काठमाडौं । उपसचिव अम्बिकाप्रसाद खनाल विगत ११ वर्षदेखि निजामती सेवामार्फत जनतालाई प्रभावकारी सेवा प्रदान गर्दै आएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रूपमा कार्यरत खनाल इलाम नगरपालिका वडा नं. ११ निवासी हुन् । करिब दुई वर्षदेखि त्रिवि भन्सार कार्यालयमा कार्यरत खनालले गृह जिल्ला इलामबाट एमबिएसमा स्नातकसम्मको शिक्षा हासिल गरेका हुन् ।
उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं प्रवेश गरेका उनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट एमबिएसमा स्नातकोत्तर गरेका हुन् ।कानुनमा एलएलबी समेत गरेका उनी निजामती क्षेत्रमा प्रवेश गर्नुअघि ट्युसन पढाउने गर्थे । केही समय ट्युसनमार्फत विद्यार्थीहरूलाई पढाउने अनुभव बटुलेपछि उनी शिक्षण पेसामा लागे । करिब ४ वर्ष शिक्षण पेसामा बिताएपछि निजामती क्षेत्रमा भएका साथीहरूलाई देखेर उनको रुचि पनि यस क्षेत्रप्रति बढ्यो ।
निजामती क्षेत्रप्रति रुचि बढेपछि लोक सेवाको तयारी सुरु गरेका खनाल दुई वर्षको तयारीपछि निजामती कर्मचारी बन्न सफल भएका हुन् । ०६६ सालबाट निजामती सेवाका लागि तयारी गरेका उनी ०६८ सालमा नाम निकालेर निजामती सेवामा प्रवेश गर्न सफल भएका हुन् ।
०६८ सालदेखि ०७२ सालसम्म उनले ४ वर्ष सामाजिक सुरक्षा कोषमा काम गरेका छन् । नुवाकोटको डिभिजन सडक कार्यालयमा २ वर्ष काम गरेपछि उनको सरुवा पुलचोकको व्यापार तथा निकासी प्रवर्धन केन्द्रमा भयो । ३ वर्ष व्यापार तथा निकासी प्रवर्धन केन्द्रमा बिताएका उनले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा ३ महिना काम गरेका छन् ।
हाल त्रिवि भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रूपमा कार्यरत उपसचिव खनालसँग भन्सार कार्यालयका विभिन्न विषयमा आधारित रहेर व्यवस्था डटकमका लागि प्रज्वल तामाङले गरेको कुराकानीको सम्पादित अंश:
करिब दुई वर्षदेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत हुनुहुन्छ, यस कार्यालयमा रहँदाको अनुभव कस्तो छ ?
त्रिभुवन विमानस्थल भन्सार कार्यालय अरू कार्यालयको तुलनामा अत्यन्तै चुनौतीपूर्ण ठाउँ हो । यो कार्यालयमा काम गर्ने एउटै समय तालिका हुँदैन, सोही कारणले अधिकांश कर्मचारीहरू यो कार्यालयमा आउन मान्दैनन् । यो कार्यालयमा धेरै गुनासाहरू आउँछन् । कतिपय अवस्थामा कार्य सहजीकरण गर्न दबाब आउने हुँदा कार्य सम्पादनमा समस्या सृजना हुने गरेको छ ।
आगमनमा (अराइभल) यात्रु शाखाबाट दिनमा ६ हजार यात्रुहरू आउने गर्छन् र लगभग २५ प्रतिशत यात्रुहरूले कानुन नबुझेका कारण गुनासोहरू आउने गर्छन् । राज्यले कानुन बनाउँछ र उक्त कानुनको कार्यान्वयन गर्ने काम हामी जस्ता कर्मचारीहरूको हो । सोही कानुन कार्यान्वयनको क्रममा भन्सार कार्यालय क्षेत्रमा आएका जनतालाई बुझाउन असहज हुने गर्छ । विभिन्न देशबाट घुमेर आएका यात्रुहरूले आफ्ना विभिन्न प्रकारका सामानहरू ल्याउँदा रोकटोक भयो भनेर गुनासोहरू आउने गर्छन् । यात्रुको हिसाबले त्यो गुनासोहरू जायजपनि होला तर, राज्यले बनाएको कानुन अनुसार कार्यसम्पादन गर्नुपर्ने हुन्छ । जवाफ दिने क्रममा विभिन्न गुनासो सुन्न पाइन्छ ।
कार्यालयको शाखामा विभिन्न किसिमको मालसामानहरू आउने गर्दछन् । आउने सम्पूर्ण माल–सामानहरूलाई शारीरिक निरीक्षण गर्न सम्भव हुँदैन । सो कारणले हामी साथीहरूले गरेको निरीक्षणको आधारमा सही गर्ने गर्छौँ । यहाँ सबै माल–सामानको निरीक्षण गर्न सम्भव नभएकाले अन्य ठाउँका भन्सारभन्दा यहाँ जोखिम बढी देखिएको छ ।
विमानस्थलमा आउने यात्रुहरूमा पनि देशअनुसार, आर्थिक अवस्थाअनुसार फरक व्यवहार हुने गरेको भन्ने सुनिन्छ, यो कतिको सत्य हो ?
