काठमाडौं । एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको हो।
निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २ सय ३५ रुपैयाँ बढेको छ। यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ। निगमले पेट्रोलियम पदार्थको मूल्य पनि बढाएको छ ।
निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेल र मट्टितेलमा समान ३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ। मूल्य समायोजन भएसँगै काठमाडौंमा प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १७० रुपैयाँ कायम भएको छ।
यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ थियो। त्यस्तै, काठमाडौंमा प्रतिलिटर १७८ रुपैयाँ रहेको पेट्रोलको मूल्य १८२ रुपैयाँ पुगेको छ।
आयल निगमले देशको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरेर इन्धनको मूल्य निर्धारण गर्ने गरेको छ। तेस्रो वर्गमा पर्ने काठमाडौँ, पोखरा र दिपायलमा इन्धनको मूल्य सबैभन्दा बढी पर्छ।
दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा प्रतिलिटर पेट्रोल १८१ र डिजेल मट्टितेल १६९ रुपैयाँ कायम भएको छ। त्यस्तै, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर अमलेखगन्ज भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा प्रतिलिटर पेट्रोल १.५० रुपैयाँ सस्तो रहेको छ। यहाँ प्रतिलिटर पेट्रोलको मूल्य १७९.५० र डिजेल तथा मट्टितेलको मूल्य १६७.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।