काठमाडौं । इलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार केसीउपर १८ लाख रुपैयाँ बिगो कायम गर्दै आरोप-पत्र दायर गरेको छ ।
रुपन्देहीको बुटवल उप-महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिन गई सुन फिर्ता गर्नको लागि रकम माग गरेको सूचनाको आधारमा केसीको निवास खानतलासी गर्दा नगदसहित सुन बरामद भएको थियो ।
उक्त सम्बन्धमा छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको पत्र, प्रतिवेदन/उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा केसीले गत मंसिर २५ गते बुटवल उपमहानगरपालिका ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी समेत नगराई आफैले सुन जिम्मा लगाएको कागज गर्न लगाएको तर सुन फिर्ता नदिई घुस खाने नियतले १५ दिनसम्म आफैसँग गोप्य राखेर सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत घुसको मोलमोलाइ गरेका थिए ।
उनले त्यस क्रममा आठ लाख पचास हजार र नौ लाख पचास हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
केसीले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुरमा बिगो १८ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।