रेडियो नेपालमा २०४७ सालमा प्राविधिक सहायकका रूपमा प्रवेश गरेका भीम घिमिरे विश्वकर्मा अधिकृत भएको पनि १४ वर्ष भयो । रेडियो नेपालको ३३ वर्षे यात्रामा २२ वर्ष त रेडियो नेपालको क्षेत्रीय प्रशारण डोटी (दिपायल)मा काम गरे उनले ।
एक कर्मचारीले जहाँ गएर पनि सेवा नै गर्नुपर्छ भन्ने धारणा बोकेर काम गर्दै आएका भीम अहिले रेडियो नेपालको केन्द्रीय कार्यालय, सिंहदरबारमा भेटिन्छन् । रेडियो नेपालको नयाँ भवनको साँघुरो कोठामा केही थान कम्प्युटर, केही थान कुर्चीको माझमा निरन्तर काम गरिरहेका भेटिने हसमुख स्वभावका भीम अहिले पनि डोटीलाई सम्झिन्छन् ।
बडो दुःखले रेडियो नेपालको क्षेत्रीय प्रशारणका लागि नाम निकालेका भीमलाई डोटी पुगेर निराश भएनन्, बरु उत्साहित भए । केन्द्रमा बसेर जागिर खाने सोचका कर्मचारीभन्दा उनी गाउँगाउँमा पुगेर जागिर खान रुचि राख्थे । त्यसैले त डोटी दिपायललाई रेडियो नेपाल सिंहदरबारबाट टाढा ठानेनन् ।
‘पचासको दशकमा बाटो, यातायात, बिजुलीबत्ती, स्वास्थ्य, शिक्षा, खानेपानी केहीको पनि सुविधा थिएन । सरुमा बत्तीको राम्रो व्यवस्थापन थिएन । एउटा सानो १० किलोवाट हाइड्रोपावर मात्र थियो । त्यहाँको स्थानीय बासिन्दाले भन्नुहुन्थ्यो- रेडियो नेपाललाई बत्ती दिनुभन्दा हामीलाई बत्ती बाल्न, पंखा चलाउन दिनुपर्यो । उहाँहरूले आफैंले जेनेरेटर चलाएर गर्नुभयो पहिला त बिहान ७-९ र साँझ ७-९ हुन्थ्यो तर आजभोलि त्यो समस्या छैन’, उनले दुःखका दिन सम्झिए ।
सुदूरपूर्वमा जन्मी हुर्केर सुदूरपश्चिम डोटीमा गएर २२ वर्ष कार्य गर्न सफल भए उनी । हाल कीर्तिपुर बस्दै आएका उनको खास घर मोरङ जिल्ला इटहरा गाउँपालिका वडा नंं ७ हो । इन्जिनियरिङ अध्ययन संस्थान् पूर्वाञ्चल क्याम्पसबाट इलेक्ट्रिकल ओभर सेयरको अध्ययन गरेपछि रेडियो नेपालमा काम गर्नु पहिला पेप्सीकोलास्थित एक निजी कम्पनीमा काम गरेका थिए ।
भीम भन्छन्, ‘पेप्सीकोलामा काम गर्दै नियमित गोरखापत्र पनि पढ्थें । म ठ्याक्क २० वर्षको हुँदा गोर्खापत्रमा रेडियो नेपालको विज्ञापन खुलेको थियो । एकचोटि प्रयास गरम् न भनेर प्रयास गरेको नाम निस्कियो । दुई जनाको सिटमा १५-२० जनाले आवेदन दिएकोमध्ये दुई जना पास भए । ती दुईजनामा एकजना म परें । त्यसपछि रेडियो नेपालको कर्मचारी भइयो ।’
