काठमाडौं । कहिले सुरक्षा निकाय त कहिले स्वास्थ्य क्षेत्रको माध्यमबाट निजामती सेवामा लागि निरन्तर राष्ट्रको सेवा गरिरहेका टिकाराज चौलागाईं नेपाल सरकारको उपसचिव हुन् । आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङका प्रमुख कर अधिकृत रहेका उनले विगत एक वर्षदेखि कर अधिकृतको रूपमा सेवा दिँदै आइरहेका छन् । निरन्तर प्रयास गरिरहने एक कर्मठ, कर्तव्यनिष्ठ, लगनशील व्यक्तिहरूका लागि र सरकारी सेवामा लाग्छु भन्नेहरूका लागि चौलागाईं प्रेरणाको श्रोत हुन् ।
कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लाबाट घर, खेती, कामको तालमेल मिलाउँदै एसएलसीसम्मको अध्ययन गरेका उनले राजनीति शास्त्र, एमपिए र अंग्रेजी विषयमा स्नातकोत्तर अध्ययन पुरा गरेका छन् । हाल एलएलएम अध्ययन गरिरहेका उनी तातोपानी गाउँपालिका वडा नम्बर ५, जुम्लामा जन्मिएका हुन् ।
संयुक्त परिवारमा हुर्किएका चौलागाईं सानैदेखि बुवा आमालाई घर, खेती, किसानीमा सघाउँदै पढाइलाई समेत निरन्तरता दिने गर्थे । चौलागाईं तीन जना दाजुभाइ–दिदीबहिनीमध्ये सबैभन्दा कान्छा सन्तान हुन् । उनका दाजु निजामती सेवामा कानून अधिकृत छन् भने दिदी शिक्षण पेसामा आबद्ध छिन् । बुवाको स्वास्थ्य सेवाको जागिर र आमाको कृषि पेसाले धानिएको परिवारको अर्थतन्त्रमा सहयोग पुर्याउन सानैदेखि लगनशील तथा मिहिनेती उनी आफूले गर्न सक्ने काममा त्यतिबेलै देखि लागिपर्ने गरेको बताउँछन् ।
एसएलसीको नतिजाले रोकियो मावि तहको अनुमति खारेजी
जुम्लामा बाल्यकाल बिताएका उनले गाउँकै श्री दुर्गा माविबाट एसएलसी पास गरेका हुन् । प्रावि तहबाटै उक्त विद्यालयमा अध्ययन थालेका टिकाराजले विद्यालयको मावि तह खारेजी रोक्न समेत मद्दत गरेका थिए । ०६० सालमा दिइएको एसएलसी परीक्षाको नतिजा ०६१ सालमा आएको थियो । त्यस वर्ष उनीसमेत गरेर चार जनाले एसएलसी पास गरेका थिए ।
त्यसअघि लामो समयदेखि उक्त विद्यालयमा विद्यार्थीहरूले (रेगुलर) एसएलसी पास गरेका थिएनन् । यदि उनको ब्याचले त्यो वर्ष एसएलसी पास नगरेको भए विद्यालयको मावि तहको अनुमति नै खारेज हुने अवस्था थियो ।
एसएलसी पास गरेर विद्यालयको साख जोगाएकोमा त्यति बेला विद्यालय प्रशासन देखि स्थानीयमा पनि खुसीको माहौल छाएको उनी सम्झन्छन् । एसएलसी उत्तीर्ण गरिसकेपछि उच्च शिक्षाका लागि नजिकै कुनै शैक्षिक संस्था नभएकोले थप अध्ययन गर्न उनी सुर्खेतको वीरेन्द्रनगर गए । वीरेन्द्रनगरस्थित जन उच्च माविमा शिक्षा संकाय अन्तरगत प्रमुख अंग्रेजी विषय लिएर पढे । उनले स्नातक तहको पढाइको लागि पनि वीरेन्द्रनगर सुर्खेतमै अध्ययन गर्ने योजना बनाएका थिए । तर हजुरआमाको उपचारार्थ नेपालगन्ज जानैपर्ने बाध्यता भएकोले नेपालगन्ज गएर महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए । यद्यपि विभिन्न कारणले गर्दा उनले पढाई पुरा गर्न भने पाएनन् ।
अधुरै रह्यो सुरक्षाकर्मी बन्ने सपना
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षको अध्ययन पुरा गरेका उनी नेपाल प्रहरीको सहायक निरीक्षक पदमा प्रतिस्पर्धा गर्ने उच्च इच्छा र अभिलाषाका साथ बीचमै सुर्खेततिर लागे । नेपालगन्जबाट ओहोरदोहोर गर्न असजिलो हुने भएपछि पढाइ स्थानान्तरण गरी सुर्खेत शिक्षा क्याम्पसमा भर्ना समेत भए ।