भन्सार कार्यालयमा आएपछि कोही धनी वा कोही गरिबको कुरा हुँदैन । राज्यले दिएको सुविधा अनुसार श्रम स्वीकृति प्राप्त भएका श्रमिकहरू सामाजिक सुरक्षामा आबद्ध हुन्छन् ।
जस्तै कोरिया, खाडी मुलुकबाट आउने व्यक्तिहरूलाई सुविधा बढी दिइएको हुन्छ । त्यो बाहेक अरू देशबाट आउने श्रमिकहरूलाई कानुनले छुट्टै व्यवस्था गरेको छ ।
त्यही कानुनी व्यवस्थामा अनुसारको व्यवहार सबै यात्रुहरूलाई हुन्छ । कानुनमा उल्लेख गरे विपरीत धनको आधारमा भन्सार कार्यालयमा कार्य सम्पादन हुँदैन ।
भन्सार महसुल कसरी निर्धारण हुन्छ ?
भन्सार महसुल विभिन्न माल–सामानको फिचरहरू हेरिसकेपछि निर्धारण हुन्छ । भन्सार महसुलका लागि भन्सार विभागले कति भन्सार लाग्छ भनेर एउटा नियमित मानक तोकेको छ । त्यो मानकको आधारमा हामीले न्यूनतम महसुल कायम राख्छौँ । त्यो मानकभन्दा बढी भन्सार लाग्ने देखियो भने हामी त्यसको महसुल अनुसार न्यूनतम गरेर पठाउँछौँ ।
भन्सार कार्यालयको कार्यसम्पादन कसरी भइरहेको छ ?
पहिले देखिनै भन्सार कार्यालयको सबै कार्यसम्पादन डिजिटल रूपमा भइरहेको छ । भन्सार कार्यालयको आफ्नै प्रणाली छ । सिस्टमबाटै कर्मचारीहरूको कर्तव्य तोक्ने काम गरिन्छ । सिस्टमले कर्मचारीको भूमिकाको आधारमा उनीहरूलाई काम तोक्ने गरेको छ । त्यसपछि हामी जस्ता अफिसरहरूले भूमिकाको आधारमा कार्यक्षेत्र छुट्टाइएका कर्मचारीहरूको अनुगमन गर्ने गर्छन् ।
भन्सार कार्यालयमा जफत गरिएका सामानहरूको व्यवस्थापन कसरी गरिन्छ ?
भन्सार कार्यालयमा जफत गरिएको सामानहरूलाई लिलाम या नष्ट गर्ने व्यवस्था छ । लिलाम गर्न मिल्ने मालसामानमा मूल्यांकन समिति राख्ने गरिन्छ । जहाँ जिल्ला प्रशासन कार्यालयका सम्बन्धित कर्मचारीहरू हुन्छन् । सवारी साधनको हकमा भने मेकानिकल इन्जिनियरहरू रहने व्यवस्था छ ।
मूल्यांकन समितिले निर्धारण गरेका मूल्यको आधारमा वा भन्सारको प्रक्रियाअनुसार वेबसाइटमार्फत सूचना निकालेर लिलाममा निकाल्ने व्यवस्था छ । लिलामीमा निकाल्न नमिल्ने मानक नभएको मदिराहरू जस्ता सामानको हकमा हामी आफै मूल्याङ्कन गरेर नष्ट गर्ने गरेका छौँ ।
भन्सार कार्यालयमा गुनासो सुनुवाइ राम्रोसँग हुँदैन भन्छन् नि ?
हामीले यात्रुहरूको गुनासो सुनुवाइ गर्ने गरेका छौँ । हाम्रो कार्यालयमा २५–३० जना कर्मचारीहरू आबद्ध छन् तर दैनिक २०० जनासम्म यात्रुहरू गुनासोका लागि आउने गर्दछन् । जनशक्तिको कमी भएको कारणले हामीले प्रभावकारी ढङ्गले गुनासोको सुनुवाइ गर्न सकेका छैनौँ ।
गुनासोलाई न्यूनीकरण गर्न र यात्रुहरूलाई सहजीकरण गर्नको निम्ति हामीले सहायता कक्ष सञ्चालन गरेका छौँ । तर, सहायता कक्षमा गुनासोहरू राखेर बाहिर गएपछि यात्रुले प्रभावकारी सेवा नभएको भन्ने गरेको पाइएको छ ।
विदेशमा गएर श्रम गर्नेहरूका लागि भन्सारमा कस्तो व्यवस्था रहेको छ ?
