काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलास कुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ।
मंगलबार बेलुकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।
औषधि लिमिटेडको महाप्रवन्धकमा नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार लिमिटेडको महाप्रबन्धक छनौटका लागि सिफारिस समितिको आइतबारको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने बहुदरमाई नगरपालिका-४, पर्साका उमेशप्रसाद गुप्ता, गन्यापधुरा गाउँपालिका-४, डडेल्धुराका कैलाशकुमार पनेरु र महालक्ष्मी नगरपालिका-८, ललितपुरका डा. राजकुमार थापाको नाम सिफारिस गरिएको थियो ।
महाप्रवन्धक पदका लागि नौ जनाले उम्मेदवारी दिएका थिए । नेपाल औषधि लिमिटेडले रिक्त महाप्रवन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपुर्तिका लागि गत जेठ ११ गते सार्वजनिक सूचना जारी गर्दै दरखास्त आव्हान गरिएको थियो ।
यस्तै, बैठकले अर्थमन्त्रालयको प्रस्तावमा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । सरकारको प्रवक्ता समेत रहेकी शर्माका अनुसार बैठकले नेपाल र फिलिपिन्सबीच कूटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिन सम्झौतामा हस्ताक्षर गर्न स्वीकृती दिने निर्णय गरेको छ।
बैठकले भन्सार विधेयक र विद्युत बिधयेकलाई सदनमा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।