काठमाडौं । पछिल्लो समय समाजमा महिलाप्रतिको दृष्टिकोण परिवर्तन हुँदै गएको छ । भूमिका र अवसर पाएमा महिलाले काम गर्न सक्छन् भन्ने कुरा प्रमाणित पनि भएको छ । विगतमा जस्तो पुरुष र महिलामा हुने विभेद पनि न्यून हुँदै गइरहेको छ । त्यसै अनुरूप महिलाहरू पनि हरेक क्षेत्रमा सक्षम प्रमाणित भइसकेका छन् । तिनै महिला मध्येकी एक उदाहरणीय व्यक्ति हुन् सुनिता नेपाल । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेकी नेपाल एक अब्बल राष्ट्रसेवक कर्मचारी हुन् ।
काठमाडौंमा जन्मिएकी नेपाल परिवारको चार सन्तानमध्येकी माइली छोरी हुन् । दाजुभाइ नभएका कारणले सानै उमेरबाट परिवार सम्हाल्ने जिम्मेवारी आफ्नो पनि रहको उनले महसुस गर्ने गरेकी थिइन् । काठमाडौंकै अमर राजन विद्यालयमा उनले कक्षा ३ सम्म अध्ययन गरिन् । त्यसपछि हिमालय विद्या मन्दिरबाट उनले ०४७ सालमा एसएलसी पास गरिन् । उच्च शिक्षा अध्ययनका लागी नेपाल कमर्स क्याम्पस मीन भवनमा भर्ना भएकी उनले उक्त क्याम्पसबाट एमबिएसम्मको अध्ययन पुरा गरिन् । एक वर्षे बि.एड समेत अध्ययन गरेकी सुनिताले जागिर खाने क्रममै ०६३ सालमा छात्रवृत्ति मार्फत कोरियाबाट 'कोअपरेटिभ डेभलप्मेन्ट'मा स्नातकोत्तर समेत गरेकी छिन् ।
शिक्षण छाडेर आइन् निजामती सेवामा
पढाई सँगसँगै शिक्षण पेसामा आबद्ध भएकी सुनिता घरको जिम्मेवारीका कारण एसएलसी पश्चात् नै विभिन्न विद्यालयहरूमा शिक्षकको रूपमा काम गर्थिन् । शिक्षण पेसामा रहँदा उनी विद्यालय र कलेजका विद्यार्थीहरूलाई लेखा विषय अध्यापन गराउँथिन् । उनी निजामती सेवामा भने ढिलो प्रवेश गरेकी हुन् ।
०६० सालमा महिला मन्त्रालयद्वारा त्रिभुवन विश्वविद्यालयमा महिलाका लागि तालिम खुलेको थियो । त्यहाँ ९ दिनको प्रवेश परीक्षा चलिरहेको थियो । त्यसमा नाम निकालेर उनले दुई वर्षका लागि लोक सेवा तयारी कक्षा लिने अवसर पाइन् । कक्षा निजामती कर्मचारीहरूले नै सञ्चालन गरेका थिए । एक वर्षसम्म निरन्तर तयारी कक्षामा उपस्थित भएपछि उनले लोकसेवाको परीक्षा दिइन् । लोक सेवा दिएपनि उनले शिक्षण पेसा छोडिनन् ।
महिला मन्त्रालयमार्फत २१ दिनको तालिममा सहभागी भएपछि ०६१ सालमा उनले अधिकृतमा नाम निकालिन् । त्यसपछि शाखा अधिकृतको रूपमा उनको दरबन्दी तत्कालीन कानुनी प्रशासन मन्त्रालयमा भयो । उनले त्यहाँ तीन वर्षे कार्यभार सम्हालिन् । ०६३ सालमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा उनको सरुवा भयो । मन्त्रालयमा ०७० सालसम्म उनले काम गरिन् ।
घरायसी समस्याले आफू लामो समय मन्त्रालयमा रहेको उनी बताउँछिन् । घरमा दाजुभाइ नभएकाले बिरामी बा आमाको हेरविचार गर्नुपर्न दायित्व उनको काँधमा थियो ।
मन्त्रालयमा रहँदा कुशल कार्यसम्पादन र प्रभावकारी भूमिका निभाएकाले उनले छुट्टै पहिचान बनाएकी थिइन् ।
अधिकृतको ९ वर्ष लामो अनुभव बटुलेर ०७० सालमा खुल्ला प्रतिस्पर्धाबाट उनले उपसचिवमा नाम निकालिन् । उपसचिव भएपछि उनले केही महिना कामको जिम्मेवारी पाइनन् । कामको जिम्मेवारी नपाएपछि केही समय यत्तिकै बित्यो । स्वास्थ्य मन्त्रालयमा पद खाली हुँदा पनि जान नपाउँदा उनी केही महिना जिम्मेवारी विहीन जस्तो भइन् । ४ महिना अतिरिक्त बसेकै बेला महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा नयाँ शाखा खुल्यो । त्यहाँ काम गर्न बोलाएपछि उनी पुनः महिला मन्त्रालयमा गइन् । उपसचिव हुँदा महिला मन्त्रालयका विभिन्न शाखामा गरी उनले ७ वर्ष काम गरिन् ।
