काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।
बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गरेका हुन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल लगायत सहभागी छन् ।
भारत भ्रमणका क्रममा विद्युत् विस्तार, विद्युत्मा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्ड आगामी शनिवार स्वदेश फर्किने तालिका रहेको छ ।