त्यो बेला कर्मचारी हुन जति सजिलो थियो, त्यति नै गाह्रो पनि थियो । हाकिमले चाहे जागिरे भइन्थ्यो कि त पढेका जागिरे हुन्थे । अब दलित समुदायका भीम भने प्राविधिक विषय नपढेको भए त्यो बेला जागिर खान गाह्रै थियो । विसं २०४७ मंसिरबाट सुरु भएको परीक्षा गर्दागर्दै फागुन २६ गते नियुक्ति पाए ।
दश दिनको तालिम रेडियो नेपालभित्र भएको थियो । रेडियो नेपाल सुन्दै हुर्किएका भीमले रेडियोमै काम गरौंला सोचेका पनि थिएनन् । तर जुर्यो । रेडियोले के काम गर्छ, कसरी प्रसारण हुन्छ, एम डब्ल्यु भनेको के हो, सफ्टवेयरको बारेमा, ट्रान्समिटर भनेको के हो, मेसिनको टेक्निकलपार्टको बारेमा जानकारी थिएन ।
तालिम सकेर खुसी हुँदै घर फर्किएका भीम केही समयपछि डोटी-दिपायल लागे । डोटीको यात्रा अलिकति कष्टपूर्ण रह्यो उनको । चालिसको दशकमा अहिलेको जस्तो कर्णाली नदीमाथि पाँच सय मिटरको पुल बनेको थिएन । पौडी खेलेर कि डुंगाबाट तर्नु पर्थ्यो ।
‘नेपालगञ्जदेखि धनगढी जान १२ घण्टा लाग्थ्यो । अहिलेको जस्तो सजिलो थिएन । दुःख गरेर गइन्थ्यो । कर्णालीमा पुल थिएन, जाँदा पहिला फेरीबाट तर्नुपर्थ्यो । जिन्दगीमा पहिलोपटक फेरी कर्णालीमा नदी माथि देखेको हो’,उनले ती दिन सम्झिए ।
चिसापानीको कर्णाली पुल र डोटीमा रेडियो नेपालको उत्घाटन एकै दिन भएको सम्झिन्छन्, उनी भन्छन्, ‘सुदूरलाई जोड्ने पुल र सुदूरको स्थानीय भाषामा बोलिने रेडियोको साक्षी हुन पाइएको थियो । विकासको नाममा देखिएको रेडियो र पुलले धेरैथोक जोड्यो सूपसँग ।’
हुन त उनलाई डोटीमा जान गाह्रो छ । बस्न सक्दैनस् भन्थे उनीसँग । उनी सहजले भन्थे, ‘मान्छे विदेश जान्छन्, अरूको देशमा गएर त बस्न सक्छन्, मचाहिं मेरै देशमा किन बस्न सक्दिनँ ? म नेपालको जुन कुनामा गएर पनि बस्न सक्छु ।’
यसो भन्ने मान्छे रेडियोको कर्मचारी भएर २२ वर्ष डोटी दिपायलमा बसे । सुरुसुरुमा त धेरै गाह्रो भएको सम्झिन्छन् उनी । दिपायल जाँदाजाँदै पाएका दुःख अनेकन रहे ।
बाटोमा परेको हिउँले गर्दा रोकिनु परेको पीडा, अकुल्टेको लेकमा पाएको दुःख । गाउँमा जाँदा खाना नपाएर धेरै टाढासम्म पैदल हिँड्नु परेको थियो । उनी एक रोचक किस्सा सुनाउँछन्- एकदिन सधैं खाना खाने होटल बन्द भएको रहेछ । होटल नजिकै बिहे घर रहेछ । सबैले बिहे घरतिर जाऊँ भने तर अचानक कतैबाट जन्तीलाई लिन आए । जन्तीलाई पहिला भतेर दिने चलन रहेछ ।
‘हामी जन्ती होइन भन्दाभन्दै जबर्जस्ती भतेरको भात खुवाए’, उनी सम्झिन्छन्, ‘त्यसपछि बिहेको भोजमा पाँच जना पत्रकारले खाना खाइयो र तिनीहरूकै घरमा पाहुना बनेर बसियो । रेडियोकर्मीलाई त्यहाँको समाजले दिएको माया अहिले पनि बिर्सिन सक्दिनँ ।’
