पूर्वमन्त्री रायमाझी र खानसहित १६ जना पूर्पक्षका लागि थुनामा

पूर्वमन्त्री रायमाझी र खानसहित १६ जना पूर्पक्षका लागि थुनामा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौँले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ।

शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा रिहा भएका छन् । टंक गुरुङलाई १० लाख रुपैयाँ र महर्जनलाई ५लाख धरौटीमा रिहा गरिएको हो ।

पक्राउ परेका १८ जना प्रतिवादी पक्षका कानुन व्यवसायीले गरेको बहस बिहीबार सकिएका कारण शुक्रबार सो प्रकरणमा सरकारी वकिलले जवाफी बहस गरेका थिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपसहित १८ जना पक्राउ परेका थिए । 

संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा गत जेठ १० गते ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । 

यसमध्ये १८ जना पक्राउ परे पनि १२ जना अझै फरार रहेका छन् ।