर्ने कसुरको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको गलत लिखत तयार गर्ने कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको देखिएकोले निजहरुलाई ऐ. ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता भोला दाहाल