काठमाडौं । 'जीवन भनेको पुरस्कार हो । राम्रो जीवन व्यतीत गर्ने मानिसबाट धेरै व्यक्ति प्रेरित हुने गर्छन् ।' यो भनाइ मेरो होइन, वन तथा वातावरण मन्त्रालयकी उपसचिव निर्मला थापाको हो ।
जीवन काँचो माटो रहेको र त्यसलाई मालिकले जस्तो चाह्यो त्यस्तै आकार दिन सक्ने उनी बताउँछिन् । वन मन्त्रालयको खुड्किला उक्लिँदै गर्दा जीवनबारे निकै सकारात्मक सोच राख्ने कसैसँग भेट हुँदै छ भन्ने मैले सोचेको थिइन । जीवनमा आएका हरेक चुनौतीलाई अवसरको रूपमा लिने थापा नुवाकोटको शिवपुरी गाउँपालिका (साबिक सिक्रे गाविस वडा नम्बर ७) मा जन्मिएकी हुन् । हाल बुढानीलकण्ठमा बसोबास गरिरहेकी उनी सानै छँदा परिवारसँग बसाइ सरेर उनी बुढानीलकण्ठ आइपुगेकी हुन् । ०५६ सालबाट निजामती क्षेत्रमा प्रवेश गरेकी थापा ०७१ सालमा उपसचिव भएकी हुन् ।
प्रावि तहको अध्ययन नुवाकोटको श्री जाल्पा देवी माविबाट सुरु गरेकी उनले सोही विद्यालयबाट ०४३ सालमा एसएलसी पास गरेकी हुन् । विद्यालयको राम्रो विद्यार्थीमा पर्ने उनी अतिरिक्त क्रियाकलापमा समेत सक्रिय रहन्थिन् । त्यतिबेला विशेषगरी चेस तथा भलिबल खेल्ने गरेता पनि यसमा भविष्य भने उनले सोचेकी थिइनन् ।
परिवार बसाइ सरेकाले त्यसपछिको अध्ययन उनले काठमाडौंबाट पुरा गरिन् । लैनचौरस्थित कन्या क्याम्पसबाट उनले आइए/पिसिएल गरिन् । ०४६ को आन्दोलन सुरु हुँदा उनले आइए सकिसकेकी थिइन् । बुढानीलकण्ठतिर आन्दोलनको असर त्यति नभएकाले उनी आन्दोलनमा भने लागिनन् । स्नातक त्रिचन्द्र र कीर्तिपुरस्थित टियुबाट स्नातकोत्तरसम्मको अध्ययन उनले गरिन् । क्याम्पसमा मानविकी संकायअन्तरगत अर्थशास्त्र लिएर उनले स्नातकोत्तर गरेकी हुन् ।
बाल्यकालका स्मृतिहरू
सजिलै विद्यालय र क्याम्पस तहको अध्ययन गरेकी उनलाई अध्ययन गर्ने क्रममा कुनैपनि किसिमको अप्ठ्यारो परेन । किनभने उनको घर/समाजमा छोरीलाई पढ्न पठाउनुपर्छ भन्ने चेत थियो ।
परिवारको अर्थतन्त्र कृषिमा निर्भर थियो । साथै, बुवाको राइस मिलबाट समेत आम्दानी हुने गरेको उनी सम्झिन्छिन् । जसले गर्दा मानिसहरूको भिडभाड उनले सानैबाट देख्न पाएकी थिइन् । उनी भन्छिन्, 'भिडभाड हुन्थ्यो, मिलमा आउनेहरूको गफ सुन्न रमाइलो लाग्थ्यो ।'
उकाली-ओराली गर्दै विद्यालय गएका रमाइला दिनहरू उनको स्मृतिमा ताजा छ । साथीभाइसँग रमाइलो गर्दै विद्यालय गएका दिनहरू सम्झिँदा उनलाई अहिले पनि रमाइलो लाग्छ । अहिले भने पहिलाको जस्तो माहौल र समाज नरहेको उनले महसुस गरेकी छिन् ।
उनी सम्झिन्छिन्,'त्यो बेला जहाँ गएपनि असुरक्षित महसुस हुँदैन थियो । समाजमा एक किसिमको अपनत्व थियो । अहिले छुट्दै गए...' केटाकेटी हुँदै बसाइ सरेर आएको र गाउँ पनि धेरै नजाने हुनाले गाउँले जीवन कतै छुटेको उनी महसुस गर्छिन् ।
