काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक आन्दोलनमा रोल्पा जिल्लाको विशिष्ट र ऐतिहासिक योगदान रहेकोमा कुनै विमति नभएको भन्दै इतिहासको हरेक कालखण्डमा रोल्पाली जनताको विरता र साहसको उच्च प्रशंसा हुने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आज नेकपा एमालेकी सांसद इश्वरी घर्तीले राखेको जिज्ञासाको जवाफ दिदैँ प्रधानमन्त्री प्रचण्डले सरकारले रोल्पाको विकास र जनताको जनस्तरमा रुपान्तरणका लागि विगत देखि नै उच्च प्राथमिकता दिदै आएको बताए ।
सांसद घर्तीले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भनिन्, रोल्पालाई मुख्य आधार इलाका बनाएर दश वर्षे शसस्त्र द्वन्द्वको सुरुवात गर्नुभएको सम्माननीय प्रधानमन्त्रीज्यू तिन–तीन पटक प्रधानमन्त्री हुँदा पनी रोल्पालीको जनजिबनमा परिवर्तन आउने गौरबका योजना दिन सक्नुभएन, रोल्पालीको त्यो ऐतिहासिक सहयोग प्रधामन्त्री भएपछि बिर्सनु भयो ? भन्ने रोल्पाली जनताको गुनासो छ । त्यो गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
यस्तै सांसद घर्तीले जुम्ला लगायतका जिल्लाहरुमा स्याउ पाक्ने समय आयो, स्याउले बजार भाउ नै नपाउने अवस्था आउन सक्छ र आईरहेको पनि छ । यसको वजार व्यवस्थापनमा सरकारको योजना के छ ?
दश वर्षे शसस्त्र द्वन्द्वको क्रममा सहिद भएकाहरूको सम्झना र सम्मानका लागि दाङको घोराही देखि रोल्पाको होलेरी, घर्तीगाउँ हुँदै रुकुम पूर्वको हुकाम मैकोट सम्म पुग्ने २२० कि मि सडक खण्डलाई वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूको चाहना र पहलमा सहिद मार्ग नामाकरण गरेर योजना अगाडी बढाइएको थियो । बजेट अभावमा योजना निकै कछुवा गतिमा भई अझ सम्पन्न हुन सकेको छैन । सहिद मार्गको मुख्य प्रवेश द्वारको रुपमा रहेको घोराही देखि रोल्पा होलेरी सम्मको ३१ किलोमिटरको सडक खण्ड अलपत्र र जोखिम पूर्ण भएको लामो समय बितिसक्यो । यस बारे सदनमा मैले ३/४ पटक कुरा पनि राखिसके तर सरकारले यो योजनालाई प्राथमिकतामा परेन किन?
रोल्पाको रुन्टीगढी गाउँपालिका भित्र अहिले चारवटा चुन ढुँगा खानी सञ्चालनमा छन् भने थप चारवटा खानी दर्ता भएर सञ्चालनको प्रक्रियामा छन् । हाल २०० बढी टिप्पर सञ्चालनमा छन् भने पुरानो र नयाँ गरी ८ वटा चुन ढुँगा खानी सञ्चालनमा आउँदा दिनमा कम्तिमा पाँचसय देखि ७०० सम्म टिप्परहरू घोराही होलेरीको यही सहिद मार्ग भएर सञ्चालनमा आउने छन् । जसले गर्दा उक्त सडकमा अन्य गाडीहरु सञ्चालनमा आउन निकै बाधा पर्ने र हाल परिरहेको पनी जानकारी गराउँछु । त्यसैले सो क्षेत्रमा बैकल्पिक औद्योगिक मार्ग बनाउने र घोराही होलेरीको ३१ किलोमिटर सडकलाई तत्काल कालोपत्रे गर्दै सहिद मार्ग योजना समयमै सम्पन्न गर्न सरकारको के योजना छ? भनेर प्रश्न गरेकी थिइन् ।
सांसद घर्तीको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री प्रचण्डले मानव विकासमा पछाडी रहेका कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश मधेस प्रदेश रोल्पा रुकुम लगायतका जिल्ला तथा क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउन र ती क्षेत्रमा पूर्वधारका संरचना विकासका लागि सरकारले प्राथमिकताका साथ कार्यक्रमहरु गरिरहेको बताए ।
उनले भने, जुम्ला जिल्लाको विकासका लागि सरकारले प्राथमिकतामा राख्दै स्याउको सुपरजोन तथा पकेट क्षेत्रहरु घोषणा गरी आवश्यक सहयोग तथा सहुलियत प्रदान गर्दै आएको छ । यस वर्षको बजेट तथा कार्यक्रममा प्रधानमन्त्री कृषि तथा आधुनिकिकरण लगायतका आयोजना कार्यक्रम प्रदेश तथा स्थानीय तह विकास कार्यक्रमबाट उत्पादन प्रशोधन तथा प्याकेजिङ्गमा आवश्यक सहयोग तथा सहुलियत प्रदान गरिएको छ ।
यस्तै प्रधानमन्त्री प्रचण्डले स्याउको भण्डारणका लागि उच्च क्षमताको कोल्डस्टोर निर्माण भैरहेको बताए । उनले अगाडी थपे, सरकारले दाङको घोराही देखि रोल्पाको होलेरी हुँदै रुकुमको मैकोटसम्मको शहिद मार्गलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आइरहेको छ ।
प्रचण्डले सडक र पुलको माग देशभरी नै अध्याधिक हुने गरेको र थुप्रै सडक योजनाहरु सञ्चालन गर्नु परेकाले पर्याप्त बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरे । प्रधानमन्त्री प्रचण्डले घोराही होलेरी खण्डको ३१ किलो मिटर सडक अत्याधिक भार बोक्ने सिमेन्ट उद्योगका ट्रकहरुका कारणले पनि क्षति भैरहेको उल्लेख गर्दै भार नियन्त्रण गरी सडकको आवश्यक मर्मत संम्भाका साथै सडक सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले घोराही होलेरीको बैकल्पिक सडक बनाउने सुझावका विषयमा आगामी दिनमा छलफल गरी आवश्यक कार्य अगाडी बढाइने समेत स्पष्ट पारे ।