बाँकी दुई वर्षको पढाई सुर्खेत शिक्षा क्याम्पसबाट पुरा गरेका उनी नेपाल प्रहरीको सहायक निरीक्षक पदको तयारीमा आफू व्यस्त रहेका बेला स्थानान्तरणको प्रक्रियामा सहयोग गर्ने दाजु लालबहादुर नेपालीलाई आज पनि सम्झन्छन् । सारा प्रक्रिया पुर्याएर सुर्खेत बस्न गएका उनको नेपाल प्रहरीमा जागिर खाने सपना भने पुरा हुन सकेन । पहिलो प्रक्रिया पार गरेका उनले दोस्रो प्रक्रिया भने पार गर्न सकेनन् ।
सुरक्षा निकायमा रहेर सेवा गर्ने उनको सपना अधुरै रह्यो तर उनले सजिलै आस भने मारेनन् । प्रहरी सहायक निरीक्षक पदमा असफलता व्यहोरेका उनलाई साथीहरूको एक समूहले सेकेन्ड लेफ्टिनेन्टमा विज्ञापन खुलेको बताउँदै आवेदन दिन सुझाए ।
त्यति बेलासम्म अन्तै जागिर सुरु गरिसकेको भए पनि निकै मेहनतका साथ प्रतिस्पर्धामा सहभागी भएका उनले सम्पूर्ण चरणहरूमा अब्बल नतिजा हात पारे पनि अन्तिममा सफल भने भएनन् । कहिलेकाहीँ कसै-कसैलाई जीवनले अन्यत्रै लैजान डोर्याइरहेको हुन्छ भनिन्छ । उनलाई पनि त्यस्तै भयो । विभिन्न प्रक्रिया पार गर्दै अन्तिमसम्म पुगेर पनि नेपाल आर्मीको सेकेन्ड लेफ्टिनेन्ट बन्ने उनको सपना अधुरै रह्यो । उनी निराश हुँदै फर्किए ।
अस्पतालको कुरुवाबाटै सरकारी सेवामा प्रवेश
०६६ सालको एक घटना सम्झिएर आज पनि उनी झस्किन्छन् । जुम्लामा रहेको घरमा कार्तिक २६ गते राति अचानक बुवाको बोली बन्द भयो । त्यस्तो अवस्था देखेर आफू बेहोस भई भूँईमा लडेको नमिठो स्मृति उनको मानसपटलमा आज पनि ताजै छ । भोलिपल्ट बुवालाई जुम्लास्थित अस्पतालमा उपचार गर्न लैजाँदा काठमाडौं रेफर गरियो । बुवाको उपचारार्थ आमा पनि साथमा काठमाडौं गएपछि घरको काममा असर पुग्ने भएकाले टिकाराज काठमाडौं जानुपर्ने भयो । बुवालाई मुटुको समस्या (दुई वटा भल्भ फेल) भएर काठमाडौंको टिचिङ अस्पतालमा भर्ना गरेपछि रेखदेखका लागि उनले पहिलो पटक काठमाडौं टेकेका हुन् ।
त्यतिबेला कुनै आन्तरिक कारणले अस्पताल बन्द भइरहने भएकाले बुवाको अप्रेसन पनि पछि धकेलियो । त्यस्तो अवस्था देखेपछि उनका दाजुभाइले टिचिङ अस्पतालकै शैय्यामा बसेर 'टिचिङको शैय्याबाट डाक्टरलाई चिठी' भन्ने लेख लेखे । जसमा अस्पतालको कमजोर व्यवस्थापन पक्ष लगायतका कुरा समेटिएकाले तत्कालीन समयमा विभिन्न राष्ट्रिय दैनिकको मुख्य पृष्ठमा छापिएको थियो ।
करिब छ महिनासम्म उनका दाजुभाइ बुवाको रेखदेखका लागि अस्पताल बसे । त्यहीँ बस्दाबस्दै अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रिक्त पदको लागि आवेदन खुलेको उनले थाहा पाए । सूचना पार्टीमा दरबन्दीको आह्वान देखेर विस्तृत रूपमा बुझ्दा आफूले पनि आवेदन दिन मिल्ने उनले थाहा पाए र, आवेदन दिए ।
०६७ सालतिर खुलेको उक्त आवेदनमा प्रधान सहायक र सहायकको माग गरिएको थियो । अस्पतालमै बसेर अस्पतालमै परीक्षा दिएर उनले दुवैमा नाम समेत निकाले । सबै उम्मेदवारहरूलाई पछि पार्दै उनी प्रधान सहायक पदमा पहिलो नम्बरमा सिफारिस भए । तयारी गर्ने समय नभएकाले सानो गाइड किनेर खाली समयमा अस्पतालमै उनले अध्ययन गरे । यसरी अध्ययन गरेर नाम निस्कन्छ भन्ने आस कतै पनि उनले राखेका थिएनन् । यद्यपि उनको नाम निस्कियो र यसरी उनको सरकारी जागिरे जीवनको सुरुवात भयो ।