सुरुमा बुढानीलकण्ठ आउँदा सहर आएको जस्तो उनलाई लागेको थियो । तर समयसँगै सहरसँग परिचित हुनु थियो नै । सहरका विविध किसिमका मानिसहरूबिचको जीवन बिस्तारै सजिलो हुँदै गयो । समयसँगै सबै कुराको तालमेल मिल्दै गयो ।
अञ्जानमै निजामती क्षेत्रमा प्रवेश
निजामती क्षेत्रमा काम गर्ने चाहना बोकेर, त्यसको तयारी गरेर उनी यसमा प्रवेश गरेकी होइनन् । स्नातकोत्तर गरेपछि फालाफाल रोजगारी पाइन्छन् भन्ने सोचाइ थियो । तर, रोजगारीको वास्तविकता अर्कै थियो । चित्त बुझ्दो कामको खोजीमा उनी कलेज पढाउन गइन् । पार्ट टाइम पढाउने प्रस्ताव आए । तर, दैनिकी चलाउन गाह्रो थियो । शिक्षा क्षेत्र भद्रगोल रहेको बुझेपछि उनलाई चित्त बुझ्ने कुरा भएन । परीक्षा समयमा नहुने, प्रतिस्पर्धा नहुने आदि कुराले शिक्षा क्षेत्रप्रति वितृष्णा जागेको उनी बताउँछिन् । साथै, शिक्षामा सुनिश्चित भविष्य पनि देखिएन ।
रोजगारी र अवसरको खोजीको क्रममा त्यो समयमा उनले एक संस्था पनि खोलिन् । 'उत्साही महिला सामाजिक आर्थिक कल्याण केन्द्र' नाम गरेको उक्त संस्थाले महिला सशक्तीकरण, शिक्षा क्षेत्रका काम गर्ने गर्छ । काठमाडौंकै केही साथीहरूसँग मिलेर सुरु गरिएको संस्थालाई समय दिन उनले नभ्याउने भएपछि साथीहरूले सञ्चालन गरिरहेका छन् ।
निष्पक्ष प्रतिस्पर्धा हुने ठाउँ लोकसेवा रहेकाले र साथीहरू पनि यसमा आबद्ध भएकाले यस क्षेत्रमा प्रवेश गर्ने सोच बन्यो । निजामतीको यात्रा उनले सुब्बाको परीक्षाबाट सुरु गरेकी हुन् । ०५६ सालमा दिएको परीक्षाका लागि उनले कुनै अध्ययन गरेकी थिइनन् । गोरखापत्रबाट लोकसेवा खुलेको थाह पाएकी निर्मलाको फारम पनि बहिनिले भरिदिएकी थिइन् ।
काठमाडौंबाट परीक्षा दिएकी उनलाई मनमा स्नातकोत्तर गरिसकेको मान्छेले सुब्बाको परीक्षा दिने कि नदिने भन्ने दोधार भइरहेको थियो ।
परीक्षा दिएपछि नतिजा सार्वजनिक भएको पनि थाहा नपाएर उनी थेसिस लेख्नका लागि कीर्तिपुर गएकी थिइन् । गोरखापत्र हेर्ने क्रममा उनले आफ्नो नाम देखिन् र बल्ल आफू पास भएको थाह पाइन् । परीक्षा राम्रो नभएकाले आफ्नो नाम निस्किनेमा शंका थियो । किनभने परीक्षा भवनबाट उनी निर्धारित समयभन्दा अघि नै निस्किएकी थिइन् । उनले आफू पास भएको कुरा रुजु गर्न आयोगमा फोन समेत गरिन् । बुवा र हजुरबुवाको नाम मिलेपछि बल्ल आफू पास भएछु भनेर उनलाई विश्वास लाग्यो । तर, अन्तर्वार्ता कहिले हुन्छ भनेर उनले सोध्न बिर्सिन् । लोकसेवामा अन्तर्वार्ता हुन्छ भन्ने समेत उनलाई थाह थिएन ।
०५६ साल वैशाखमा लिखित परीक्षाको नतिजा आएसँगै करिब २ हप्ताभित्र अन्तर्वार्ताको मिति तोकिएको थियो । तर, उनी गाउँतिर लागिन् । घरका सदस्यले अन्तर्वार्ता दिन सम्झाएपछि उनले आयोगमा फोन गरिन् र, अन्तर्वार्ताका लागि ४/५ दिन मात्र बाँकी रहेको जानकारी पाइन् ।