०७७ सालमा आन्तरिक प्रतिस्पर्धाबाट उनी सहसचिवमा नियुक्ति भइन् । सहसचिव भएपछि उनले प्युठान र सिन्धुलीको सिडिओको जिम्मेवारीमा रहेर काम गरिन् । प्युठानमा १० महिना काम गरेपछि विगत ८ महिनाबाट उनी सिन्धुलीको प्रमुख जिल्ला अधिकारी रूपमा कार्यरत छिन् ।
मन्त्रालयमा बस्दा आफूले धेरै नीतिगत काम गरेको र महिला भएकै करणले खासै जिम्मेवारीबाट टाढा नराखेको उनी बताउँछिन् । सहसचिव भएपछि भने महिला भएकै करण जिम्मेवारी पाएर त्यसको पूर्ति गर्ने भन्दापनि जिम्मेवारीको लागि संर्घष गर्नुपरेको उनी बताउँछिन् । उनी भन्छिन्, 'नीतिगत तहमा बसेका व्यक्तिबाटै यस्ता विभेदकारी कार्य हुनु भनेको महिलामाथि विभेद मात्र नभएर समग्र कानून तथा नीतिको अपहेलना र मानव अधिकार तथा महिला हकहितमाथि प्रहार हो ।'
महिला भएर आरक्षण खोज्ने भन्दापनि आफूले आफ्नो क्षमता देखाएर अघि बढ्नुपर्ने उनी बताउँछिन् । अवरोध र वाधा जहाँ-जसलाई पनि हुन्छ । काम गर्ने कुरामा आफूलाई खासै अवरोध नभए तापनि महिलालाई अझैपनि उचित सम्मान र कार्य दक्षताको मूल्यांकन हुने नगरेको उनी बताउँछिन् । काममा योग्य रहेको प्रमाणित गर्न सके जिम्मेवारी स्वतः थपिँदै जाने उनको बुझाई छ ।
जागिरे जीवन र परिवार दुवैको सन्तुलन जरुरी
जागिरे जीवन र परिवार सन्तुलनमा राख्न परिवारको पनि उत्तिकै भूमिका र महत्त्व रहने उनले बताइन् । दस-पाँचको दैनिकी बाहेक कहिलेकाहीँ बाहिर गएर पनि काम गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा परिवारले बुझेनन् भने काममा नकारात्मक असर पर्ने उनको भनाई छ । उनले भनिन्, 'कार्यालयको कामले गर्दा परिवारलाई सोचे जति समय दिन भने सकिँदैन ।'
निजामती क्षेत्रमा समय तालिका बनाएर काम गर्नुपर्ने हुँदा आफूले चाहेको बेलामा समय निकाल्न नमिल्ने उनको अनुभवले बताउँछ । 'परिवारको साथ र सहयोग बिना यसलाई सन्तुलनमा राख्न अवश्य नै सकिँदैन । घरका कतिपय कामहरू महिलाले नै गर्नु पर्छ भन्ने मानसिकता रहेको हुनसक्छ', उनी भन्छिन्, 'यसमा आफ्नो श्रीमान् कतिको सहयोगी छन् भन्ने कुरामा भर पर्छ । समय मिलाउन कर्मचारीका लागि एउटा चुनौतीको विषय हो ।' काममा उत्कृष्टता देखाउन परिवारको उत्तिकै भूमिका रहेको उनको बुझाई छ ।
कर्मचारीतन्त्र प्रति जनता एकदमै निराश भएको अवस्था छ । यो निराशापन छाउनमा कर्मचारीको पनि उत्तिकै भूमिका रहेको उनले सुनाइन् । आम जनतालाई सेवा दिने क्रममा सरल-सहज सेवा प्रदान गर्ने भनिए तापनि कतिपय नीतिगत कुराले गर्दा जनताले समयमा सेवा नपाउने गरेको उनले उल्लेख गरिन् ।
आम जनतासँग पनि धैर्यता गर्ने क्षमता नरहेको उनले बताइन् । यद्यपि सर्वसाधारणलाई नीतिगत प्रक्रिया थाहा नभएर पनि यस्तो भएको हुनसक्ने उनको बुझाइ छ । उनका अनुसार प्रक्रियागत रूपमा समय लाग्ने हुन्छ तर कहिलेकाहीँ कर्मचारी खराब हुँदा पनि जनताले सास्ती भोग्नु परेको छ । सेवाको प्रक्रियाबारे कर्मचारीले पनि जनतालाई बुझाउन नसकेको अवस्था रहेको छ ।