विदेशमा बसेर श्रम गर्नेलाई धेरै नै सेवा सुविधाको व्यवस्था गरिएको छ । जस्तै बाहिरबाट श्रम गरेर नेपाल फर्कने क्रममा एक पटक टेलिभिजनको लागि भन्सार छुट गर्ने कानूनी व्यवस्था छ ।
पर्यटक यात्रुहरूले एउटा मात्र मोबाइल ल्याउने व्यवस्था छ भने श्रमिकहरूलाई विशेष गरी दुई वटासम्म मोबाइल ल्याउँदा भन्सार छुट गर्ने कानूनी व्यवस्था छ ।
दुई वटा भन्दा बढी मोबाइल ल्याएको भन्सारको महसुल तिर्नु पर्ने नियम छ । पासपोर्टमा भएको डाटाको आधारमा हामीले सुविधा दिने गरेको जानकारी दिएका छौँ ।
विमानस्थल भन्सारमार्फत विभिन्न समयमा तस्करी भएको घटना सार्वजनिक हुने गरेका छन् । त्यस्तो तस्करी नियन्त्रण गर्ने योजना कस्तो छ ?
तस्करी नियन्त्रण गर्नको लागि एउटा कार्यालयले मात्र सम्भव हुँदैन । तस्करी भन्ने कुरा अन्तर्राष्ट्रिय स्तरमा हुन्छ । हामी जस्ता आम कर्मचारीहरू भन्दा तस्करहरू दुई कदम अगाडी हुने गरेको पाइएको छ ।
तस्करी नियन्त्रणका लागि हामीले इन्टेलिजेन्स सिस्टमको प्रयोग गरिरहेका छौँ । कर्मचारीको अनुभव, बौद्धिकता, कार्यक्षेत्र र उसको अनुसन्धान गर्ने क्षमताको आधारमा इन्टेलिजेन्स सिस्टमको प्रयोग गरिरहेको अवस्था छ । यो प्रणालीले मात्र पर्याप्त नभएको कारणले थप तामिल प्रदान गरेर, नयाँ प्रविधिको र उपकरणहरूको प्रयाग गरेर, थप सूचनाहरू प्राप्त गरी अगाडी बढ्ने योजनामा छौँ ।
माल–सामान तस्करीमा कर्मचारीको पनि मिलेमतो भएको कुरा सुनिन्छ, यस बारेमा के भन्नुहुन्छ ?
कर्मचारीको मिलेमतोमा तस्करी भएका विवादका कुराहरूलाई मान्दिन । कुनैपनि कर्मचारीले आफ्नो जागिरलाई दाउमा राखेर तस्करीको साथ माल–सामानको ओसारपसार गर्न सक्दैन । मानिसहरूले विभिन्न किसिमका मेसिनरी उपरणहरू ल्याउँछन्, ती सामानहरूको शारीरिक निरीक्षण गर्न सम्भव नभएको र कुनै कर्मचारीको लापरबाहीका कारण तस्करी हुने गर्दछ ।
भन्सार कार्यालयले जनतालाई प्रभावकारी सेवा प्रदान गर्नका लागि के–कस्ता नयाँ योजनाहरूको कार्यान्वयन गरेको छ ?
कर्मचारीहरूलाई प्रभावकारी सेवा दिन तालिम प्रदान गरिएको छ । यात्रुहरूमा सूचना कम भएको कारणले पनि समस्या देखिएको हुनाले यात्रुहरूलाई सूचना उपलब्ध गराउनका लागि कर्मचारी परिचालन गरिएको छ ।
प्रमुख भन्सार प्रशासकले भन्सारलाई कसरी समन्वय गर्ने, कार्यहरू कसरी प्रभावकारी बनाउने भनेर नयाँ कार्य योजनाहरूको निर्माण गर्नुभएको छ ।
भन्सार कार्यालयमा विभिन्न गुनासोहरू आइरहेको पाइन्छ । विदेशमा गई श्रम गरेर स्वदेश फर्किँदा जो पनि उत्साहित हुन्छ । उनीहरूले घरायसी प्रयोगका लागि ल्याएको सामानहरू जफत गर्ने रहर हामीलाई पनि हुँदैन । तर, हामी पनि राज्यको नियम अनुसार चल्नुपर्ने हुन्छ । हामीले कतिपय सामानमा भन्सार नलगाई छोड्न मिल्दैन । यसो गर्दा यात्रुको गुनासो आउनु स्वाभाविक पनि हो । यस समस्याको हल गर्न राज्यले पहल गर्नुपर्छ ।
(यसअघि यो स्टोरीसँग असम्बन्धित व्यक्तिको फोटो पर्न गएकोले सच्याइएको छ । पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौँ : सम्पादक)