अन्तर्वार्ताको दिन सरासर परीक्षा दिएको स्थानमा खाली हात पुगिन् । जबकि त्यहाँ धेरै किसिमका कागजातको आवश्यक पर्थ्यो । अन्तर्वार्ता लिने ठाउँमा पछि पेस गर्दा पनि हुन्छ भनेर अन्तर्वार्ता लिइदिएपछि उनलाई राहत भयो । अन्तर्वार्तामा नाम निस्किने कुरामा पनि उनलाई शंका थियो । सम्बन्धित निकायबाट नियुक्ति लिन बोलाएपछि उनले आफू पास भएको थाहा पाएकी हुन् ।
संस्था भर्खरै स्थापना गरेकाले नाम निस्किए पनि जाने की नजाने भन्ने अन्यौलता थियो । उनले यस बारेमा साथीहरूसँग सल्लाह गरिन् र काठमाडौं नियुक्ति पाए गर्ने निर्णयमा पुगिन् । यति बेलासम्म केही साथीहरूले नियुक्ति समेत लिइसकेका थिए । आफ्नो ब्याचबाट नियुक्ति लिने उनी अन्तिम व्यक्ति हुन् । उनको पोस्टिङ काठमाडौंमै भयो । स्थानीय विकास मन्त्रालयमा उनले पहिलो नियुक्ति पाइन् ।
यसरी निजामती क्षेत्रमा प्रवेश गरेकी उनी १ वर्षपछि अफिसर भइन् । ०५६ को पुसमा अधिकृतको परीक्षा दिएर ०५७ सालमा उनले नाम निकालेकी हुन् । अफिसर भएपछि उनको नियुक्ति योजना आयोगमा भयो । केही महिना तालिम भएपश्चात् ०५७ सालमा उनी योजना आयोग गएकी हुन् । आयोगमा उनले करिब ७/८ वर्ष काम गरिन् ।
आयोगमै रहँदा उनी पढ्नका लागि जर्मन समेत गइन् । 'इन्टरनेशनल लिडरसिप'को अध्ययन गरेर फर्किएपछि ०६६ मा वाणिज्य मन्त्रालयमा उनी आबद्ध भइन् । त्यहाँ उनले करिब ५ वर्ष जति काम गरिन् र ०७१ सालमा उपसचिवमा बढुवा भइन् । त्यसपछि श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयमा ३ वर्षभन्दा बढी निर्देशकको रूपमा काम गरिन् ।
निजामती सेवामा रहँदा उनले प्रदेशमा गएर समेत काम गरेकी छिन् । उनले बागमती प्रदेशमा डेढ वर्ष काम गरेकी हुन् । सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएम)मा केही महिना काम गरेर उनी युएई एम्बेसीमा श्रम काउन्सिलर भएर गइन् । ०७६ सालमा नियुक्त भई २ वर्ष बसेपछि उनी वन तथा वातावरण मन्त्रालयमा ०७९ सालमा आइपुगेकी हुन् ।
आफ्नो पहिचान आफैंले गर्नुपर्छ
सरकारी सेवाअन्तर्गत सेवा दिने ठाउँमा भएकाले उनी सन्तुष्ट छिन् । सरकारले आफ्नो क्षमता अनुसारको सेवा सुविधा दिएको बताउँछिन् । यद्यपि, केही बढी दिनपर्ने जस्तो उनलाई लाग्छ । शासन प्रणालीमा सुधार हुनुपर्ने भए तापनि नभएको उनको बुझाइ छ । पहिलेको तुलनामा शासन प्रणाली कमजोर भएको उनले महसुस गरेकी छिन् । राजनीतिक अस्थिरताका कारण नेतृत्व परिवर्तन भइरहने, प्रतिबद्धता पुरा नहुने आदि कारणले सुशासनको अनुभव जनताले गर्न पाएका छैनन् । निजी क्षेत्रबाट पनि सन्तोषजनक काम नभएको उनले बताइन् ।