त्यहाँ काम गर्दै गर्दा डा. भगवान् कोइरालाले धेरै प्रोत्साहन गर्ने गरेको उनी सम्झन्छन् । डा. कोइरालाको समूहमा रहेर काम गरेको अनुभव लिएकाले उनी आफ्नो जीवनको एक उत्प्रेरक तथा राष्ट्रको एक सफल, मार्ग निर्देशक, बहु आयामिक व्यक्तिको रूपमा डा. कोइरालालाई चिनेको/बुझेको बताउँछन् ।
जीवनसाथी डा. सरिता महतको प्रेरणाले सफलता
प्रधान सहायकको रूपमा टिचिङमा जागिर गर्ने क्रममा उनी आफ्नो प्रेरणाको श्रोत डा. सरिता महतसँग ०६८ सालमा वैवाहिक सम्बन्ध बाँधिए । दुवै जना जुम्लाकै भएकोले सानैदेखि उनीहरूको चिनजान थियो । आफूहरूको प्रेम तथा मागी विवाह भएको उनी बताउँछन् ।
निजामती क्षेत्रबाट पनि राष्ट्रको सेवा गर्न सकिन्छ, यसको क्षेत्र/दायरा व्यापक र वृहत् छ भनेर उनलाई जीवनसाथीको साथ-सहयोग र ढाडस, बुवा आमाको संरक्षकत्व, दिदी-भिनाजुको भरोसा तथा हरि भाइको समर्थनले बुझ्न मदत गरेको उनले सुनाए ।
यसरी आफन्तबाट सहयोग पाएका उनले अन्ततः निजामती सेवामा लाग्ने निधो गरे । उनी आफ्नो जीवनको सफलताको श्रेय श्रीमती सरितालाई दिन कञ्जुस्याई गर्दैनन् ।
लोकसेवा तयारी व्यापक रूपमा गर्नुपर्ने । त्यसमाथि अस्पतालको कामको बोझ धेरै भएको हुनाले अध्ययन गर्ने समयको अभाव उस्तै हुन्थ्यो । करिब दुई वर्ष अस्पतालमा सेवा दिएर उनले आफ्नो क्षेत्र निर्क्योल गरे र शाखा अधिकृतको तयारी गर्ने उद्देश्यले ०६८ मा जागिरबाट राजीनामा दिए ।
शाखा अधिकृतको तयारीमा जुटेका उनले ०७१ सालमा खुलेको विज्ञापनमा दिएको परीक्षामा पहिलो तह पार गरे पनि दोस्रो तहमा भने सफल हुन सकेनन् । उक्त असफलताले थप मेहनत र अध्ययनको दायरा बढाउन मद्दत पुगेको उनी बताउँछन् ।
०७२ सालको शाखा अधिकृतको परीक्षामा उनले सफलता हात पारे । दोस्रो प्रयासमा नाम निकालेपछि उनी नेपाल न्याय सेवामा शाखा अधिकृतको रूपमा नियुक्त भए । उनको पहिलो पोस्टिङ उच्च अदालत सुर्खेतमा भएको थियो ।
करिब साढे २ वर्ष उच्च अदालतमा काम गरेपछि उनको सरुवा उच्च अदालत जुम्लामा भयो । यसरी काम गर्दै जाँदा उनले अधिकृतको रूपमा ३ वर्ष सेवा दिए । त्यसपछि उपसचिवको परीक्षा दिनुपर्छ भन्ने उनलाई महसुस भयो । ०७५ सालमा थप अध्ययनका लागि काठमाडौं जानुपर्छ भन्ने सोचले उनी काठमाडौं प्रवेश गरे र उपसचिवको तयारीमा समेत जुटे ।
विश्वभर फैलिएको कोभिड महामारीले निर्धारित समयमा परीक्षा नभए पनि पढाइलाई निरन्तरता दिएका उनले पहिलो प्रयासमै ०७८ सालमा उपसचिवको परीक्षामा नाम निकाल्न सफल भएका हुन् । उपसचिव पास भएपछि नेपाल प्रशासन सेवाको राजस्व समूहमा सिफारिस भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा उनको नियुक्ति भयो । त्रिवि भन्सार कार्यालयमा करिब एक वर्ष काम गरेपछि सरुवा भएर उनी हाल कार्यरत आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङमा पुगेका हुन् ।
विमानस्थल भन्सारमा शिवरात्रिको त्यो अपरेसन !
