कर्मचारी कुटपिट घटनाको छानबिन गर्न सशस्त्र प्रहरीले बनायो समिति

कर्मचारी कुटपिट घटनाको छानबिन गर्न सशस्त्र प्रहरीले बनायो समिति

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी निरीक्षकले झापामा आफ्नै कर्मचारी कुटपिट गरेको घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सोही घटनाको छानबिन गर्नका निम्ति सशस्त्र प्रहरी बलले छानबिन समिति गठन गरेको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा सशस्त्रले केन्द्रीय छानबिन समिति गठन गरेको हो । मेचीनगर नगरपालिका-४ स्थित नेपाल-भारत सीमा नकलबन्दामा मङ्गलवार राति सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले सशस्त्र प्रहरी हवलदारसहित चार जनामाथि कुटपिट गरेको आरोप छ ।

उक्त घटना सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । घटना बाहिरिएपछि सशस्त्र प्रहरीले एआइजी गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रधान कार्यालय कार्य विभाग प्रमुख समेत रहेका एआइजी गौतम नेतृत्वको समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

यसअघि सोही घटनाको छानबिन गर्न बुधबार नै कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँको अध्यक्षतामा बुधबार नै ५ सदस्यीय समिति गठन गरेको थियो ।

सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयले पनि प्रतिकार गरेका थिए । स्थानीयले प्रतिकार गरेपछि कुटपिटको घटना रोकिएको उनीहरूको भनाई छ ।