आफ्नो कर्तव्य नहेर्ने अरूको मात्र हेर्ने प्रचलन समाजमा चलिरहेको छ । प्रत्यक्ष सेवा दिने ठाउँमा केही विकृति भए तापनि आफ्नो क्षमताभन्दा राम्रो काम गर्ने कर्मचारी समेत रहेको उनले देखेकी छिन् । राम्रो काम गर्नेले आफ्नो पहिचान आफैंले गर्नुपर्ने उनी उल्लेख गर्छिन् ।
वैदेशिक रोजगार बोर्डमा रहँदा
बोर्डको सचिवालयमा प्रत्यक्ष रूपमा सेवाग्राही (पीडित) आउने हुनाले वैदेशिक रोजगारीको क्रममा विभिन्न घटना तथा दुर्घटनामा परेका मानिसहरूलाई राम्रो सेवा दिएको उनी बताउँछिन् । सेवाग्राहीहरू त्यहाँको सेवाबाट निकै सन्तुष्ट हुने गर्थे । पीडितहरूलाई बैंक जसरी नै चेक काटेर पैसा दिने गरिन्थ्यो । कतिपयले 'बोर्डको जस्तो सेवा हुनुपर्छ भनेर मैले बिमा लगायतका अन्य निकायमा भनेको छु' समेत भन्ने गर्थे ।
बोर्डमा सम्भव भएसम्म प्रयास गरेर कार्यविधि बनाइ सरल तथा सहज सेवा दिने गरिएको थियो । उही दिन सेवा कसरी दिने भन्ने विषयमा गम्भीर हुने गरेको उनले सुनाइन् ।
उनी भन्छिन्, 'सेवाग्राहीहरू टाढा-टाढाबाट आउँथे । काठमाडौं बस्नु पर्दा खर्च बढी हुने हुनाले शुक्रवार आएका सेवाग्राहीलाई पाँच बजेसम्म बसेर भएपनि सेवा दिन्थ्यौँ ।' यसो नगरे सेवाग्राही शनिवार समेत काठमाडौं बस्नुपर्ने हुन्थ्यो ।
कार्यालयमा बिचौलिया पनि आउने गरेको उनले उल्लेख गरिन् । तर, त्यस्ता व्यक्तिको पहिचान गरी उनीहरूलाई कार्यालय बाहिरै बस्न लगाउने गरेको उनले सुनाइन् । पीडितले तोकेको कागजातहरू ल्याउनासाथ काम हुन्थ्यो । बाहिर फरक वातावरण सिर्जना गर्ने, कर्मचारीलाई दोष लगाउने आदिलाई सकेसम्म निरुत्साहन गर्न खोजेको उनी बताउँछिन् ।
युएई मा पनि कुनै कार्यविधि नभएको, कम्पनीको कुनै गाइडलाइन नभएको अवस्था थियो । यसलाई सुधार गर्दै सबै गाइडलाइन बनाएर कोरोनाको समयमा वेबसाइटमा अपलोड गर्ने काम उनले गरिन् । जसले गर्दा वैदेशिक रोजगारीमा गएकाले कसैलाई केही सोध्नै नपर्ने स्थिति सिर्जना भएको थियो । माग पत्र, चाहिने कागजात लगायत सबैको जानकारी राखिएको उनले बताइन् ।
सबैतिर सुशासनको चाहना
राजस्वमा यसैगरी काम गर्दा ३० प्रतिशतभन्दा बढी राजस्व उठेको उनले बताइन् । मानिसहरू कर छल्न खोज्थे । गोलमटोल बनाएर कागजात ल्याउने र एउटा डकुमेन्टमा २/३ वटा घुसाउने लगायतका बठ्याइँ गर्ने गर्थे । बिस्तारै त्यस्तो काममा पनि कमी आएको उनले उल्लेख गरिन् ।
उनी भन्छिन्, 'जनताले अरबौँ कमाए पनि देश गरिब छ, सरकार परिचित छैन भने कसले सुरक्षा गर्ने' भन्दा केही मानिसले बुझ्ने गर्थे ।' निजी क्षेत्रले पनि सुशासन चाहने उनले उल्लेख गरिन् ।
निजामती कर्मचारी र सर्वसाधारण
निजामती कर्मचारी र सर्वसाधारणको जीवनबिच त्यति फरक नहुने उनी बताउँछिन् । यद्यपि निजामती क्षेत्रमा रोजगारीको सुनिश्चितता भने हुन्छ ।