सेवाको आधारमा प्रक्रियाको समय निर्धारण हुने र जनतालाई बुझाउन सके कर्मचारीप्रति जनताको दृष्टिकोण परिवर्तन हुने उनले बताइन् । आमजनता र कर्मचारीबिच भएको असमझदारीको कारण समस्या निम्तिने गरेको उनको बुझाइ छ ।
कार्यसम्पादनका आधारमा कर्मचारीलाई जिम्मेवारी
जनतालाई सेवा प्रदान गर्ने क्रममा कर्मचारीले सरल र सहज बनाउँदै लैजानुपर्ने उनको धारणा छ । कतिपय नीतिगत र कानुनी उल्झनको दीर्घकालीन समाधान खोजिनुपर्ने र कार्यविधि अनुसार काम गर्ने क्रममा सेवामा अवरोध नआओस् भन्नका लागि नियमनकारी निकायले पनि आफ्नो दायित्व पुरा गर्नपर्ने उनले बताइन् । सरकारले नियम कानून बनाउँदा जनतालाई सरल र सहज हुने बनाउन जरुरी रहेको र जनताको अपेक्षा अनुसार सेवा सुचारु गर्नुपर्ने उनले उल्लेख गरिन् ।
कुनैपनि कर्मचारीलाई सुरुमा अवसर दिनुपर्ने र कर्मचारीले गरेका कार्यसम्पादनको हिसाबले मात्र जिम्मेवारीमा हेरफेर गरिनुपर्ने उनले बताउँछन् । उनी भन्छिन्, 'कर्मचारीलाई अवसर नै नदिई निरुत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।'
यसको लागि सम्पूर्ण निकायको ध्यान जान जरुरी रहेको उनले बताइन् । कोही आरक्षणबाट आएको भन्दैमा अवसर नदिनुको साटो तालीममार्फत योग्य र सक्षम बनाएर जिम्मेवारी दिनुपर्ने उनको सुझाव छ । महिला भएकै कारणले जिम्मेवारी नदिँदा क्षमता मापन हुन नसक्ने तर्क उनले प्रस्तुत गरिन् ।
महिला मन्त्रालयमा रहँदा उनले तीन वर्ष मानव बेचबिखन नियन्त्रण शाखामा काम गरेकी थिइन् । उक्त शाखामा काम गर्दा उनले मानव बेचबिखनविरुद्ध अनुसन्धान गरी तालीका बनाएर विभिन्न निकायहरूलाई तालीम प्रदान गरेकी थिइन् । वार्षिक प्रतिवेदन निकालेर उक्त कार्यको समीक्षा हुने गरेको उनले सुनाइन् ।
निजामती क्षेत्र विना लगानी सेवा गर्ने एक उत्कृष्ट माध्यम रहेको उनले बताइन् । उनका अनुसार लगानी नगरी जनतालाई सेवा दिनु एक हिसाबले गरिने धर्म हो । कमाउने हेतुले कोही यस क्षेत्रमा प्रवेश गर्न चाहने व्यक्तिलाई उनी अवसरवादी बताउँछिन् ।
व्यापार तथा अन्य जागिर जस्तो निजामती क्षेत्र कमाउने थलो नभएको उनको तर्क छ । उनी भन्छिन्, 'धेरै सम्पत्ति कमाउन चाहनेले यस क्षेत्रमा प्रवेश नगर्दा उचित हुन्छ । जो सेवा गर्छु भन्ने हेतुका साथ आउँछ उसलाई यस क्षेत्रमा रहेर काम गर्दा सहज हुन्छ ।'
यस क्षेत्रमा प्रवेश गरेपछि देशको जुनसुकै भूभागमा गएर काम गर्न सक्छु भन्ने मानसिकता भए यो क्षेत्र उत्कृष्ट रहेको उनको भनाई छ ।
बा-आमालाई छाड्ने आँट कहिल्यै आएन
परिवारमा दाजुभाइ नभएको कारणले उनी बुवा आमासँग बस्नुपर्ने हुन्थ्यो । बुवा बिरामी भएकोले कहिल्यै पनि उनले काठमाडौं छोडिनन् । आफूलाई जन्माएर, पढाएर यो स्थानसम्म पुर्याउने बा आमालाई छोड्ने आँट नभएको उनी बताउँछिन् । काठमाडौं केन्द्रित भएर जागिर खानु रहर नभएर बाध्यता भएको उनले सुनाइन् । 'आफूले कामको माध्यमबाट प्रमाणित गर्न सकेर पनि होला चाहेर नचाहेर लामो समयसम्म सरुवा भएन', उनी भन्छिन्, 'अहिलेसम्म जिम्मेवारीमा रहँदा कसैले पनि औँला उठाउने काम गरेको छैन ।'