शे-फोक्सुन्डोमा अस्थायी प्रहरी पोष्ट स्थापना

शे-फोक्सुन्डोमा अस्थायी प्रहरी पोष्ट स्थापना

काठमाडौं । पर्यटकीय स्थल फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । 

उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको फोक्सुन्डो तालमा प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुन्डो ताल पुगेर अस्थायी प्रहरी पोस्टको स्थापना गरेका हुन् ।

आन्तरिक तथा विदेशी पर्यटकको आगमन भइरहने सुन्दर पर्यटकीय स्थल शे–फोक्सुण्डोेमा आपराधिक क्रियाकलाप हुन नदिन पहिलो पटक अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको उनले बताए । यसलाई बिस्तारै स्रोतसाधनले सम्पन्न गराएर स्थायी बनाइने समेत प्रदेश प्रमुख ढकालले बताए ।

शे–फोक्सुन्डो तालमा पर्यटकको आगमन वृद्धि भइरहेकाले पर्यटकलाई सुरक्षा प्रदान गर्न तथा ‘सुरक्षित शे–फोक्सुन्डो सुरक्षित पर्यटक’ भन्ने अवधारणाअनुरूप छिट्टै शे–फोक्सुन्डोमा पर्यटक प्रहरी युनिटको समेत स्थापना गरिने प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए ।

पछिल्लो समय शे–फोक्सुन्डो ताल हेर्न जानेको भीड लाग्ने गरेको छ । चिसो मौसममा उपल्लो डोल्पाका सात प्रहरी चौकी सदरमुकाम दुनै सार्ने गरिन्छ । आवश्यक व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै सारिँदै आइएको छ ।