काठमाडौं । काठमाडौं महानगरपालिकाको बेरुजु ४ अर्ब रुपैयाँ बढी देखिएको छ । काठमाडौं महानगरपालिका, लेखा समितिको २०७३/७४ देखि आव ०७८/७९ सम्मको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार ४ अर्ब ६ करोड ४२ लाख ८ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
लेखा समितिको प्रतिवेदनले करार ठेक्का मार्फत उठाउनु पर्ने आन्तरिक आयतर्फ विभिन्न ९ वटा आयोजनाबाट सम्पत्ति कर, सटर तथा भाडा बाँकी, भवनहरूको नक्सापास अनुसारको दस्तुर, सम्झौताअनुसारको रकम असुल गर्नुपर्ने बेरुजु ५९ करोड ८७ लाख ६६ हजार ६४९ रुपैयाँ छ ।
त्यस्तै, ल्होत्से बहुउद्देश्यीय प्रा.लिको सम्झौता बमोजिम असुल गर्नु पर्ने १० करोड ९६ लाख ९१ हजार १४८ रुपैयाँ, सम्पत्ति कर ७ करोड ७१ लाख २७ हजार १६६ रुपैयाँ, नक्सा पास गर्दा असुल नभएको २ करोड ७७ लाख ७५ हजार ७२५ रुपैयाँ पनि असुल गर्नुपर्ने बेरुजु हो ।
त्यस्तै, इनोभेटिभ कन्सेप्ट प्रालिबाट आकाशे पुल सञ्चालन बापत ४ करोड ८९ लाख ८६ हजार ९९९ रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं भ्यु टावरको ७ करोड ५२ लाख ९४ हजार ६६६ रुपैयाँ, आम्दानी करारहरूबाट ४ करोड ४२ लाख ३० हजार २२० रुपैयाँ, सिटी मार्केटबाट ७ करोड ७ लाख ३६ हजार रुपैयाँ, वीर अस्पताल अगाडिको शौचालयबाट ८६ लाख २६ हजार ६६१ रुपैयाँ पनि असुली गर्न बाँकी छ ।
महानगरको बेरुजु फर्छ्यौट गर्न समितिले विभाग र वडाहरूलाई निर्देशन दिएको छ ।