०००
सुदूरपश्चिम सांस्कृतिक विविधता र भाषाको बाहुल्यता भएको क्षेत्र हो । डोटीभित्रै अनेक भाषा छन् । पहिलोपटक डोटी पुग्नेलाई भाषा बुझ्न निकै गाह्रो हुन्छ । अझ एउटा सरकारी कर्मचारीले भाषा बुझेन भने स्थानीयसँग घुलमिल हुन गाह्रो हुन्छ । २०४७ चैत्र २० गते वार्षिकोत्सवको बेला खसी खोज्दै गाउँ-गाउँ डुल्ने क्रममा त्यहाँका बासिन्दाले भाषा नबुझेर लखेटेको याद गर्छन् भीम । भन्छन्, ‘कर्मचारीलाई स्थानीय भाषाको थोरबहुत ज्ञान हुनु जरुरी रहेछ । स्थानीय भाषाले सामाजिक सद्भाव मात्र नभएर सम्बन्धको विकास पनि गर्दो रहेछ ।’
विसं २०५७ पछि भीम विभिन्न कार्यक्रमको नाममा गाउँ-गाउँ पुगे । स्थानीय भाषालाई आत्मसाथ गरेसँगै उनी त्यहाँ सबैसँग नजिकिए । त्यहाँको भूगोल र समुदायको दुःख र पीडासँग सहकार्य गर्दै अगाडि बढे । डोटीको सांस्कृतिक पक्ष र रहनसहनसँग उनी लोभिएका रहेछन् । रेडियोमा जागिरे हुने क्रममा उनले सुदूरपश्चिमको भौगोलिक दृष्य मात्रै नभएर अभाव पनि देख्नु पर्यो ।
‘पचासको दशकमा बाटो, यातायात, बिजुलीबत्ती, स्वास्थ्य, शिक्षा, खानेपानी केहीको पनि सुविधा थिएन । सरुमा बत्तीको राम्रो व्यवस्थापन थिएन । एउटा सानो १० किलोवाट हाइड्रोपावर मात्र थियो । त्यहाँको स्थानीय बासिन्दाले भन्नुहुन्थ्यो- रेडियो नेपाललाई बत्ती दिनुभन्दा हामीलाई बत्ती बाल्न, पंखा चलाउन दिनुपर्यो । उहाँहरूले आफैंले जेनेरेटर चलाएर गर्नुभयो पहिला त बिहान ७-९ र साँझ ७-९ हुन्थ्यो तर आजभोलि त्यो समस्या छैन’, उनले दुःखका दिन सम्झिए ।
डोटी दियापल बसेर काम नगरेको भए अहिले यहाँ पुग्ने थिइनँ भन्ने लाग्छ उनलाई । आफूलाई डोटीको माटोको उपज ठान्छन् । सुदूरको भाषा संस्कृति र रहनसहन अहिले पनि नबिर्सिएकाे बताउँछन् । उनी भन्छन्, ‘केही सिक्नका लागि फरक भूगोल, भाषा, समुदायमा काम गर्नुपर्छ । मलाई अहिले पनि त्यहाँकाे भाषा, संस्कृति र रहनसहन भुलेकाे छैन । ’
भीम डोटी पुग्दा एउटा जिल्ला अस्पताल सिलगडी सम्झिन्छन् । बाँकी त मानिसहरूले बिरामी हुँदा धामी/झाँक्री गर्न खोज्थे ।
‘अस्पताल र यातायात तथा बाटोघाटोको अभावमा पूर्वको मान्छेको मृत्यु भयो भने पश्चिमको मान्छे सहभागी हुन निकै गाह्रो हुन्थ्यो त्यो बेला’, उनी भन्छन्, ‘रेडियोले जनचेतना गर्दै गरेपछि भाइचारा बढ्दै गयो । काम गर्ने क्रममा थुप्रै बाधा र घटना घटेका थिए । जस्तै- शैलेश्वरी घटना, विभेदको रूपमा काम गर्नुपर्दा जस्तै जातीय विभेदको आवाज उठाउँदा त्यतिबेला गैरदलित समाजका व्यक्तिले विरोध गरेका थिए, पत्रकारलाई टार्गेट गरिएको थियो, जहाँ त्रासैत्रासमा काम गर्नु पर्थ्यो ।’
