प्रधानन्यायाधीश कार्कीलाई आजै शपथ गराउने तयारी

प्रधानन्यायाधीश कार्कीलाई आजै शपथ गराउने तयारी

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएपछि शुक्रबार नै शपथ गराउने तयारी भएको छ । 

शपथका लागि आफूहरू तयारी अवस्थामा रहेको भन्दै समयमै पत्र आइपुगे आजै शपथ हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा शुक्रबार नै शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईले जानकारी दिए । 

प्रवक्ता भट्टराईका अनुसार समितिबाट नाम अनुमोदन भएको पत्र आएको तीन घण्टाको समय राष्ट्रपति कार्यालयका लागि तयारी गर्न लाग्नेछ । उक्त समयमा शपथमा बोलाउनुपर्ने सबै व्यक्तित्वहरूलाई पत्र पठाई बोलाउनका लागि समय लाग्ने भएकाले समयमै पत्र आइपुगेमा शुक्रबार नै शपथ गराउने तयारी भएको छ । 

संसदीय सुनुवाइ समितिका सचिव पदमप्रसाद पाण्डेयका अनुसार शुक्रबार करिब १२ बजेसम्ममा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको कुरा संवैधानिक परिषद्लाई जानकारीसहितको पत्र पठाइनेछ । त्यसपछि संवैधानिक परिषद्बाट सोको जानकारीसहित शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र लेखिनेछ । राष्ट्रपति कार्यालयबाट शपथका लागि समय प्रदान भएपछि राष्ट्रपतिबाट शपथ गराइनेछ ।