त्रिभुवन विमानस्थल भन्सारमा हाजिर हुनू पूर्व अर्थ मन्त्रालयमा अर्थ र राजस्व सचिवज्यूले कार्यस्थलमा राम्रो काम गरे त्यसको मूल्यांकन हुने भनी निकै हौसला प्रदान गरेको उनी बताउँछन् ।
महाशिवरात्रिको दिनमा बिहानी सत्रमा आफ्नो ड्युटी रहेका बेला वैदेशिक मुलुकबाट आएका केही व्यक्तिहरूले सुन लुकाएर ल्याएको विशेष सूचनाका आधारमा चालिएको अपरेसनमा उनको समूहले अवैधानिक तरिकाले लुकाई छिपाइ ल्याएको अवस्थामा ठुलो परिमाणमा सुन फेला पारी नियन्त्रणमा लिएको थियो ।
कानून विपरीत यसरी लुकाइछिपाई गरेर सुन ल्याउने कार्यमा संलग्न ३१ जनालाई एकै पटक पक्राउ पुर्जी जारी गरेको उनी सम्झन्छन् । यसरी नियन्त्रणमा लिइएको ३१ जनालाई सम्बन्धित निकायमा बुझाउन जाँदा कार्यालयको गाडीमा नअटेर सशस्त्र प्रहरीको ठुलो गाडी बोलाउनु परेको थियो । उपसचिवको कमान्डमा भएको यो अपरेसनबाट सरकारलाई राम्रो राजस्व आएको समेत उनले सुनाए ।
राष्ट्र सेवाका लागि निजामती यात्रा तय
उनका अनुसार राष्ट्र सेवालाई सर्वोपरि ठानी प्रवेश गर्नेहरू यस सेवामा सन्तुष्ट हुने गर्छन् । विभिन्न आरोह र अवरोहका बिच आफू निजामती क्षेत्रमा प्रवेश भएको अवस्था हेर्दा निजामती सेवाको क्षेत्र वृहत् र व्यापक भएको उनको बुझाइ छ । निजामती सेवामा प्रवेश गर्ने हरेक क्याडरको गन्तव्य सेवाको सर्वोच्च पद मुख्य सचिव बन्ने र अवकाश पश्चात् समेत राज्यलाई योगदान गर्ने भएकाले उक्त गन्तव्यका लागि हर कोही यात्रा गर्न सक्ने उनी बताउँछन् ।
निजामती सेवामा रहँदा जतिसक्दो उत्कृष्ट सेवा कसरी दिने भन्ने उनी सोच्ने गर्छन् । कार्यालयको कार्यसम्पादनमा सधैँ कुशल सेवा दिन प्रयासरत रहन्छन् । आ.व ०७९/०८० मा उनले सम्हालेको कार्यालय कार्यसम्पादनको हिसाबले अग्रस्थानमा रहेको उनले उल्लेख गरे । जुन कार्यालयमा बसे पनि कार्यालयलाई उत्कृष्ट बनाउन मिहिनेत गर्नुपर्ने उनी सुझाउँछन् ।
जीवनका मोडहरूमा थुप्रै अप्रिय घटना, स्थितिहरू पनि आउन सक्छन् तर, आफ्नो मनस्थिति सम्हालेर आँट/संघर्ष/कर्मका साथ अगाडी बढियो भने निर्धारित गन्तव्यमा पुग्न सकिने उनको अनुभव छ ।
उनी भन्छन्, 'लड्दै-उठ्दै अनगिन्ती कमजोरीबाट पाठ सिक्दै आफूलाई अभ्यस्त बनाउन सकियो भने आफूलाई थप मजबुत, अब्बल र परिष्कृत बनाई लक्ष्यको उचाइमा पुग्न सकिन्छ ।'
निजामती सेवामा प्रवेश गरिसकेपछि आफूले दिने सेवाबाट मिल्ने सन्तुष्टिको स्तर बेग्लै रहने उनको अनुभव छ । आफ्नो कार्यकालमा राष्ट्र र जनताप्रति प्रतिबद्ध भएर कार्य जिम्मेवारी निभाउने कुरामा आफू सधैँ तत्पर रहने उनले बताए ।