पूर्वका भए पनि भीम सुदूरका गीतको लत लागेको बताउँछन् । सांस्कृतिक पर्वहरूमा उनले २२ वर्ष सुदूरकै देउडा बजाए । उनले आफैंले लय बनाएर केशवराज फुलरासँग सहकार्य गरेर देउडा गीतको पनि रेकर्डिङ निकालेका थिए । उनी भन्छन्, ‘सुदूरपश्चिममा बसेर होला, मलाई देउडा असाध्यै मनपर्छ ।’
अहिले पनि आफैंले ३-४ वटा गीत रेकर्डिङ गरेका छन् भीमले । देउडा गायक भुवन दाहालसँग पनि लामै सहकार्य गरेका छन् ।
विसं २०४५-४७ दोस्रो फेजमा पहिलो रेडियो नेपालको क्षेत्रीय प्रशारणको अनएअरको रूपमा काम गर्न पाएको सुनाउँछन् उनी । हाल सिंहदरबारभित्र रेडियो नेपालमा व्यस्त भए पनि उनको दैनिक डोटीको साथीहरूसँग गफ हुन्छ । काम कर्तव्यकै कुरा हुन्छ ।
‘कर्मचारी भएपछि अर्को कर्मचारीको माया लाग्ने त भइहाल्छ । केही साथीलाई त नसम्झी मनले नै मान्दैन’, भीमले भने । कर्मचारी भएपछि काममा इमान्दारिता हुनुपर्छ भन्छन् उनी । डोटी दियापल बसेर काम नगरेको भए अहिले यहाँ पुग्ने थिइनँ भन्ने लाग्छ उनलाई । आफूलाई डोटीको माटोको उपज ठान्छन् । सुदूरको भाषा संस्कृति र रहनसहन अहिले पनि नबिर्सिएकाे बताउँछन् । उनी भन्छन्, ‘केही सिक्नका लागि फरक भूगोल, भाषा, समुदायमा काम गर्नुपर्छ । मलाई अहिले पनि त्यहाँकाे भाषा, संस्कृति र रहनसहन भुलेकाे छैन । ’
कर्मचारीले सकेसम्म एकपटक सुदूरपश्चिम बसेर काम गर्नै पर्ने जोड दिन्छन् उनी । रेडियोमा कार्यक्रम उत्पादन तथा सञ्चालन पनि गरे उनले । जस्तै: कानुनी सचेतना, खानेपानी, जलस्रोत व्यवस्थापन, विभेद प्रकोप जोखिम व्यवस्थापन, बाढी पहिरो रोक्न, जस्ता दर्जन बढी रेडियो कार्यक्रम बनाए । अहिले पनि त्यसलाई निरन्तरता दिँदै आएका छन् । महिला बालबालिका र गाउँघर कसरी सुधार्ने जस्ता कुरामा उनी गम्भीर छन् ।
सुुदूरको विगट गाउँमा पुगेर उनले थुप्रै तालिम दिएका छन् । तराईमा जन्मिए तर पहाडका दुःख गरे । डोटीबाट २०७४ सालमा रेडियो नेपालको केन्द्रीय कार्यालयमा सरुवा भएर आए पनि हरेक वर्ष उनी डोटी पुग्छन् । कर्मचारीको नाताले रेडियो हेर्छन् । रेडियो कर्मचारी भएर ३२ वर्ष बिताएका भीम रेडियो नेपालको प्राविधिक अधिकृत भएर अहिले पनि काम गरिरहेका छन् ।