निजामती कर्मचारीप्रति जनमानसमा नकारात्मक बुझाइ रहेकोप्रति उनले चिन्ता व्यक्त गरिन् । उनका अनुसार यसमा अन्य संयन्त्रले भूमिका खेल्ने गरेको छ । छायामा बस्ने त्यो संयन्त्र (बिचौलिया)ले भ्रम फैल्याउने काम गर्ने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, 'सरकार र जनताबिचमा दूरी बनाइरहेको छ ।'
निजामती सेवामा सुधार गर्न धेरै कुरा आवश्यक रहेको उनले महसुस गरेकी छिन् । नागरिकता सजिलोसँग पाइयोस्, कम्पनी सजिलोसँग रिन्यु होस्, जे व्यवसाय गर्दा पनि बराबर मूल्यांकन र व्यवहार होस् भन्ने अपेक्षा जनतामा छ । जनताको अपेक्षा बमोजिम सजिलो सेवा प्रदान होस् भन्ने उनको पनि चाहना छ ।
बढ्दो महँगाइ घट्दो युवा शक्ति
वैदेशिक रोजगारीमा राम्रो पारिश्रमिक हुने हुनाले युवाहरू आकर्षित हुने गरेका छन् । निजामती क्षेत्रमा समेत पारिश्रमिक निकै कम भएको उनले उल्लेख गरिन् । अन्य देशमा जस्तै आधारभूत कुराहरूको मूल्य उस्तै भएपनि पारिश्रमिक कम भएकाले यस्तो अवस्था आएको उनको ठम्याई छ ।
उनले भ्रमण गरेको मुलुकमध्ये कतिपयमा १२ वर्षसम्म मूल्य नबढेको पाएकी छिन् । तर नेपालमा महँगी लगातार बढिरहेको छ भने पारिश्रमिक यथास्थितिमा छ । निजामतीमा नियमित आय आउने निश्चित भएपनि सन्तोषजनक नरहेको उनी बताउँछिन् । राजस्व बढाउने कुरामा सबैले ध्यान दिए पारिश्रमिक बढ्ने कुरामा उनी ढुक्क छिन् । साथै, राजस्व चुहावट, दुरुपयोगले पनि यसमा भूमिका खेलेको जस्तो उनलाई लाग्छ ।
देशमा रोजगारी नपाएसम्म अरूको भत्ता कटाएर भएपनि युवालाई केही मात्रामा भत्ता दिनुपर्ने उनी बताउँछिन् । जसले उसको जीवन निर्वाहमा सहयोग पुग्नेछ । साथै, देशमै केही गरौँ भन्ने चाहना बढ्नेमा उनी विश्वस्त छिन् । देशमा सबैभन्दा पीडित युवा रहेको उनको बुझाइ छ ।
लोकसेवा पास गर्न ज्यानै फालेर पढ्नु पर्दैन
लोकसेवा भनेर ज्यानै फालेर घोटेर पढ्नु नपर्ने उनी सुझाउँछिन् । रटेर पास भएपनि निर्णय क्षमता नहुने हो भने काम गर्न नसकिने उनी बताउँछिन् । अहिले सूचना, ज्ञान र आइडिया लिनका लागि धेरै माध्यम छन् । एउटा मात्र विकल्प राखेर नहिँड्न उनी सल्लाह दिन्छिन् । बहु आयामिक, रचनात्मक हुँदा सहयोग पुग्ने उनको विश्वास छ ।
लोकसेवा बाहेक अतिरिक्त कुरा पनि सोच्न पर्ने उनी सल्लाह दिन्छिन् । उनी भन्छिन्, 'अरू पनि उपाय हुन्छन् । धैर्यता गर्न सक्नुपर्छ ।'
गाइडलाइनमा बस्ने, तालिका मिलाएर हिँड्ने र २४ घण्टै तनाव लिएर बस्ने गरेन भने जुनसुकै क्षेत्रमा सफल भइने उनको भनाइ छ । उनी भन्छिन्, 'सफल भइएन भने पनि हरेस भने खानुभएन ।'
भविष्यको लागि उनले ठुलो योजना बनाएकी छैनन् । यद्यपि कतै न कतै सम्बद्ध भइन्छ भन्ने उनलाई लाग्छ । उनी भन्छिन्, 'सरकारी क्षेत्र छोडे पनि केही गरिन्छ भन्ने छ ।'